कामपाका मेयर शाक्यले कामको बारेमा जनतालाई जवाफ दिनुपर्छ : महामन्त्री थापा

74

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताएका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताएका हुन् ।

चुनावको बेलामा गरिएको प्रतिबद्धता अनुसार काठमाडौंमा कति सफा भयो ?, काठमाडौं कति सहज भयो यसको उत्तर महानगरबासिलाई दिनुपर्ने उनले जनाए । आफ्नो प्रतिबद्धता पूरा भए÷नभएको सम्बन्धमा जवाफदेहिता लिन उनले आग्रह गरे ।

उनले भनेका छन्, ‘घरदैलोमा जाँदै गर्दा होस् । टोलमा जाँदै गर्दा होस् । यो बेलामा यो पाँच वर्ष जुन खेर गएको छ, यो खेर गएको वर्षको जिम्मा कसले लिने भन्ने बहस कांग्रेसका साथीहरुले तल गर्नैपर्छ । कसै न कसैले जिम्मा लिनै पर्छ । जिम्मा लिने अवस्था आएन भने जवाफदेहिताको राजनीति रहँदैन भन्ने कुरा हामीले तल भन्नुपर्छ । म यो आग्रह गर्न चाहान्छु । पाँच वर्षको जिम्मा नेकपा (एमाले)ले काठमाडौं चलाउन पाएको हो । अहिले काठमाडौं महानगरपालिकाको चुनाव छ । काठमाडौं महानगरपालिकाको चुनावमा नेकपा (एमाले) चुनावमा मत माग्न आउँदै गर्दा पाँच वर्ष मैले यो गरे, यो गरे भनेर आएको छ ? हाम्रो घरमा पठाएको पर्चा एकपल्ट पल्टाएर हेरौँ ।’

उनले थपे, ‘पाँच वर्ष अघि एमालेको सूर्य चिन्हमा मतदान गरेर, पाँच वर्षपछि चुनावमा आउँदै गर्दा गएको पाँच वर्ष अघि तपाईहरुले मेरो पार्टीलाई जिम्मा दिनुभएको थियो । मैले यो–यो कामहरु गरे । म पाँच वर्ष यो गर्न चाहान्छु । आउनु पर्ने होइन ? कहिँ चर्चा छ त्यसको ? चुनावमा कांग्रेस, एमाले जो जिताउँ जवाफदेहिता नरहने हो भने आवधिक निर्वाचनको अर्थ के हुन्छ ? त्यसैले मेरो दोस्रो आग्रह कांग्रेसको आम अग्रजहरु र पार्टीको साथीहरुलाई यो निर्वाचनमा नेकपा(एमाले)ले उत्तर दिनैपर्छ । काठमाडौं कति सफा भयो ? उत्तर दिनैपर्छ । काठमाडौं कति सहज भयो ? उत्तर दिनैपर्छ । काठमाडौंलाई के बनाउँछु भनेको थियो, के–के बनाइयो ? उत्तर दिनैपर्छ ।’

त्यस्तै महामन्त्री थापाले केही पार्टीका नेता तथा उम्मेदवारहरुले महिलामाथि अपमान गरेको बताएका छन् । उनले महिला हुनुलाई नै अयोग्यताको रुपमा हेर्नेहरुलाई काठमाडौंका महिलाहरुले चुनावमार्फत् उत्तर दिनुपर्ने पनि बताए ।

उनले भने, ‘सिंगो नेपालको महिला, काठमाडौंको महिलालाई केही नेताहरु उभिएर प्रत्येक दिन ढिसमिस गर्नुभएको छ । कुनै एकजना व्यक्तिको कुरा होइन । कुरा एकजना महिला म आफैँ मेरो नामबाट म उभिन्छु, म चिनिन्छु भन्ने प्रयत्न गर्दैगर्दा त्यो भोली जसको हकमा पनि लागु हुन्छ । प्रयत्न गर्दैगर्दा समाजको एउटा तप्का उभिएर त्यसलाई ढिसमिस गर्छ । आइडियामा आउ न । तिम्रो काठमाडौं बनाउने आइडिया मलाइ मन परेन भन न । अथवा राजनीतिक क्षमतामा प्रश्न गर न । त्यो पनि पाइन्छ । तिमिसँग राजनीतिक क्षमता छैन भने त्यो पनि पाइयो ।’

उनले फेरि भने, ‘तिमीसँग राजनीतिक योग्यता छैन भने त्यो पनि पाइयो । तर तिमी यसकारणले गर्दा अयोग्य छौँ किनकी तिमी महिला हौँ भनेर भन्ने कुरालाई काठमाडौंको महिलाले उत्तर दिने कि नदिने यो पटकको चुनावमा ? तपाईको घर छेउको महिला जसले सूर्यलाई मतदान गरेको हो त्यो महिलालाई यो पटक गएर भन्ने कि नभन्ने ? तपाईको यो बेइजत जसले यो बेइजत अहिले जुन गर्न खोजिएको छ । जुन महिलाद्वेषी, महिला भनिसकेपछि यो महिला काम नलाग्ने भनेर जसरी पार्टीको सभापतिदेखि, उम्मेदवारदेखि मञ्चमा एकपछि अर्को उभिएर भनिएको छ यो कुनै एकजना महिलाको होइन, सिंगो काठमाडौंभरीका तमाम सबै महिलाहरुको अपमान हो । सूर्यमा मतदान गर्ने महिलाको पनि अपमान हो । उहाँसँगै हिडिरहेको महिला उपमेयरको पनि अपमान हो । यो सबैको प्रत्युत्तर मतदानबाट गर्नुपर्ने छ ।’

त्यस्तै उनले नेकपा(एमाले)ले स्थानीय तह निर्वाचनमा जो भेट्यो त्यहीसँग तालमेल र गठबन्धन गरिरहेको जनाए । उनले एमालेले एउटा वडामा हिन्दू धर्मको वकालत गर्ने कमल थापाको पार्टीसँग र अर्को वडामा क्रिश्चियन धर्मको वकालत गर्ने परिवार दलसँगसमेत तालमेल गरेको टिप्पणी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here