स्याङ्जा / समाजबाट जातीय छुवाछूतको विभेद हटाउन दलित बस्तीमा सामूहिक भोज आयोजना गरिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ मोहोरियामा आयोजना गरिएको सहभोज कार्यक्रममा पकाउन, पस्कन र खान सबै जातजातिका अगुवा सहभागी भएका छन् ।
खसीको मासु पकाएर चिउरासहित वितरण गरिएको भोजमा सहभागी पुतलीबजार नगरप्रमुख सीमा क्षत्रीले स्थानीय सीता परियारको हातबाट खाना लिइन् । दलित समुदायलाई भान्से लगाइएको भोजका सहभागीले समाज परिवर्तनको सन्देश दिन भोजको आयोजना गरिएको हो ।
नगरप्रमुख क्षत्रीले समाजमा पुरुष र महिला जातका व्यक्तिबाहेक अन्य कुनै जातजाति नहुने जनाउँदै समाज परिवर्तन हामीले नै गर्ने हो भनेर जानकारी दिइन् । उनले भनिन्, ‘हामीले दुई जात महिला र पुरुष मात्र छन् भन्ने बुझ्दाबुझ्दै पनि हामी पुरानै सोचमा छौं । यसरी सामूहिक रूपमा खाँदा मलाई छुट्टै खुसी लागेको छ ।’ समाजको कुरीतिमा पुरुषभन्दा महिला अग्रसर रहने जनाउँदै उनले अहिले यसरी समाजको काममा अगाडि बढ्न महिला नै सक्रिय रहेको जनाएकी छन् ।
सबै जातजाति एकै ठाउँमा उभिएर सामूहिक भोज खाँदा नै समाजले एक खालको परिवर्तनको फड्को मारेको भनाइ प्रमुख क्षत्रीको थियो । उनले दलित जातिले सोचाइमा परिवर्तन गर्नुपर्ने जनाउँदै सरसफाइमा पनि ध्यान दिन जरुरी रहेको जनाएकी थिइन् । दलित बस्तीमा सरसफाइ हुनेबित्तिकै ठूलो फड्को मार्न सकिने भएकाले घर, टोल सरसफाइ गर्न उनले सुझाव दिइन् ।
महिला आफू फेरिन सके मात्र घर, परिवार र समाज फेर्न सक्छन् । यो परिवर्तनको सम्भावना पुरुषमा भन्दा महिलामा मात्र छ ।’ संस्कृति जगेर्नाका लागि स्थानीय सबैजनाले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । वडाध्यक्ष विश्वेश्वरप्रसाद रेग्मीले वडाबाट जातीय छुवाछूत अन्त्यका लागि पहल थाले पनि नगरभित्र यस्ता अभियान निरन्तर अगाडि बढ्ने प्रयासमारहेको जनाए ।मिश्रित जाति रहेको मोहोरिया टोलमा ३० घर मात्रै दलितको बस्ती छ । सहभोजमा ब्राह्मण जातिको भने त्यति उपस्थिति नभएको कान्तिपुरमा खबर छापिएको छ । सहभोजमा गुरुङ, मगर, क्षत्री र परियार, विक र नेपाली थरका मानिसको उपस्थिति रहेको थियो ।