अफगानिस्तानमा तालिबानी कब्जाबाट पाठ सिक्नुपर्छ : डा. लोहनी

69

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. अध्यक्ष प्रकाशचन्द्र लोहनीले अफगानिस्तानमा तालिबानी कब्जाबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार र अनियमितता रोक्न नसके अफगानी नियति भोग्नुपर्ने उनको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै डा. लोहनीले भने, “विश्व बैंकको सल्लाहकार हुँदा असरफ घानी नेपाल आउनुभएको थियो । मैले पनि उहाँसँग भेट्ने मौका पाएको थिएँ । उहाँले असफल राष्ट्रलाई कसरी बचाउने भन्ने किताब लेख्नुभयो ।
तर उहाँ राष्ट्रपति हुँदा देशमा कुनै परिवर्तन ल्याउन सक्नुभएन वा चाहनुभएन । देशको ढिकुटी दोहन गरेर अकूत कमाउने अनि विदेशको पीआर र ग्रीनकार्ड लिएर रकम बाहिर पठाउने अनि केही पर्यो भने देशबाहिर भाग्ने क्रम अफगानिस्तानमा दोहोरिएको छ । नेपालमा पनि यो प्रवृत्ति छ । यसबारे बेलैमा सोच्ने बेला आइसकेको छ ।”
ओम्नी, एनसेल, क्यान्टोनमेन्ट, वाइडबडीको स्वतन्त्र छानबिन र सार्वजनिक ओहदामा बसेका सबै सम्पत्ति जाँच गर्नुपर्ने डा. लोहनीको भनाइ छ ।
द्वन्द्वका कारण सार्क निष्क्रिय भए पनि अध्यक्षता गरिहेको देशको हैसियतले अफगानिस्तान मामिलामा के गर्न सकिन्छ, सोधपुछ र चासो लिनु आवश्यक भएको उनले बताए । उनले भने, “नेपालले आफ्ना नागरिकलाई सुरक्षित रुपमा देश फर्काउन भारत, चीन, रुस, अमेरिका, बेलायत आदि सबै मित्रदेशसित कूटनीतिक सम्पर्क बढाउनुपर्छ । यति गर्नलाई परराष्ट्र मन्त्री चाहिँदैन, त्यसको जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले गर्न सक्छन् । यस्तो बेला राज्यको कर्तव्य पूरा गर्नुपर्छ ।”
अफगान मामिलामा सबै देशको स्वार्थ साझा भएको उनको टिप्पणी छ । उनले भने, “२० वर्ष अर्बौं डलर खर्चेको अमेरिका असफल भएर हार खाएर फर्केको हो । सबै देश तालिबानको व्यवहार र नीति कुरेर बसेका छन् । चीन र रुसलाई पनि उग्रवादी र आतकंवादी शक्ति आएर फाइदा छैन । कसैले पनि अतिवादी र धार्मिक कट्टरपन्थीलाई साथ दिँदैनन् । त्यसैले तालिबान संयमित भएर गए राम्रो हुन्छ ।”

डा. लोहनीले केपी ओलीको पालामा सुरु भएको दल विभाजनसम्बन्धी अध्यादेशमा आलोचना गर्ने दलहरुले फेरि त्यही अध्यादेश ल्याउनु विडम्बना भएको पनि बताए । उनले भने, “आफ्नो शासन टिकाउनका लागि ऐन कानुन नै परिवर्तनको शृंखला चलाउने हो भने यो व्यवस्थाको भविष्य लामो हुन्न । यसले अस्थिरतालाई नै मलजल गर्छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here