किन स्थगित भयो नेकपा सचिवालय बैठक ?

226

काठमाडौं /  आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। पार्टी एकताले अझै पूर्णता नपाइसकेको सन्दर्भमा सरकारको नेतृत्व दुबै अध्यक्षले आलोपालो गर्ने सहमति भएको भनेर पुष्पकमल दाहालले गतसाता खुलासा गरेपछि उत्पन्न बिबादका सम्बन्धमा छलफल गर्न आजका लागि सचिबालय बैठक डाकिएको थियो।

दाहालको यस्तो भनाईपछि नेकपाभित्र सहमतिको पालना गर्नुपर्छ भन्ने एक समूह तयार भएको छ भने अर्को समूह बहुमतको सरकारलाई पूरै कार्यकाल चल्न दिनुपर्दछ भनेर प्रधानमन्त्री केपी ओलीका पक्षमा देखिएको छ। प्रधानमन्त्री ओलीले यसलाई पार्टी एकता खल्बल्याउने प्रयास भनी टिप्पणी गरेका छन्।

शनिबारका लागि डाकिएको सचिबालय बैठक प्रधानमन्त्री भारत भ्रमणमा गएका कारण आजका लागि सारिएको थियो। तर आज पनि बैठकका लागि पर्याप्त गृहकार्य नपुगको भन्दै मंगलबारका लागि बैठक सारिएको नेकपा स्रोतले जनाएको छ।

अध्यक्षद्वय ओली र प्रचण्डले थप गृहकार्य गर्ने बताइएको छ। यस विषयमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच वार्तासमेत भएको थियो। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छुट्टै छलफल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here