काठमाडाैं । नयाँ आर्थिक वर्ष २०७८/७९ को पहिलो कारोबारको दिन आइतवार शेयर बजारमा ठूलो अंकले वृद्धि भएको छ । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९७.२१ अंकले बढेको हो ।
परिसूचक ३.३७ प्रतिशतले बढ्दा शेयर बजार २९८०.६१ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि यस दिन ३.६१ प्रतिशतले बढेको छ । परिसूचक १९.५५ अंकले बढ्दै ५६०.९६ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । यस दिन २ सय २१ कम्पनीहरूको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
यस दिन सबै समूहहरूको उपसूचकहरू सकारात्मक छन् । जसमध्ये विकास बैंक समूहतर्फ सबैभन्दा बढी ५.०५ प्रतिशतको वृद्धि भएको छ । यसपछि बैंकिङको ४.७१ प्रतिशतको वृद्धि भएको छ ।
आइतवार ४ कम्पनीहरूको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, न्याग्दी ग्रुप पावर लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
यी कम्पनीहरूको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स लिमिटेडको शेयर सबैभन्दा बढी मूल्य ४० करोड ९९ लाख ७५ हजार १४० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । यस्तै नबिल बैंकको ३८ करोड ६१ लाख ६७ हजार ४८४ रुपैयाँ बराबरमा शेयर कारोबार भएको छ ।

















