काठमाडौं । फागुन मोरङ, बुढीगंगा गाउँपालिका-४ स्वस्तिक जुटमिलस्थित नेमुवाबाट कोयलपुरतर्फ जाँदै गरेको आरजे २९ जीबी १५६१ नम्बरको लहरी पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा बुढीगंगा गाउँपालिका-४ बस्ने ज्योती अधिकारीको जुम्ल्याहा ५ वर्षीय छोरा निशान अधिकारी र छोरी इसिता अधिकारी तथा सोही ठाउँ डेरा गरी बस्ने ग्रामथान गाउँपालिका-३ घर भएकी प्रमिला खवासकी छोरी ७ वर्षीया रिया खवास रहेका छन् । साथै दुर्घटनामा घाइते भएका ज्योति अधिकारीलाई उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगरमा पठाएको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
चितवन, खैरहनी नगरपालिका-१० कठारस्थित सडकमा ना.४५ प ७७९८ नम्बरको मोटरसाइकल शुक्रबार बिहान दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३४ वर्षीय दिलिप चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-२५ भैँसेपाटीमा बा. प्र ०१-००६ ख ५१६५ नम्बरको पानी ट्याङ्कर र बा.प्र ०२-०२२ प ५५४५ नम्बरको स्कुटर एक-आपसमा ठक्कर खाँदा स्कुटर चालक सोही महानगरपालिका-२६ भैँसेपाटी मगरगाउँ बस्ने २६ वर्षीया अनिशा भुलनको शुक्रबार बिहान मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएकी उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, त्रियुगा नगरपालिका-८ झोडामा को.२८ प ७०८६ नम्बरको मोटरसाइकल प्र.१-०५-०१ क ००३५ नम्बरको ट्रकमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका-६ नेपालटार बस्ने ३४ वर्षीय रत्न कुमार तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















