सरकारद्वारा चार कम्पनीलाई रेमडिसिभिर आयातका लागि अनुमति

110

काठमाडौं/सरकारले कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडिसिभिर औषधिको थप ५५ हजार भाइल आयातका लागि अनुमति दिएको छ।  कोरोना संक्रमरको दर तीव्र गतिमा बढ्दै गएपछि औषधि व्यवस्था विभागले थप ५५ हजार भाइल रेमडिसिभिर आयातका लागि औषधि आयात गर्ने विभिन्न कम्पनीहरुलाई अनुमति दिएको हो। एसियायी बंगलादेशलाई १० हजार, बेकोन फर्मास्युटिकल्सलाई १०, हेल्थकेयर फर्मास्युटिकल्सलाई १० हजार र इन्सेक्ट्रालाई २५ गरी कुल ५५ हजार भाइल ल्याउन अनुमति दिइएको विभागका सूचना अधिकारी एवम् वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए।

विभागले यसअघि गतसाता मात्रै बंगलादेशबाट ३० हजार भाइल रेमडिसिभिर ल्याउन अनुमति दिएको थियो। यो सँगै विभागले कोरोनाको गम्भीर खालका बिरामीका लागि प्रयोग गरिने दुई हजार भाइल टोसलीजुमाव औषधि आयातका लागि पनि अनुमति दिएको छ। यो औषधि एक देखि दुई डोज मात्र दिए पुग्ने उनले जनाए।

भेन्टिलेटरमा पुगेका व्यक्तिका लागि यो औषधि निकै प्रभावकारी मानिएको उनले जानकारी दिए। कुनै व्यक्तिलाई एक डोज मात्र दिए पनि पुग्ने उनले जनाए। यो औषधि नेपाल भित्रन करिब एक हप्ता लाग्ने विभागले जनाएको छ।

रेमडिसिभिर औषधि भने भोलि (आइतबार) बाट नेपाल आउन सुरु गर्ने केसीले जानकारी दिए। आइतबार मात्र करिब आठ हजार औषधि नेपाल भित्रने उनले जनाए। उनले भने, ‘शुक्रबार हामीले ५५ हजार रेमडिसिभिर आयातका लागि अनुमति दिएका हौँ। यसअघि ३० हजार भाइल ल्याउन अनुमति दिएका थियौँ। अब कुल ८५ हजार जति नेपाल भित्रन्छ। आइतबारदेखि यो औषधि आउन सुरु हुन्छ।’

कोरोना संक्रमणको दर बढ्दै गएकाले ठूलो मात्रामा रेमडिसिभिर आयातका लागि अनुमति दिइएको उनले बताए। हालको अवस्थामा आयात गरिएका यी औषधि पर्याप्त भएको उनले जनाए। उनका अनुसार विभागले आवश्यकता अनुसार आयात गर्ने कम्पनी र औषधिको मात्रा पनि बढाउँदै लैजानेछ। ‘यो निरन्तर प्रक्रिया हो। संक्रमणको दर कुन गतिमा बढ्दै जान्छ। औषधिको आवश्यकता अनुसार हामी थप अनुमति पनि दिदै जानेछौं’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here