काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियानकर्मीको भूमिका निर्वाह गरिदिन कलाकारहरूसँग आह्वान गरेका छन्।
निर्वाचनका सन्दर्भमा आयोगले कलाकारहरूसँग गरेको अन्तक्रियामा प्रमुख आयुक्त थपलियाले निर्वाचनको माहौल निर्माण र निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारहरूले खेलेको भूमिका प्रभावकारी हुने बताएका हुन्।
कलाकारहरूले आफ्ना सामाजिक सञ्जालबाट निर्वाचन र मतदाता शिक्षाका सन्देशहरू प्रवाह गरेर तथा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट टाढा रहेर मुलुक र लोकतन्त्र जोगाउने संकल्प बोकेको निर्वाचन सफल बनाउन व्यावसायिक र रचनात्मक योगदान दिने अपेक्षा पनि उनले व्यक्त गरे।
‘निर्वाचनलाई दूषित पार्ने प्रचारको डर आयोगलाई छ। यसप्रति आयोग सजग छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई मिसाएर हेर्न हुँदैन भन्नेमा आयोग स्पष्ट छ। त्यसैले लोकतन्त्रको सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनोस्। सभ्य भाषामा कसलाई मत दिने र नदिने भनेर खुला रूपमा भन्न सक्नुहुन्छ। अँध्यारो कुनामा बसेर लाञ्छित र गालीगलौज गरिरहनुपर्दैन भन्ने मात्रै आयोगको आग्रह हो।’


















