डाँकासँग कस्तो कूटनीति सरकार ?

169

–  निमकान्त पाण्डे

भारतबाट सार्वजनिक गरिएको भौगोलिक राजनीतिक नक्साबारे नेपालमा राष्ट्रियताको नयाँ लहर सृजना भएको छ । प्रधानमन्त्री केपी ओलीको आह्वानमा सर्वदलीय बैठक समेत बस्यो । बैठकले सर्वसम्मतिबाट लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतीय नक्सामा पारेर भारतबाट सार्वजनिक गरिएको विषयमा विरोध जनाइयो । यो नेपालका राजनीतिक दलहरूको राष्ट्रियताप्रतिको प्रशंसनीय कदमका रूपमा लिनुपर्दछ । बैठकले सीमा अतिक्रमणकारी भारतसँग कूटनीतिक र राजनीतिक तहबाट संवादको थालनी गर्ने भनी प्रधानमन्त्री ओलीलाई नै वार्ता गर्ने जिम्मेवारी सुम्पिएको समाचार बाहिरियो । परन्तु, यो समाचारले धेरै प्रश्नहरू जन्माएको छ ।

कूटनीतिक र राजनीतिक पहल कस्तो अवस्थामा गर्ने भन्नेबारे सर्वदलीय बैठकले समेत सोच्न सकेको पाइएन । भारतले ६ दशकभन्दा पहिलेदेखि नै नेपाली भूमि कालापानीमा आफ्नो सैन्य क्याम्प राख्दै आएको हो । यो क्षेत्रबाट भारतीय सेना हटाउनु पर्छ भन्दै नेपालमा पटकपटक आन्दोलनहरू भएका छन् । पार्टी विभाजनका दुर्घटनादेखि सीमा क्षेत्रमा नेपाली युवाहरूको हत्यासम्मका घटनाहरू भएका छन् । तर, नेपालका राजनीतिक दलहरूलाई आफ्नो पक्षमा पार्न भारतीय शासक वर्गले विभिन्न खालका प्रलोभनहरूमा फसाउँदै आएका छन् । त्यसैले नेपालका शासक वर्ग यो विषयमा भारतीय शासक वर्गसँग संवाद गर्ने पक्षमा अहिलेसम्म देखिएको पाइएन ।

प्रधानमन्त्री पदमा पहिलोपटक निर्वाचित भएपछि नरेन्द्र मोदीले नेपाल भ्रमणको लागि लामो समय लगाएनन्, उनले २०७१ सालमा नेपालको राजकीय भ्रमण गरे । भ्रमणका क्रममा उनले नेपालको संविधानसभामा नेपाली नेताहरूलाई मख्ख पारेर सम्बोधन गरे । काठमाडौंका सडकमा गाडीबाट ओर्लिएर जनसाधारणसँग हात मिलाएर मोदीले नेपालीको मन जित्ने प्रयास पनि गरे । त्यो बेला मोदीलाई नेपाली जनताले निकै श्रद्धा गरेका हुन् । लामो समयदेखिको तिक्ततापूर्ण नेपाल–भारत सम्बन्ध मोदीकै कारण सुमधुर बन्ने विश्वास नेपाली जनतामा पलायो ।

तर, यो विश्वासलाई मोदीले लामो समयसम्म टिक्न दिएनन् । एक वर्षपछि नै २०७२ सालको प्रारम्भमा वैशाख १२ गते भूकम्पले थला परेको नेपालमाथि मोदीको नाकाबन्दी शुरु भयो । यो नाकाबन्दीले नेपालप्रति मोदीको नकारात्मक सोचको पर्दाफास ग¥यो । नाकाबन्दीका विरुद्ध तत्कालीन प्रधानमन्त्री केपी ओलीले दह्रो अडान लिएका थिए । नेपाली जनताले पनि नाकाबन्दीका विरुद्ध कष्ट सहेरै सरकारलाई साथ दिए । त्यो बेला पनि सडकमा भारतविरुद्धको नाराबाजी चर्को रूपमा लागेको थियो । तर, नेपाल सरकारले सडकमा नाराबाजी गर्ने नेपाली जनतामाथि दमन गरेको थिएन ।

मोदी दोस्रोपटक भारतको प्रधानमन्त्री पदमा निर्वाचित भएयताको समयसम्ममा नेपाली नागरिकमा उनको नकारात्मक छविको ग्राफ यति बढेको छ कि यसअघि कुनै पनि भारतीय प्रधानमन्त्रीको यस्तो अवस्था देखिएको थिएन । नेपालप्रति निकै आत्मीय भाव प्रकट गर्ने तर नेपाली जनताको हत्यारा बन्न र नेपाली भूमिमाथि डकैती शैलीमा अतिक्रमण गर्न नरेन्द्र मोदीले  आफूलाई अग्रपंक्तिमा उभ्याए । ६ दशकदेखि सैन्य क्याम्प खडा गरेर उपभोग गर्न पाइरहेको नेपाली भूमिलाई आफ्नो देशको नक्सामा पारेर नांगोपनको प्रदर्शन गर्नुपर्ने मूर्खता मोदीले किन गरे ? यो सरासर भारत सरकारको डकैती हो भन्ने कुरा स्पष्ट छ । यस्तो डकैतीका विरुद्ध नेपाल सरकार कूटनीतिक पहलद्वारा समाधान गर्ने कुरा गरिरहेको छ । कूटनीतिक पहल गर्नु स्वाभाविक हो । तर, कूटनीतिक पहलको अर्थ आफ्नो देशका जनतामाथिको दमन अवश्य होइन । भारतीय हस्तक्षेपका विरुद्ध सडकमा उत्रिएका नेपाली जनतामाथि नेपाल सरकारले जुन दमनको व्यवहार देखायो, यो निन्दनीय छ । आफ्नो घरभित्र डकैती गर्न आएको डाँकाको विरुद्ध परिवारका सदस्यहरूले विरोध गर्न खोज्दा परिवारका सदस्यहरूलाई नै कारबाही गर्ने प्रवृत्ति कूटनीतिक होइन । यस्तो प्रवृत्तिले अतिक्रमणकारी डाँकाको पक्षमा चाकडी प्रस्तुत गर्दछ । सीमा अतिक्रमणका विरुद्ध कूटनीतिक संवाद हो वा सीमा अतिक्रमणको पक्षमा चाकडी हो ? नेपाल सरकारले नेपाली जनतामाथि गरिरहेको दमन र धरपकडले कूटनीतिक संवाद होइन, सीमा अतिक्रमणकारी डाँकाको चाकडी गरेको पुष्टि गर्दछ ।

नेपाल–भारत सम्बन्ध सुमधुर बनोस्, सबै नेपालीको चाहना छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा बोलेको जस्तै व्यवहार गरून्, नेपालीको चाहना हो । भारतका लागि नेपालले के दिएन ? प्रमाण स्पष्टै छ । ६ दशकदेखि नेपाली भूमि कालापानीमा सैन्य क्याम्प राख्न दिएको छ । नेपालका नेताहरूले भारतीय स्वतन्त्रता संग्राममा महात्मा गान्धीको साथ ‘जेल भरो’ आन्दोलनको सहयात्री बनेर अंग्रेजलाई लखेट्न सहयोग पु¥याएका हुन् । अंग्रेजले हडपेको नेपाली भूमि समेत नेपालले फिर्ता पाउने विश्वास गरेर बसेका नेपालीहरूलाई स्वतन्त्रतापछिका भारतीय शासकहरूले निराश तुल्याउने काम गर्दै आए । नेपालको विकासका पूर्वाधारका रूपमा रहेका सबै जलसम्पदाहरू भारतले नेपाली शासकहरूबाट आफ्नो कब्जामा पारिसकेको छ । नेपालको सिमानामा ७१ ठाउँमा अतिक्रमणका ज्यादती भएका छन् । यस्ता ज्यादतीहरूलाई नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणले सच्याउने आशा जगाएको थियो । तर, दुर्भाग्य नै भन्नुपर्दछ, मोदी नेपाली जनताका लागि मानवका रूपमा प्रस्तुत हुन सकेनन् ।

नेपाल र भारतबीच धर्म, संस्कार र संस्कृतिलगायतका धेरै कुरामा समानता छ । दुई देशको सिमाना खुला छ । वैवाहिक सम्बन्धले पनि दुई देशका नागरिकबीच विशेष सम्बन्ध निर्माण गरेको छ । नेपाल र भारतका जनताबीचको सम्बन्धलाई नरेन्द्र मोदी लगायतका भारतीय शासकहरूले चाहेर पनि दूरी बढाउन सक्ने अवस्था छैन ।

परन्तु, पछिल्लो पटक भारतको सीमा अतिक्रमणले भारतका विरुद्ध नेपालमा ठूलो आन्दोलनको वातावरण बनिरहेको छ । यो आन्दोलनले राष्ट्रिय मूलधारमा समेटिन नेपाली जनतालाई ठूलो बल पु¥याउने पनि निश्चित छ । सीमा क्षेत्रका भारतीय नागरिकहरू समेत नेपालमाथि अन्याय भएको निष्कर्षमा पुगिरहेका छन् । भारतीय सेनामा कार्यरत ‘गोर्खा फौज’ को बन्दूक नेपालका विरुद्ध निशाना पक्कै हुनेछैन । गोर्खाहरूले सुरक्षित बनाएको भारत भनेर स्वयं नरेन्द्र मोदीले नेपालको संसद्मा मन्तव्य दिएका थिए । गोर्खाहरूले नेपालमाथि भइरहेको अतिक्रमण सहेर बस्ने छैनन् । यसले पनि भारतलाई ठूलै धक्का पुग्ने निश्चित छ ।

नेपालमा अहिले भारतविरुद्ध आवाज चर्किरहेको छ । साथै, भारतकै बुद्धिजीवी तप्का तथा प्रेस जगत्ले पनि नेपालविरुद्ध मोदीको हर्कतको विरोध गरिरहेका छन् । भारतको सीमा सुरक्षाका लागि आफ्ना जवान पठाउने नेपाललाई भारतले दुःख दिन नहुने र यस्ता कदम तुरुन्त बन्द गर्नुपर्ने भारतीय बुद्धिजीवीहरूकै भनाइ आइरहेको छ । प्रसिद्ध अभिनेता एवम् लेखक अनुपम खेरले स्पष्ट शब्दमा नेपालमाथिको अतिक्रमणलाई गलत भनेर लेखेका छन् । भारतका बुद्धिजीवीहरूले भारतीय व्यवहारको विरोध गरिरहेका छन् । भारतीय थिंक ट्यांक मानिने प्राध्यापक डा. एसडी मुनिले समेत सीमा अतिक्रमणको निन्दा गरेका छन् । त्यसैले नरेन्द्र मोदीले नेपाली सीमा अतिक्रमणको व्यवहारबाट आफ्नो लोकप्रियता गुमाइरहेका छन् भने समग्र भारतलाई नै संकटमा फसाउने काम समेत गरिरहेका छन् । आफ्नै कारणले संकटमा फसिरहेका डाँकासँग नेपाल सरकारले कूटनीतिक र राजनीतिक संवादका कुरा गरिरहेको छ, आश्चर्यको विषय हो, जस्तासँग त्यस्तै व्यवहार नै कूटनीतिक चातुर्यताको सफल प्रदर्शनी हुन सक्छ भन्ने कुरा बुझ्नु जरुरी छ । सबैलाई चेतना भया ! – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here