फूलखेतीले अन्य उत्पादनमा पनि आत्मनिर्भर बन्ने सन्देश दिएको छ

163

–निशा तामङ

भर्खरैमात्र नेपालीहरूको महान् चाड दशैं सकिएको छ । दशैंपछिको सबैभन्दा ठूलो पर्व तिहार अबको केही दिनमै भित्रिँदै छ । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि सुरु हुने गर्दछ । यो पर्व काग तिहारको नामले शुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथि अर्थात् भाइटीकासम्म मनाउने गरिन्छ । पाँच दिनसम्म मनाइने तिहारलाई यम पञ्चक पनि भनिन्छ ।

नेपालमा बडादशैं जस्तै तिहारको पनि त्यत्तिकै महत्व रहेको छ । कतिपयले त दशैंलाई भन्दा तिहारलाई बढी महत्व दिने गरेको पनि पाइन्छ । नेपालीहरूको दोस्रो प्रमुख चाड तिहारमा धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यले पनि यो पर्व धुमधामका साथ चारैतिर झिलिमिलि र फूलले पूजास्थान र घर सजाएर मनाइने गरिन्छ । दक्षिण एशियाका धेरै देशमा विशेष गरी भारत, नेपाल, भूटान र बर्मामा यो पर्व विभिन्न प्रकारले मनाउने गरेको पाइन्छ ।

यसरी पाँच दिनसम्म मनाइने हुनाले तिहारको विशेष महत्व रहेको बुझ्न सकिन्छ । फूलैफूलको पर्व तिहारको समयमा किसिम–किसिमका फूलले घर सजाउने गरिन्छ । विशेष गरी बढी मात्रामा सयपत्री फूलको प्रयोग भएको पाइन्छ । यो पर्वकै लागि भनेर बढी खपत हुने फूल बजारलाई लक्षित गर्दै फूलको खेती गरेर  व्यवसायमा लागेका कृषकहरू आत्मनिर्भर बन्न थालेका छन् । पछिल्लो समय भारतबाट ठूलो परिमाणमा अवैध फूल आयात हुँदा फूल व्यवसायीहरू धेरै नै मर्कामा परेको गुनासो पनि यो वर्ष सुन्न पाइएको छ । यसलाई निरुत्साहन गर्ने र मुलुककै फूललाई जतिसक्दो उपयोगमा ल्याउन आवश्यक छ । कमसेकम फूलमा हामी आत्मनिर्भर भइरहेका छौं भन्ने यो सन्देश पनि हो । यो सन्देशले फूलमा जस्तै अन्य दैनिक उपभोग्य वस्तुहरूमा पनि आत्मनिर्भर बन्न प्रेरणा जागृत गराउने आशा गर्न सकिन्छ ।

यस वर्षको तिहारका लागि भनेर भारतबाट ५ लाख थानभन्दा बढी माला आयात भएको सार्वजनिक भएको छ । आत्मनिर्भरताका लागि कृषकहरूले वर्षेनि फूलको खेती गर्ने क्रम बढ्दै गएको पाइन्छ । तर नेपालका कृषकहरूबाट उत्पादन भएको फूलको व्यापारलाई कमजोर बनाउने गरी फूलको आयात खुला गरिनुले फूलको खेती हतोत्साहित हुने अवस्था आउन सक्दछ । यो सवालमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।

तिहार पर्वका लागि नै भनेर विभिन्न किसिमका पटाका पनि नेपाल भित्रिने गरेको पाइन्छ । सरकारले पटाका आयात र विक्रीलाई निषेध गरेको छ । तर, पनि पटाकाको अवैध ओसारपसार र विक्रीवितरण भएको स्पष्टै छ । तिहारको समयमा दिनहुँ अवैध रूपमा विभिन्न पटाका बरामद भइरहेका खबरले नै यो कुरालाई पुष्टि गरिरहेको छ । यसरी भारतबाट फूल र पटाका अवैध रूपमा भित्रिनु र आफ्नै देशको कृषकको उत्पादनको उचित प्रयोग गर्नेतर्फ सरकार उदासीन देखिनु दुःखद पक्ष हो ।

तिहारको आफ्नै व्यावहारिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ । तिहारमा खासगरी लक्ष्मीपूजा विशेष महत्वका साथ गरिन्छ । लक्ष्मीको स्वागतार्थ घरका झ्याल ढोकामा सयपत्री फूलको माला, झिलिमिली कागज र बत्ती बालेर घरलाई सफा गरी साँझ दीप प्रज्ज्वलन गरेर मनाउने गरिन्छ । परम्परागत दियो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय तिहारमा आधुनिक विद्युतीय बत्तीहरूको प्रयोग र माग बढ्दै गएको पाइन्छ ।

झिलिमिलि चाडको पर्व भन्दै तिहारदेखि छठ पूजाको समयमा बत्तीले पूरै घर नै चम्काएर बत्ती बालेको देख्न सकिन्छ । गत वर्ष नेपाल विद्युत् प्राधिकरणले समेत पूरै प्राधिकरणको भवन ढाकिने गरी बत्ती बालेर तिहार पर्व मनाएको थियो । बत्तीहरूबाट नेपालको झण्डा समेत भवन अगाडि निर्माण गरेको थियो ।

कुनै समय लोडशेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपाली जनता अहिले तिहारको झिलिमिलि बत्तीको अभावले हुँदैन कि भनेर चिन्तित हुनुपर्ने अवस्था छैन । यो पनि समयले गरेको विकास मान्न सकिन्छ । तिहार सबैलाई शुभ होस्, सबैका आँगनमा खुशीयाली छाओस्, बत्तीको झिलिमिलिले सबैका मन झिलिमिलि होऊन्, शुभकामना छ ! -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here