उपत्यकामा स्मार्ट लकडाउन सुरु

120

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हिजोबाट स्मार्ट लकडाउन सुरु भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ उपाध्यायले भने, “मुलुक कोरोनाको तेस्रो लहर निकट पुगेको महसुस गरी कोभिड-१९ संकट समन्वय केन्द्र (सीसीएमसी)को सिफारिस र गृह मन्त्रालयको निर्णय अनुसार तीन जिल्ला प्रशासनले १७ बुँदे आदेश जारी गरेका छन् । त्यसमा जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालना, खोप अभियान बढाउने, अक्सिजनको सहज आपूर्ति, अस्पताल, आइसोलेसन सेन्टर, उपचारको पूर्वतयारी आदि कुरा समेटिएका छन् ।”
ललितपुरका प्रजिअ उपाध्यायले २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने पनि बताए । उनले भने, “सार्वजनिक यातायातमा मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं । राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, भोज, विवाह, व्रतबन्ध गर्दा २५ जना मात्र भेला हुन पाउने र पूर्वानिर्धारित कार्यक्रम छन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरेका छौं । माघ ७ गतेबाट सार्वजनिक सेवामा समेत खोप कार्ड अनिवार्य गरेका छौं । भीडभाड कम गराउने सन्दर्भमा यसलाई स्मार्ट लकडाउन भने पनि हुन्छ ।”
उपाध्यायले जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही हुन थालेकाले संक्रामक रोग ऐन अनुसार सुरक्षाकर्मी परिचालन गरिएको पनि बताए । उनले थपे, “विश्वव्यापी रुपमा ओमिक्रोन भेरियन्टको संक्रमण उच्च गतिमा फैलिरहेको छ । स्थानीय प्रशासनको आदेश र निर्देशन हुँदाहुँदै पनि जनस्तरमा पालना कमजोर भएकाले त्यसलाई थप कडाइ गर्न खोजिएको छ । माघ १५ गतेसम्म सबैखाले शिक्षण संस्था भौतिक रुपमा बन्द भएका छन् । जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाहीका घटना हुन नदिन संक्रामक ऐन अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here