नारामा प्रेस स्वतन्त्रता, कार्यशैली प्रेस विरोधी

273

-राज्यलक्ष्मी शाक्य
राज्य सत्ताको निरंकुशताले कुण्ठित बनेको प्रेस जगतले हालै मात्र प्रेस स्वतन्त्रता दिवस मनाएको छ । मे १ मा प्रेस स्वतन्त्रता दिवसमा ‘शक्तिको निगरानी र नियन्त्रण : सञ्चार, न्याय र विधिको शासन’ नारा राखेर यस वर्ष विश्वभर प्रेस स्वन्तत्रता दिवस मनाइएको छ । विश्व प्रेस स्वतन्त्रताले पत्रकारितामा नयाँ आयाम जोड्ने प्रयास गरिएको छ ।

राज्यको चौथो अङ्गको रूपमा स्वीकारिएको प्रेसले स्वतन्त्र रुपमा सत्य र तथ्य घट्नाहरूमा अधारित रहेर निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्न अग्रसर रहनुपर्दछ । पछिल्लो समय नेपालमा पत्रकारिता पेसा बदनाम बन्दै गइरहेको अवस्था पनि छ । पत्रकारिताको नाममा राजनीतिक स्वार्थ लिएर पत्रकारिता गर्नेहरू धेरै छन् । देशमा राजनीतिक दुष्प्रभाव बढ्नाले पत्रकारिता क्षेत्र धमिलिदैँ गएको छ । राजनीतिक संलग्नता देखाउनाले व्यवसायिक पत्रकारिता ओझेलमा पर्दै गएको छ । सञ्चार माध्यमहरुले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण नगरिदिदा प्रजातन्त्र अनि सुचनाको अधिकारमा नै धक्का पुग्ने समेत गरेको पाइएको छ । राजनीतिक दलहरुमा आबद्ध रहेर गरिने पत्रकारिता र राज्यबाट सम्मानित तथा पुरस्कृत हुने पनि त्यही प्रवृतिको पत्रकारिता देखिएको छ । यो प्रवृति नै गलत हो ।

राज्यको चौथो अगंको रूपमा रहेको प्रेस जगत समाजको ऐना हो, जसलाई आवाजविहिनहरूको आवाज पनि भनिन्छ । सञ्चारमाध्यम आम मानिसलाई सुसूचित गर्ने माध्यम भएकाले जनताको आवाज बलियो बनाउन र लोकतन्त्र सुदृढ गर्न प्रेस स्वतन्त्रता अपरिहार्य हुन्छ । आवाजविहिनहरूको आवाजलाई सही सम्प्रेषण गरेर समाजमा हुने गलत गतिविधि रोक्न समाजमा प्रेस र प्रेसमा कार्यरत पत्रकारहरू यस क्षेत्रमा स्वतन्त्र भएर समाजमा नागरिक समक्ष सही सूचना प्रवाह गर्न सदैव अग्रसर हुनुपर्नेमा अहिले प्रेस जगतकै स्वतन्त्रता हनन भइरहेको देखिन्छ । समाचार सम्प्रेषण गरेकै भरमा पक्राउ गर्ने जस्ता क्रियाकलाप भइरहेका छन् । सरकारले प्रेसमाथि नियन्त्रण गर्न खोज्ने प्रवृत्तिले अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमण हुन थालेको बुझ्न सकिन्छ ।

अहिले जनताको अवाज कलमको माध्यमबाट बोल्ने पत्रकारहरूले समाचार संकलनका क्रममा भोग्नु परेका समस्या र नियन्त्रण गर्न खोज्ने सरकारको प्रवृतिले नै सञ्चारमाध्यममा स्वतन्त्रताको हनन् भएको पुष्टि छ । पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । एक अध्ययनका अनुसार सन् २०१८ मा ८९ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । त्यसबाट २ सय २३ जना पत्रकार प्रभावित बनेको अध्ययनमा उल्लेख छ । गत वर्ष २५ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएका थिए । दुईतिहाइ बहुमतको वर्तमान सरकार निर्माण भएदेखि नेपालमा प्रेस स्वतन्त्रताको अवस्था झन झन खस्किदै गएको पाइन्छ । प्रेसमाथि नियमन गर्न खोजेको भन्दै सरकारले नियन्त्रण गर्न खोजिरहेको छ ।

नेपालको संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न नसकेको र कानुनबाट नियन्त्रण गर्ने प्रयास भइरहेको छ । नेपालको संविधान र कानुनमा प्रेस स्वतन्त्रताका लागि धेरै प्रावधान राखिए पनि व्यवहारमा लागू हुन सकिरहेको छैन । संविधानका अक्षरहरुमा जति महत्वका साथ प्रेस स्वतन्त्रताले स्थान पाए पनि व्यवहारमा नेपाली सञ्चार क्षेत्रले पूर्ण प्रेस स्वतन्त्रताको महसुस गर्न पाइरहेको छैन । सरकारले प्रेसका अधिकारहरु कुण्ठित गर्ने र दायरालाई साँघुरो बनाउने किसिमबाट ऐन कानुनहरुको निर्माण गर्न थालेको छ । यो प्रेस जगतका लागि अत्यन्त दुःखद् र विडम्बनापूर्ण अवस्था हो ।

हालै मात्र यही विषयलाई लिएर प्रेस सम्बन्धी कानुनहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी नहोस भन्नका लागि नेपाल पत्रकार महासंघले पछिल्लो समय सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको भन्दै विभिन्न दबाब अभियानहरु सञ्चालन समेत ग¥यो । महासंघको अभियानले सरकार र सरोकारवाला पक्ष सबैलाई ध्यानाकर्षण गरायो । विभिन्न राजनीतिक दलले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न बारम्बार मौखिक प्रतिबद्धता जनाए पनि उनीहरूको प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापका कारण पत्रकार स्वतन्त्र हुन सकिरहेको अवस्था छैन ।

नेपाल पत्रकार महासङ्घले २६औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा समेत ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता ¥याली’ को आयोजना गरेको थियो । ¥यालीमा सहभागीहरुले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हामी सबैको ऐक्यबद्धता’, ‘प्रेस स्तन्त्रता कायम गर’ भन्ने जस्ता प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि आवाज उठाइएका थिए । प्रेस जगतबाट उठिरहेको आवाजलाई सरकारले पटक्कै सुनिरहेको छैन, बरु उल्टो अर्थ लाग्ने किसिमका कामहरु सरकारबाट भइरहेको पाइन्छ । सरकारले रचनात्मक सुझाव होइन स्तूतीलाई प्रश्रय दिइरहेको छ । यो प्रेस जगतका लागि सबैभन्दा डरलाग्दो प्रहार हो ।- [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here