मानसिकरुपमा पीडित बम दिदीबहिनी निर्दोष

191

काठमाडौं /  निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

मानव अधिकारकर्मीको झुठो प्रतिवेदन र सञ्चारमाध्यमले निर्मला पन्तको हत्यामा आफूहरुको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरु मानसिकरुपमा पीडित भएको बम दिदीबहिनीले जनाउनुभयो ।

दिदी बविता बमले मानव अधिकारकर्मीको गलत प्रतिवेदन तथा सञ्चारमाध्यमको समाचारका कारण आफूहरुको चरित्र हत्या भएको भन्दै विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको गुनासो गर्नुभयो ।

बहिनी रोशनी बमले आफूहरु निर्दोष रहेको बताउँदै साथीको नाताले निर्मला पन्त गृहकार्यका लागि घरमा आएको र दिउँसो २ बजे घरबाट फर्केको जानकारी दिनुभयो ।

अनाहकमा दिदीलाई २० दिन र आफूलाई सात दिन प्रहरी हिरासतमा राखिएको बताउँदै वास्तविक हत्यारा पत्ता लगाएर निर्मलालाई न्याय दिन तथा आफूहरुको पीडा हटाइदिन बहिनी रोशनीले सरकारसँग माग गर्नुभयो ।

सामाजिक अभियन्ता सावित्री सुवेदीले वास्तविक अपराधी पत्ता लगाइ सरकारले कारवाही गर्नुपर्नेमा जोड दिँदै शङ्काको घेरामा रहेका बम दिदीबहिनीको घरमा पुगेर सबै कुरा बुझ्दा हालसम्म दोषी प्रमाणित हुने कुनै सबुत नपाएको जनाउनुभयो।

बम दिदीबहिनीका आमा इन्द्रा बमले आफ्ना छोरी दुवै निर्दोष रहेको दाबी गर्नुभयो । उहाँले मानव अधिकारकर्मीले गलत प्रतिवेदन दिएको तथा सञ्चारकर्मीले पनि अनावश्यक केरकार गरी दुःख दिएको जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here