दाङ / मलामी गएका व्यक्तिको राप्ती नदीमा डुबेर मृत्यु भएको छ । मृतकको दाह संस्कारपछि नुहाएर घर फर्किने मान्यता अनुरूप नुहाउन भनि राप्ती नदीमा पसेका राजपुर गाउँपालिका वडा नं. ५ राजपुर निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घर्ती आफ्नी सानी आमा (आमाको बहिनी) लमही नगरपालिका वडा नं. ९ अमेलिया बजार निवासी ७२ वर्षीया जैसरा घर्तीको मलामी गएका थिए । दाह संस्कारको काम सकिएपछि कर्णबहादुर घर्ती शुद्ध शान्ति र चोखिन भन्दै अरु मलामीसँगै नुहाउन भनि राप्ती नदीमा पसेको थिए । अन्य मलामीहरूले ‘त्यता गहिरो छ’ भन्दै नजान खबरदारी गर्दै गर्दा घर्ती गहिरो भागमा पुगेपछि डुब्न पुगेका थिए।
घर्तीको शव सोमवाबार दिउँसो ३ बजेपछि डुबेको ठाउँदेखि ५० मिटर टाढा फेला परेको प्रहरीले जानकारी दिएको छ। घर्ती परिवार र आफन्तजनहरू विभिन्न कारणले एकै दिन दुई जनाको मृत्युपछि शोकमा डुबेको छ। जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले राप्ती नदीमा डुबेर मृत्यु भएका घर्तीको शव पोष्ट मार्टमको लागि ट्याक्टरमा राखेर लमहीस्थित अस्पतालमा लैजाने तयारी भइरहेको जानकारी दिए।

















