अमेरिका । गैरआवासिय नेपाली संङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले प्रत्येक बर्ष गैरआवासीय नेपाली लेखकहरुको नेपाली वाङमयमा प्रकाशित पुस्तक मध्य एक उत्कृष्ट पुस्तकलाई दिइने पुरस्कारको नामाकरण नेपाली कलाकार अरनिकोको सम्मानमा ‘अरनिको पुरस्कार’ गरेको छ ।
हालै सम्पन्न नेपाली भाषा, साहित्य तथा संस्कृति अन्तर्राष्ट्रिय पुरस्कार अक्षयकोष प्रवन्ध समितिको बैठकले उक्त निर्णय गर्दै बिक्रम सम्बत २०७७ भरि प्रकाशित नेपाली वाङमयका गैरआवासीय नेपाली लेखकका पुस्तकहरुको संकलन यहि जुलाई २०२१ सम्म गरि सक्ने निर्णय गरेको छ । त्यसका लागि अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र सङ्घको अन्तरास्ट्रिय सचिवालय काठमाडौं मध्य कुनै एक स्थानमा पुस्तक पठाउन सकिनेछ ।
दुई लाख रुपैयाको पुरस्कार राशी भएको पुरस्कार अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रदान गरिने छ ।
अक्षय कोष संचालन गर्न बनेको बिनिमय २०७७ अनुसार प्रबन्ध समितिको संयोजकमा एनआरएनएका पूर्वकोषाध्यक्ष तथा भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापा सदस्यहरुमा नयनराज पाण्डे, निलम कार्की निहारिका, ददी सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त रहेका छन् । साथै सल्लाहकारहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेती, एनआरएनए अध्यक्ष कुमार पन्त र पूर्वअध्यक्ष जिवा लामिछाने रहेका छन् ।
समितिले पुरस्कार संचालनका लागि पचास लाखको अक्षय कोषको स्थापना गर्ने लक्ष्य राखेकोमा हालसम्म २१ लाखको प्रतिबद्धता जुटाइसकेको समितिका अर्थ संयोजक ईश्वरी भट्टले जानकारी दिएका छन् ।
त्यसैगरी अर्को बर्षबाट प्रवासमा रहेर नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदाका लागि योगदान दिएका महत्वपूर्ण ब्याक्तित्वलाई समेत सम्मान र पुरुस्कृत गर्न थालिने सदस्य सचिव महेश्वर पन्तले जानकारी दिए ।
उनका अनुसार प्रवन्ध समितिले मूल्यांकनका निम्ति बिशिस्ट साहित्यकारहरु रहेको छुट्टै समिती बनाउने र सेप्टेम्बर महिनासम्म पुरस्कार घोषणा गरिनेछ । कलाकार अरनिकोलाई पहिलो गैरआवासीय नेपालीको रुपमा समेत मानिएकोले पुरस्कारको नाम उनको र नेपाली कलाको सम्मानार्थ राखिएको पन्तले बताए ।
पुरस्कारका लागि पुस्तक लेखक स्वयं , प्रकाशक , संघ सस्था वा लेखकका शुभेच्छुकहरुले तलका तीन ठेगाना मध्य कुनै एक ठेगानामा जुलाई मसान्त २०२१ सम्म बिक्रम सम्बत २०७७ मा छापिएको पुस्तक पठाउनु पर्नेछ ।
क )
Dadi Saokota
17 Rue Françis Perrin 91190 Gif-Sur-Yvette , France
(ख ) Maheshwor Pant
1646 Main St Walpole MA 02062
(ग ) गैरआवासीय नेपाली सङघ , अन्तर्राष्ट्रिय सचिवालय , सुवर्ण शमशेर मार्ग , बालुवाटार , काठमाडौं ।


















