-गोपाल भण्डारी
कपिलवस्तु / सार्वजनिक मुद्दामा वडा प्रहरी कार्यालय तौलिहवामा थुनामा रहेका तीन व्यक्तिले आफुहरु विप्लव नेतृत्वको नेकपामा नरहेको जानकारी दिएका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नं ओर्लवाका ६४ वर्षीय विष्णु तिवारी, गैडहवा गाउँपालिका वडा नं ६ मोजरहवाका ४५ वर्षीय रुदल यादव र लुम्विनी सांस्कृतिक नगरपालिका वडा नं ८ भगतपुरवाका ५३ वर्षीय विक्रम यादवले आफुहरु कुनै पनि राजनैतिक पार्टीमा नरहेको जानकारी दिएका हुन् ।
प्रहरीले आइतवार (५ असोज) सार्वजनिक मुद्दामा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय तौलिहवा लगेको बेला जिल्ला प्रशासन कार्यालय परिसरमा स्वाभिमान सम्वाददातासँग कुरा गर्दै उनीहरुले आफुहरु स्वतन्त्रपूर्वक एक साधारण नागरिकको रुपमा जीवनयापन गर्न चाहेको जानकारी दिए । उनीहरुले आफुहरु विप्लव नेतृत्वको नेकपामा संलग्न नरहेको दाबी गरे ।
गत साउन ३१ गते रुदल यादव र विक्रम यादवलाई प्रहरीले उनीहरुको घरबाट राती ११ बजे सुतेको अवस्थामा पक्राउ गरेको थियो । विष्णु तिवारीलाई भदौ १ गते राती उनकै घरबाट राती पक्राउ गरी राज्यद्रोहको मुद्धा लगाई २५ दिन रुपन्देहीमा थुनामा राखेको थियो ।
२५औँ दिन जिल्ला अदालत रुपन्देहीबाट तारिखमा छुटेका उनीहरु तीन जनालाई प्रहरीले पुनः पक्राउ गरी एकापसमा झगडा गरी कुटपिट गरेको झुटो आरोप लगाई अदालत परिसरबाटै पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई रुपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदी पुल नजिक एकापसमा कुटपिट गरेको आरोपमा पक्राउ गरी उनीहरु उपर सार्वजनिक मुद्दा चलाएको छ । तर आफुहरु कुनै झैझगडा तथा त्यस्तो कुनै गैरकानुनी क्रियाकलापमा संलग्न नरहेको उनीहरुले जानकारी दिए ।
पक्राउ परेका ६४ वर्षीय विष्णु तिवारी बिरामी रहेका छन् । यसरी थुनामै राखिरहँदा उनको स्वास्थ्य अवस्था थप बिग्रन सक्ने भन्दै परिवारजन चिन्तित बनेका छन् ।


















