नेपाली सेनाद्वारा रुम्जाटारमा ऐतिहासिक संग्राहलय निर्माण

54

शेरबहादुर राई
ओखलढुङ्गा । नेपाली सेनाले ओखलढुङ्गाको रुम्जाटारमा ऐतिहासिक संग्रहालय बनाएको छ । अरिदमन गण ओखलढुङ्गाले निर्माण सम्पन्न गरेको उक्त ऐतिहासिक संग्रहालयको स्वामित्व स्थानीय सरकार सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

श्री १८ नं. बाहिनीपति सहायक रथी सन्तोषराज पाण्डेले एक औपचारिक कार्यक्रमका बीच संग्रहालयको स्वामित्व नगरपालिकालाई हस्तान्तरण गर्नुभएको हो । ओखलढुङ्गाको ऐतिहासिकता झल्काउने संग्रहालय निर्माण भएको सहायक रथी पाण्डेको भनाइ छ ।

जिल्लाको सुन्दरतामा सेनाले निर्माण गरेको संग्रहालयले ऐतिहासिकता थपेको सिद्धिचरण नगरपालिकाका प्रमुख तजेन्द्र खनालले बताउनुभयो । पृथ्वीनारायण शाहले एकीकरण अभियान सञ्चालन गर्नुअघि र पछि जिल्लामा थुप्रै इतिहास रहेकाले त्यसलाई संग्राहित गर्न संग्रहालय निर्माण गरिएको अरिदमन गण ओखलढुङ्गाका गणपति इमेश मेहर श्रेष्ठले बताउनुभयो ।

जिल्लाको इतिहास, किरातकाल, शाहकाल, गढीहरू साथै जातजाति भेषभूषाबारे बुझ्न संग्रहालयले सहयोग गर्ने गणपति श्रेष्ठको भनाइ छ । संग्रहालयमा ओखलढुङ्गाको ऐतिहासिकता पहिचान झल्काउने सामग्री साथै प्राचीन संस्कृति परम्परा, भेषभूषा राखिएका छन् ।

बन्दुक, तरबार, खुँडा, भाला जस्ता पुराना ऐतिहासिक हातहतियारहरू स्थानीयवासीबाट सङ्कलन गरी संग्रहालयमा राखिएको छ । लोपहुन लागेका ढकन, तुलो, चिलिम, डण्डी, जाँतो, टुकी, धिप्रि, कपडा बुन्ने तान चर्खा, ढडिया (ढोक्सा) जस्ता दर्जनौँ प्रकारका पुराना सामग्रीहरू समेत संग्रहालयमा सङ्ग्रहित गरिएको नेपाली सेनाले जनाएको छ ।

सेनाको शीघ्र प्रभाव कार्यान्वयन आयोजना अन्तर्गतको २० लाख लागतमा संग्रहालय निर्माण गरिएको हो । अरिदमन गण ओखलढुङ्गाले तीन महिनाको अवधिमा संग्रहालयको सम्पूर्ण काम सम्पन्न गरेको छ । आन्तरिक र बाह्य पर्यटकका लागि संग्रहालय खुल्ला गरिएको छ । रुम्जाटारमै प्रदेश सरकारको सहयोगमा सांस्कृतिक संग्रहालयको धमाधम निर्माण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here