काठमाडौं। नेपाली सेनाका उपरथी प्रेम शाहीलाई जंगी अड्डाले यही पुस ४ गते ‘मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने व्यहोराको निर्देशनात्मक पत्र थमायो। उक्त पत्र थमाउँदासम्म उनीमाथि संगठनभित्र कुनै आरोप नभएको दाबी गरिएको छ।
उपरथी शाहीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक-फरक जन्ममिति छ। जन्म मिति नागरिकतामा २०२३ पुस २२ गते छ भने बुढानीलकण्ठ विद्यालयले जारी गरेको चारित्रिक प्रमाणपत्रमा २०२२ पुस २० गते उल्लेख छ। जंगी अड्डाले शैक्षिक प्रमाणपत्रलाई आधार मानेर अवकाशका लागि उनलाई पत्र थमाएको थियो। नागरिकताको जन्ममितिअनुसार उपरथी शाही एक वर्ष थप सेवामा रहे बढुवा भएर रथीसम्म पुग्ने सम्भावना छ। उनको दाबी पनि नागरिकतामा भएको जन्ममिति नै सही हो।
यसैकारण पुस ७ गते जंगी अड्डाको निर्देशनविरुद्ध रिट बोकेर उनी सर्वोच्च अदालत पुगे। जब सर्वोच्च अदालत पुगे त्यसपछि नै प्रधानसेनापति प्रभुराम शर्माबाट धम्क्याउने क्रम सुरू भएको उनी निकट बताउँछन्। ‘सर्वोच्चमा मुद्दा हालेपछि धम्क्याउने क्रम सुरू भयो। मुद्दा फिर्ता ले नभए फसाइदिन्छु’, भन्ने धम्की दिइयो,’ उनी निकट स्रोतले भन्यो।
पुस १३ गते सर्वोच्चले उपरथी शाहीका पक्षमा अन्तरिम आदेश जारी गर्यो। न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले शाहीको ‘अवकाश कार्यान्वयन नगर्नू/नगराउनू, निवेदकलाई यथाअवस्थामा काम गर्न दिनू’ भन्ने आदेश दिएको थियो। त्यसपछि उपरथी शाहीले प्रधानसेनापति शर्मासँग सम्पर्क गर्न खोजेका थिए। तर सम्पर्क हुनै सकेन। ‘चिफसँग कुरा गर्न खोज्दा न फोन उठ्यो न म्यासेजको प्रतिक्रिया आयो। त्यसपछि उहाँ आफैं कार्यालय गएर कुरा गर्छु र हाजिर हुन्छु भनेर पुस १९ गते जंगी अड्डा जानुभएको थियो,’ स्रोतले भन्यो।
जंगी अड्डा पुगेकै बेला प्रधानसेनापति शर्माको निर्देशनमा सैनिक प्रहरीले उनलाई पक्राउ गरेर हिरासतमा राखेको थियो। त्यसयता उनीसँग कसैलाई पनि सम्पर्क गर्न दिइएको छैन। परिवारका सदस्यले पनि उनीसँग सम्पर्क गर्न पाएका छैनन्। नागरिक दैनिकबाट


















