एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित बनायाे

104

काठमाडौं । क्रिष्टल प्यालेससँग दुई–शून्यले पछि परेको स्थिति उल्टाउँदै एभर्टनले बिहीबार राति इङ्लिस प्रिमियर लिगमा ३–२ को विजय हासिल गरेको छ । यो रोमाञ्चक जितसँगै एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको छ ।

६८ वर्षदेखी प्रिमियर लिग खेल्दै आएको एभर्टन जारी सिजन रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको थियो । एभर्टनको घरेलु मैदानमै क्रिष्टल प्यालेसले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । त्यससँगै एभर्टनको रेलिगेशनमा पर्ने सम्भावना झन बढेको थियो । तर, दोस्रो हाफमा फ्रांक लामपार्डको टोलीले उत्कृष्ट पुनरागमन गर्यो ।

क्रिष्टल प्यालेसले जान–फिलिप माटेटाको गोलबाट २१औं मिनेटमा अग्रता लिएको थियो । ३६औं मिनेटमा जोर्डन आयुले क्रिष्टल प्यालेसको अग्रता दोब्बर बनाएका थिए ।

एभर्टनका प्रशिक्षक लामपार्डले दोस्रो हाफमा आफ्नो रणनीति परिवर्तन गरे । उनले आन्द्रे जोमेसको स्थानमा डिले अलीलाई मौदान पठाएर फर्मेसन परिवर्तन गरे । ५४औं मिनेटमा माइकल केनले गरेको गोलबाट एभर्टनले पुनरागमन गर्यो । ७५औं मिनेटमा रिचार्लिसनले बराबरी गोल फर्काए । खेल सकिन पाँच मिनेट बाँकी हुँदा डोमिनिक कालभर्ट–लेविनले अर्को गोल थपेपछि एभर्टनले महत्वपूर्ण तीन अंक पक्का गरेको हो ।

जितसँगै लिगमा अन्तिम खेल बाँकी हुँदा एभर्टनले ३९ अंक जोडेको छ । जुन रेलिगेशन क्षेत्रमा रहेको लिड्स युनाइटेडभन्दा चार अंकले माथि हो । अब एभर्टनले अन्तिम खेल हारे पनि रेलिगेशनमा पर्दैन ।जितसँगै एभटैनका समर्थक मैदानभित्रै पसेर खुसी मनाएका थिए । यसअघि १९९८ र १९९४ मा पनि एभर्टनका समर्थकले यस्तै अनुभव भोगेका थिए । त्यतिबेला पनि एभर्टनलाई रेलिगेशन टार्न हम्मेहम्मे परेको थियो । १९९८ मा एभर्टन गोलअन्तर राम्रो भएका कारण जोगिएको थियो ।

गएराति नै बर्नलीले एष्टन भिल्लासँग १–१ को बराबरी खेलेपछि लिड्स युनाइटेड रेलिगेशन क्षेत्रमा धकेलिएको छ । एष्टन भिल्ला भ्रमणमा बर्नलीले ४५औं मिनेटमा एश्ले बार्नसको गोलबाट अग्रता लिएको थियो । बार्नसले पेनाल्टीमा गोल गरेका थिए । दोस्रो सुरुमै एष्टन भिल्लाका इमिलियानो बुएन्डियाले बराबरी गोल फर्काए ।

बरारीसँगै बर्नलीले ३७ खेलबाट ३५ अंक जोडेको छ । जुन रेलिगेशन क्षेत्रमा रहेको लिड्ससँग बराबरी हो । तर, गोलअन्तरमा बर्नली माथि रहेको हो ।

यसअघि, नर्विच सिटी र वाटफोर्ड रेलिगेशनमा परिसकेका छन् । अर्को एक टोलीको टुंगो भने अन्तिम दिन लाग्ने भएको छ । लिगको अन्तिम खेलमा लिड्सले ब्रोन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ । बर्नलीले घरेलु मैदानमा न्युक्यासल युनाइटेडविरुद्ध खेल्नेछ । यही दुई खेलको नतिजाले रेलिगेशनमा पर्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

चेल्सीले गएराति लेस्टर सिटीसँग १–१ को बराबरी खेलेपछि तेस्रो स्थान पक्का भएको छ । चेल्सीको घरेलु मैदानमा लेस्टरले छैटौं मिनेटमा अग्रता लिएको थियो । जेम्स म्याडिसनले गरेको गोलबाट लेस्टरले अग्रता लिएको हो ।

३४औं मिनेटमा चेल्सीका मार्कोस एलोन्सोले बराबरी गोल फर्काए । बराबरीसँगै चेल्सीले ७१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहमभन्दा तीन अंकले माथि हो । लेस्टर भने ४९ अंकका साथ नवौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here