काठमाण्डौ : प्रहरीले रेडियो नेपालको कार्यलय परिसर सिंहदरबारबाट ९ जना पत्रकारलाई पक्राउ गरेको छ ।
रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुनर्बहालीसंगै अन्य माग उठाएर रेडियो नेपालको कार्यलयमा तालाबन्दी गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार रेडियो नेपालको कार्यालय अघि पुगेका ठूलो संख्यामा आएका पत्रकारलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नेपाल पत्रकार महाहसंघका सचिव रामप्रसाद दाहाल, महासंघका केन्द्रीय सदस्यहरु जन्मद्धीप जैशी, मीन बम, यम विरही र नेपाल प्रेस युनियनका महासचिव अजय शिवाकोटी लगायत छन् । प्रकाउ गरिएका पत्रकारहरुलाई प्रहरीले महेन्द्र पुलिस क्लवमा राखेको छ ।
नेपाल पत्रकार महासंघले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरिएका तीन जना पत्रकारको पुर्नवहालीसंगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनु पर्ने माग राख्दै रेडियो नेपालको परिसरमा धर्ना तथा प्रदर्शन गर्दै आएको छ ।


















