निषेधाज्ञा जारी गरेपछि खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र सञ्चालनमा

93

काठमाडौं । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजधानीका चार ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो। बजारमा खाद्यवस्तु तथा तरकारीको सहज आपूर्तिका लागि भन्सार क्लियरिङदेखि सहज ढुवानीका लागि सहजीकरण गरेको जनाएको छ। कालोबजारी र अभाव नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाएको बताइएको छ।

निषेधाज्ञाको समयमा खाद्य आपूर्तिमा समस्या हुन सक्ने भन्दै थापाथली, नख्खु, रामशाहापथ र सूर्यविनायकमा खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको कम्पनीका प्रवक्ता शर्मिला न्यौपानेले बताइन्। न्यौपानेका अनुसार उपभोक्ताको सहजताका लागि रामशाहपथ, सूर्यविनायकबाट बिहान ७ देखि ११ बजेसम्म, नख्खुमा विहान ७ बजेदेखि ५ बजेसम्म, थापाथलीबाट विहान ७ देखि बेलुकी ७ बजेसम्म बिक्रीको व्यवस्था मिलाएको छ।

बिक्री केन्द्रमा बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घिउ र स्यानिटाइजर बिक्री सुरु गरेको छ। कम्पनीको थापाथलीमा रहेको बिक्री केन्द्रबाट तीन चरणमा खाद्यान्न बिक्रीको व्यवस्था मिलाएको जनाएको छ। कम्पनीले उपत्यकाभित्र अनलाइमार्फत खाद्यान्न अर्डर गर्न सकिने व्यवस्था मिलाएको छ। पर्याप्त खाद्यान्न स्टक रहेकाले सामान किनेर नथुपार्न कम्पनीले आग्रह गरेको छ। उपभोक्ताले अनावश्यक खाद्य वस्तु खरिद गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने भन्दै सञ्चित नगर्न अनुरोध गरेको छ।

खुद्रा व्यापार संघले पनि पर्याप्त खाद्यान्न स्टक रहेको जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनसँग पनि पर्याप्त चामल छ। खाद्य कम्पनीसँग दुई लाख ९० हजार क्विन्टल चामल मौज्दात रहेको जनाएको छ। स्थानीय प्रशासनले विहान र बेलुका पसल खोल्न अनुरोध गरेको छ। निषेधाज्ञाका क्रममा खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ लगायत प्रवाह गर्ने पसल सञ्चालन गर्न पाउने निर्णय गरेको छ। खाद्य सामग्रीका पसलरव्यवसाय र डिपार्टमेन्ट स्टोरका ग्रोसरी बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ सम्म खोल्न पाइने व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here