प्रधानमन्त्री दाहाल दक्षिण कोरियाको भ्रमण गर्ने

11

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने जनाएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई गर्दै उनले यस्तो जनाएका हुन्।

उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरामा छलफल भएको पनि जनाए। सोही समयमा दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको जनाउँदै प्रधानमन्त्री दाहालले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको जनाए।

उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो भूमिका खेल्ने जनाए।

उनले भने, ‘औपचारिक सम्बन्धको ५० वर्षको सन्दर्भमा यो आरोहणले एकातिर नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ, हाम्रो यसैपनि राम्रो सम्बन्ध छ, कोरिया र नेपालको। आउने दिनमा अझ बलियो र सुदृढ हुन्छ भन्ने विश्वास छ। अर्कातिर पर्यटन प्रवद्र्धनको निम्ति पनि जुगल हिमाल आरोहण गर्ने प्रयत्नले पर्यटन प्रवर्द्धनमा पनि निकै ठूलो भूमिका खेल्छ।
नेपाल र कोरियाको बीचमा विभिन्न क्षेत्रमा सहयोगको प्रगति हुँदै गएको छ। कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति निकै धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेका छौं। मेरो केही समय पहिला राष्ट्रसंघको अधिवेशनको बेलामा कोरियाका राष्ट्रपतिसँग पनि छलफल भएर दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने, सहयोगको क्षेत्रलाई अझ बिस्तार गर्नेकुरा पनि भएको छ ।
राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ। सकेसम्म त्यो निमन्त्रणालाई स्वीकारेर कोरिया जाने तयारी पनि हामी गर्न खोज्दैछौं।’

प्रधानमन्त्री दाहालले कोरिया र नेपालको सम्बन्धमा नेपालको आर्थिक विकासको निम्ति धेरै क्षेत्रमा सहयोगको अपेक्षा गरेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here