नेपालीले चैत दोस्रो साता थाइल्यान्डसँग मैत्रीपूर्ण खेल्ने

73

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले चैत दोस्रो साता थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो।  खेल मार्च २४ (चैत १०) मा थाइल्यान्डको चोन बुरीमा हुनेछ।  त्यसपछि नेपालले मार्च २७ मा स्थानीय टिमसँग प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ। स्थानीय चोन बुरी एफसीसँग नेपालले प्रतिस्पर्धा गर्नेछ।

फिफा वरीयतामा नेपाल १६७ औंं स्थानमा छ भने थाइल्यान्ड ११२औं स्थानमा छ।  पछिल्लो पटक नेपाल र थाइल्यान्डबीच सन् २००८ मा प्रतिस्पर्धा भएको थियो। सो खेलमा नेपाललाई थाइल्यान्डले ७-० को फराकिलो अन्तरले पराजित गरेको थियो।  नेपालले एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो।

छनोटमा नेपाल कठिन समूहमा छ।  समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन्। यो समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू ८ जुनमा सुरु भएर १४ जुनमा सकिनेछन्।  नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले ११ जुनमा कुवेत र १४ जुनमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।

थाइल्यान्ड भने समूह ‘सी’ मा छ। यो समूहमा थाइल्यान्डसँगै उज्वेकिस्तान, माल्दिभ्स र श्रीलंका छन्।  समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट हुनेछ।

दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।  तेस्रो चरणमा प्रतिस्पर्धा हुने ६ समूह मध्ये दोस्रो हुने उत्कृष्ट पाँच टिम एसियन कपमा छनोट हुनेछन्। यसअघि नेपालले गत असारमा दोस्रो चरणमा प्रतिस्पर्धा गरको थियो। पाँच टिम रहेको समूहमा चौथो भएको नेपाल तेस्रो चरणका लागि छनोट भएको थियो।

नेपालले दोस्रो चरणमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो। दुवै टिमसँग नेपाल दुवै लेगको खेलमा पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here