पनिर बटर मसला
सामग्री : पनिर आधा केजी, गरम मसला ३ ग्राम, अदुवा र लसुनको पेस्ट एक चियाचम्चा, गेडा जिरा आधा चम्चा, प्याज काटेको एउटा, तेल दुई चियाचम्चा, मसिनो गरी काटेको गोलभेँडा दुई पिस, टमाटो पिउरी आधा कप (१२५ एमएल), जिरा, धनियाँ र खुर्सानीको धुलो आधा–आधा चियाचम्चा, गरम मसलाको धुलो आधा चियाचम्चा, धनियाँ आधा मुठा, कसुरी मेथीको धुलो आधा चियाचम्चा, कुकिङ क्रिम आधा कप, काजुको पेस्ट तीन चियाचम्चा, बटर दुई चियाचम्चा, नुन–मरिच स्वादअनुसार, मह या चिनी आधा चम्चा ।
विधि : बाक्लो खालको कराइ या सते प्यान तताउनुस् र तेल हालेर होल गरम मसला फुराउनुस् । अदुवा–लसुनको पेस्ट हाल्नुस् र इन्डियन सम्पूर्ण मसला हालेर सानो आँचमा भुट्नुस । केही समयपछि गोलभेँडा र गोलभेँडाको पिउरी, काजु पेस्ट हालेर मज्जाले पकाउनुस् । नुन–मरिच स्वादअनुसार हाली डाइस काटेको पनिर खन्याइदिनुस् र अरू १० मिनेट पकाएर क्रिम, बटर हल्दिनुस् । अन्त्यमा हरियो धनियाँ, कसुरी मेथी, मह हालेर निकाल्नुस् । स्वादिष्ट पनिर बटर मसला तयार हुन्छ ।
मिक्स भेज बिर्यानी
सामग्री : डाइस काटेको पनिर आधा केजी, मसरुम ३०० ग्राम, हरियो केराउ १२० ग्राम, गाँजर डाइस काटेको १०० ग्राम, काउली या ब्रोकाउली १५० ग्राम, तेल ६० एमएल, होल गरम मसला ६ ग्राम, जिरा गेडा आधा चियाचँचा, अदुवा–लसुनको पेस्ट एक र आधा चियाचम्चा, प्याज २५० ग्राम, बेसार आधा चियाचम्चा, जिरा–धनियाँको धुलो एक चम्चा, गरम मसलाको धुलो आधा चियाचम्चा, दही डेढ कप, धनियाँ एक मुठा, पुदिना एक मुठा, प्याज १५० ग्राम, ड्राई नट्स ९० ग्राम, केशर आधा चियाचम्चा, गुलाबजल पाँच एमएल, घ्यू या बटर १२० ग्राम, लामो बासमती बिर्यानी चामल एक किलो, नुन–मरिच स्वादअनुसार ।
विधि : आधाभन्दा बढी होल गरम मसला हालेर दुई लिटर पानी उमाल्नुस् र पखालेर चामल ओइराइदिनुस् । ठूलो आँचमा चामललाई ७५ प्रतिशत पाक्ने पकाउनुस् र छान्नुस् । त्यतिन्जेल कराइमा तेल हालेर दहीसहितको भेजिटेबल ग्रेभी बनाउनुस् र पाकेको मिक्स भेज ग्रेभीलाई साइड लगाई राख्नुस् ।
७५ प्रतिशत पाकेको चामलको चार भागमा एक भाग देक्ची या कसौँडीमा हाल्नुस् र भेज ग्रेभीको तीन भागको एक भाग हाल्दिनुस् । फ्राई गरेको ब्राउन ओनियन, केसर, धनियाँ, पुदिना, घ्यू थोरै–थोरै हालेर फेरि चामल हालेर छोपिदिनुस् । माथिबाट घ्यूमा भुटेको काजु, किसमिस, बदाम नरिवल, घ्यू, केसर, पुदिना, धनियाँ, गुलाबजल, भुटेको प्याज हालेर टाइट हुने गरी छोपिदिनुस् र सानो आँचमा २० मिनेट पकाउनुस् ।
च्याउको छोइला
सामग्री : फ्रेस या क्यानको च्याउ आधा केजी, पोलेको अदुुवा–लसुन २५ ग्राम, सुकेको खुर्सानी चार पिस, भुटेको तोरीको तेल दुई चियाचम्चा, हरियो खुर्सानी दुई पिस, धनियाँ हरियो एक मुठा, पोलेको टमाटर दुई पिस, कागतीको रस ५ एमएल, टिमुरको धुलो आधा चियाचम्चा, मेथी आधा चियाचम्चा, बेसार आधा चियाचम्चा, हरियो लसुन या प्याज दुई पिस, जिराको धुलो आधा चियाचम्चा, नुन स्वादअनुसार ।
विधि : च्याउलाई बोइल गर्नुस् र पानी निचोरेर ग्यासको फ्लेममा जालीमा राखेर पोल्नुस् र एक साइडमा राख्नुस् । अदुवा, लसुन र सुकेको खुर्सानीलाई हल्का पोलेर भुटेको तोरीको तेलमा हालेर ब्यान्ड गर्नुस् र च्याउमा हाल्नुस्, बाँकी सम्पूर्ण सामान हालेर मुच्छनुस् । एक चम्चा तोरीको तेल तताएर मेथी डडाउनुस् र बेसार हालेर च्याउमा झान्नुस् ।



















