आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : दर्शकबिनाको खेल मात्रै

218

बुटवल / आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता दर्शकबिनाको खेल मात्रै भएको छ । रूपन्देहीमा भइरहेका खेलकुद प्रतियोगिता विभिन्न खेलमा खेल हेर्ने दर्शक प्रायः शून्य देखिएका थिए । रूपन्देहीको बुटवलमा जारी पुरुष फुटबलमा खेलाडी र अफिसियल बाहेकका अरू कोही देखिँदैनन्।

सात हजार क्षमताको प्यारापिटमा करिब सय जनाको उपस्थिति देखिन्छ। उत्तरतर्फको नयाँ प्यारापिटमा कोही दर्शक नै थिएनन्। मैदानमा खेलाडी प्रतिस्पर्धा गरिरहँदा दर्शकको अभाव देखिएको छ।

‘आठौं खेलकुदमा कुनै चार्म नै छैन, रूपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर कुमार भन्छन्– ‘न प्रचार नै गरिएको छ। स्थानीय स्तरमा समन्वय नै नगरी खेल भएकाले दर्शक आएकै छैनन्।’ कमजोर व्यवस्थापन र प्रचारप्रसारको कमी हुँदा प्रतियोगितामा दर्शकको खडेरी छ। गर्मी मौसममा तराईको तातो हावामा खेल खेलिरहँदा मैदानमा खेलाडी र अफिसियलबाहेक कोही देखिएका थिएनन् । मैदानसमेत अव्यवस्थित रहेको थियो ।

प्रतियोगितामा विभागीय टिमसहित प्रदेशस्तरका खेलाडीहरू भए पनि स्थानीयस्तरका खेलाडीहरूसमेत दर्शकको रूपमा मैदानमा देखिँदैनन्। रूपन्देहीमा लन टेनिस प्रतियोगिता सकियो। सो प्रतियोगितामा हेर्ने प्रतियोगीबाहेक कोही थिएनन्।

केही महिनाअघि बुटवलकै रंगशालामा तिलोत्तमा गोल्डकप भएको थियो। तिनै टिम आर्मी र पुलिसको खेल हेर्न टिकट काटेर दर्शक आएका थिए। अहिले पनि तिनै टिम खेलिरहेका छन्। प्रवेश शुल्क लाग्दैन, तर दर्शक शून्य छन्। राष्ट्रिय खेलकुद परिषद्ले स्थानीय स्तरमा समन्वयसमेत नगरी प्रतियोगिता गरिरहेको छ।

खेलकुद विकास समिति रूपन्देहीका अध्यक्ष योग गुरुङले गर्मी मौसमका कारण दर्शक आउन नसकेको बताए। ‘प्रचारप्रसार प्रभावकारी रूपमा नै भएको छ, तर मौसमका कारण दर्शक आउन सकेका छैनन्,’ उनले भने।

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार बुटवलमा भएको पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ। पुलिसले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले हरायो।

पुलिसको जितमा ३६औं मिनेटमा भरत शाहले खाता खोले। अर्को गोल ६०औं मिनेटमा रवि पासवानले गरेका थिए। लगत्तै सुदूरपश्चिमका गोलरक्षक टेकेन्द्र थापा रातो कार्ड खाँदै बाहिरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here