२० ग्रान्डस्लाम उपाधि विजेता जोकोभिच पुरुष टेनिसतर्फ विश्व एक नम्बर खेलाडी हुन् । विश्वमा कोभिडविरुद्धको भ्याक्सिन लगाउनुपर्ने प्रावधान रहेको अवस्थामा उनले २१औं ग्रान्डस्लाम उपाधि जित्न कठिन हुने पनि देखिएको छ । तर, उनी अझै केही वर्ष खेल्न सक्ने आसमा छन् । गत महिना भएको अस्ट्रेलियन ओपनको उपाधि जितेर उनका प्रतिद्वन्द्वी राफायल नाडाल उनीभन्दा अघि लम्केका छन् । स्पेनी टेनिस स्टार नाडालले २१औं ग्रान्डस्लाम जितेर जोकोभिच र स्विस टेनिस स्टार रोजर फेडेररलाई पछि पारेका हुन् ।
जोकोभिचले भ्याक्सिनको सट्टा डाइटले शरीर बलियो बनाउनुपर्ने पनि बताए । उनले भने—म कहिल्यै भ्याक्सिनविरुद्धमा थिएन । हरेकले विश्वबाट कोभिडको अन्त्य गर्न कोशिस गरिरहेका छन् । आस गरौं भाइरस छिट्टै समाप्त होस् ।
तर, जाकोभिचले भ्याक्सिनबारे धेरै कुरा थाहा नभएको बताए । उनी दुईपटक कोभिडबाट संक्रमण पनि भइसकेका छन् । उनले बताए—यसमा धेरै आलोचना भएको मैले बुझ्छु । विभिन्न सिद्धान्तसँगै मान्छेहरूले भनिरहेको पनि बुझ्छु । म भाग्यशाली छु भन्ने पनि होइन, किनभने कोही पनि भाग्यशाली छैनन् । कोभिडसँग विश्वभरि नै अझै पनि संघर्ष भइरहेको छ । त्यसैले, मैले यसलाई निकै गम्भीरताका साथ लिएको छु । भ्याक्सिनको कारण मेरो लागि अस्ट्रेलियाको बाटो समाप्त भएकोमा म निराश बनेको थिए ।

















