काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको २३ औँ संस्करणको लोगो सार्वजनिक गरिएको छ । प्रतियोगिताको मुख्य आयोजक विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार एक भव्य समारोहबीच विश्वकपको लोगो सार्वजनिक गरेको हो । आगामी विश्वकप उत्तर अमेरिकी राष्ट्र संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्दैछन् । तीनवटा राष्ट्रले संयुक्त रूपमा विश्वकप आयोजना गर्न लागेको भने यो पहिलो पटक हो ।
लोगो सार्वजनिक गर्न आयोजित कार्यक्रममै फिफाले ‘वी आर २६’ अभियान पनि सुरु गरेको छ । यो अभियानले सन् २०२६ को विश्वकपको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास फिफाले लिएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ‘वी आर २६’ अभियान निकै महत्त्वपूर्ण भएको बताए । ‘यसको अर्थ विश्वकपमा तीन आयोजकहरू एक भएर सन् २०२६ मा विश्वभरका खेलाडी, पाहुना र समर्थकलाई स्वागत गर्न आतुर छौँ भन्ने सन्देश दिएको छ,’ उनले भने ।
आगामी विश्वकपका खेलहरू तीन राष्ट्रका १६ वटा सहरमा खेलाइने भएको छ । अमेरिकाका ११ वटा सहरका रङ्गशालामा विश्वकपका खेलहरू खेलाइने फिफाले जनाएको छ । यसैगरी मेक्सिकोका तीन र क्यानडाका दुईवटा सहरका रङ्गशालामा विश्वकपका खेलहरू खेलाइने छ ।


















