प्रधानमन्त्री ओली आक्रामक बन्दै

176

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली झन् आक्रामक बन्दै गएका छन् । एमाले ब्युँतिएपछि उनले पार्टीभित्र आफ्ना विरोधीहरुलाई घुमाउरो तरिकाले कारबाही गरेका छन् । यतिसम्मकी माधव नेपाल पक्षधरहरुले एमाले छाडेपनि फरक नपर्ने संकेत गर्दै अभिव्यक्ति दिइरहेका छन् । शनिबार बोल्दै केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भए कारबाहीको चेतावनी समेत दिएका छन् ।

गत हप्ता मात्र ओलीले आफू र महासचिव इश्वर पोखरेलबाहेक सबै पदाधिकारीको पद खारेज गरे । ७० वर्ष उमेरहद विधानबाट हटाए, स्थायी कमिटी सदस्यहरुलाई घटुवा गरी केन्द्रीय सदस्यमा सिमित पारे । यो सबै नेपाल समूहप्रति लक्षित ओलीको रणनीति थियो ।

ओली नेपाल समूहविरुद्ध किन यति आक्रामक बन्दैछन् ? एमाले विभाजन नै भइहालेमा पनि फरक नपर्ने शैलीमा किन प्रस्तुत भइरहेका छन् ?

प्रतिनिधि सभामा ओली अध्यक्ष रहेको नेकपा एमालेसँग १२० सिट छ । जुन बहुमतका लागि १८ सिट अपुग हो । ओलीले बहुमतका लागि राष्ट्रिय जनता पार्टीलाई विकल्पका रुपमा राखेका छन् । त्यसका लागि राजपाको महन्थ ठाकुर पक्षसँग भित्री रुपमा छलफल समेत बढाएका छन् ।

नेकपाभित्रको माधव नेपाल समूह बाहिरिएपनि ३० सिट मात्र घट्ने ओली समूहको बुझाई छ । प्रत्यक्ष निर्वाचितको सांसद पद खारेज भएपनि समानुपातिकतर्फ नाम परिवर्तन हुनसक्छ । त्यसपछि ओलीले अन्य दलसँग समिकरण बनाएर जानसक्ने सम्भावना बलियो छ । उनी पाँच वर्ष प्रधानमन्त्रीको कार्यकाल पूरा गर्नेमा ढुक्क छन् । तीन वर्ष पूरा भइसकेको छ । बाँकी समय २२ महिना हो । एक वर्षपछि चुनावको माहोल बनिसक्छ ।

ओलीसँग अर्को अस्त्र भनेको राजपालाई प्रधानमन्त्री पद दिएर समिकरण बनाउने पनि छ । राजपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर बाहिर बसेर या सरकारमा सहभागी भएर समर्थन गर्ने अस्त्र पनि ओलीसँग छ । यसकारण पनि उनी ढुक्क छन् ।

विरोधीहरुलाई एकपछि अर्को प्रहार गर्दै ओलीले सत्ता सुरक्षित राख्दै आएका छन् । यतिसम्मकी उनीविरुद्ध अझै अविश्वासको प्रस्ताव दर्ता गर्ने साहस कसैले गर्न सकेको छैन । माओवादी केन्द्रले पनि ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिन सकेको छैन । यसबाट ओली अझै मजबुत रहेको बुझ्न सकिन्छ ।

राज्यका महतवपूर्ण निकायमा गएको तीन वर्ष ओलीले निकटस्थहरुलाई व्यवस्थापन गरिसकेका छन् । सबैजसो निकायमा उनको एकछत्र प्रभाव छ । ओली अर्ली इलेक्शनका लागि पनि तयार देखिएका छन् ।

अर्ली इलेक्शन भएमा दुई तिहाई ल्याएर सिंहदरबार छिर्ने ओलीको दाबी सार्वजनिक रुपमा आइसकेको छ । विगतमा पनि उनले सत्ताबाट हट्दा बहुमत ल्याएर सिंहदरबार छिर्छु भनेका थिए । जुन साकार पारे । अब ओलीले सत्ताबाहिर बस्नुपरेको अवस्थामा पनि राजपलाई प्रधानमन्त्री दिएर चुनावमा जाने रणनीति बनाएको बुझिएको छ । यसकारण पनि ओली ढुक्क देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here