काठमाडौं । कौडिन्य सगोत्रीय महासङ्घले भाेलि शनिबार साउन १९ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।
रक्तदान जीवनदान भन्ने नाराका साथमा कार्यक्रम गर्ने महासमाजको असार ४ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयबाट रक्तदान कार्यक्रमको आयोजना गरिएको महासचिव नारायण न्यौपानेले जानकारी गराए ।
महासङ्घका उपाध्यक्ष विष्णु प्रसाद बास्कोटाले कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न लागिएको हुँदा रक्तदान गर्न मिल्ने सम्पूर्णलाई कार्यक्रममा आई रक्तदान गर्न आग्रह गरेका छन् ।
संस्थाले पहिलो पटक केन्द्रीय समितिको आयोजनामा नयाँ बानेश्वर चौकस्थित छक्कुबक्कु मन्दिरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम बिहान ठिक ८ बजे देखी दिउँसो १ बजेसम्म रहने कोषाध्यक्ष जयराज पराजुलीले जानकारी गराए।
महासमाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले महासङ्घका आचार्य, न्यौपाने, पराजुली, बास्कोटा, सापकोटा, त्रिताल, गैह्रे, लकाई खड्का, पनेरु, मरासिनी, बन्जारा, बन्जाडे, सत्याललगायत सबै थरहरूलगायत सबैलाई रक्तदानमा सहभागी भई रक्तदान गर्न हार्दिक आह्वान गरेका छन् ।
आचार्य बन्धु समाज नेपालका अध्यक्षसमेत रहेका महासङ्घका अध्यक्ष आचार्यले यस अघि आचार्य समाजबाट रक्तदानलगायतका कार्यक्रमहरू आयोजना गर्नेभएपनि यस पटक भने ठुलो संस्था कौडिन्य गोत्रीय महासङ्घबाट राखेका छन् ।
रक्तदान कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ का सांसद तथा उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ भने बागमती प्रदेशका मन्त्री सुरजचन्द्र लामिछाने, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीलगायत रक्तदान हुने क्षेत्रका सरकारी विशिष्ट व्यक्तिहरूलाई विशिष्ट अतिथि र अतिथिको रूपमा निमन्त्रणा गरिएको छ ।


















