इलिप्सका विद्यार्थी मृत भेटिएको घटनामा अभिभावकले दिए जाहेरी

52

काठमाडौं । काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)का विद्यार्थी मृत भेटिएको घटनामा अभिभावकले मंगलबार प्रहरीमा जाहेरी दिएका छन् । १७ जेठमा विद्यालयको छात्रावासमा धादिङ घर भएका ५ कक्षामा पढ्ने एक विद्यार्थी मृत अवस्थामा फेला परेका थिए ।

सो घटनामा विद्यार्थीका अभिभावक र आफन्तले मंगलबार जाहेरी दिएका महानगरीय प्रहरी वृत्त लैनचौरले जानकारी दिएका छन् । अनुसन्धानकै क्रममा रहेकाले अभिभावकले को विरुद्ध जाहेरी दिएको भन्ने प्रहरीले खुलाउन अस्वीकार गरेको छ । ‘पोष्टमार्टम रिपोर्टले ह्याङ्गिङ भनेको छ । आत्महत्या दुरुत्साहनमा जाहेरी आएको छ, अनुसन्धान भइरहेको छ’ लैनचौर प्रहरीका एक अधिकारीले अनलाइनखबरसँग भने । हाल प्रहरीले विद्यालयका प्रिन्सिपल र केही शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

विद्यालय खोल्ने तयारी 

घटनापछि विद्यार्थीका आफन्तसहितको आक्रोशित समूहले विद्यालयमा तोडफोड गरेका थिए । त्यसयता विद्यालय बन्द छ । निजी विद्यालयसँग सम्बन्ति संघ संगठनहरुले विद्यालय बन्द हुँदा अरु विद्यार्थीहरु समस्यामा परेको भन्दै विद्यालय खोल्न सहजीकरण गरिदिन काठमाडौं महानगरपालिकाको शिक्षा विभागलाई आग्रह गरेका छन् ।

महानगर शिक्षा विभागका शिक्षा अधिकृत सीताराम कोइरालाका अनुसार विद्यार्थीको पठन पाठन बिग्रिएको भन्दै प्याब्सन लगायत निजी विद्यालयका विभिन्न संघ संगठनले विद्यालय खोल्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।

‘घटनाको दोषीमाथि कानुन अनुसारको कारबाही हुनुपर्छ तर पढिरहेको बालबालिकाको पढाइ बिग्रनु हुँदैन भनेर हामीले वडालाई सहजीकरण गर्न भनेका छौं । केहिदिनभित्र विद्यालय खुल्छ’ उनले भने ।

प्याब्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीले पढ्न नपाएको र अभिभावकहरु अन्योलमा परेकाले विद्यालय खोल्न सहजीकरण गर्न महानगरसँग अनुरोध गरेको बताए । उनले भने ‘दोषीमाथि कारबाही हुनुपर्छ तर ती दोषीहरुको कारण अरु विद्यार्थीको पढाइ विग्रनुभएन भनेर सहजीकरण गर्न अनुरोध गरेका छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here