रवि–बालेन अंगालोले गरेको संकेत !

10

सबि भट्टाराइ
नेपाली राजनीतिमा कहिलेकाहीँ सानो घटनाले ठूलो संकेत दिन्छ । गत पुसमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहबीच भएको भेटले ठीक त्यस्तै संकेत गरेको छ । उनीहरुले एकतापछि एकअर्कालाई अँगालो मारेका थिए । यो अँगालो मात्र भावनात्मक एकताको प्रतीक थिएन, बरु नेपाली राजनीतिमा नयाँ पुस्ताको नेतृत्व एकजुट हुने, परम्परागत शक्तिहरूलाई चुनौती दिने र देशलाई नयाँ दिशा दिने ठोस राजनीतिक संकेत थियो । रविले बालेनलाई अँगालो हाल्दै भनेका थिए, ‘बालेनजी, यो देश सँगै मिलेर बनाउनुपर्छ ।’ यो वाक्यले मात्र होइन, त्यसपछि भएका घटनाक्रमले पनि यो संकेतलाई पुष्टि गरेको छ ।
आजभोलि सामाजिक सञ्जाल र केही मिडियामा ‘रवि लामिछाने ओझेलमा परे’ भन्ने प्रचार निकै चलेको छ । यो प्रचारले ठाउँ पाएको छ, तर यसको पछाडि गहिरो राजनीतिक दुराशय लुकेको छ । रास्वपाको सभापतिका हैसियतले बालेनलाई पार्टीमा जोड्न रविले गरेको त्यागलाई नबुझ्नेहरू वा रास्वपा फुटोस् भन्ने चाहनेहरूले नै यो प्रचारलाई महत्व दिएका छन् । वास्तवमा, रविको यो कदम ओझेलमा पर्ने होइन, बरु रास्वपालाई अझ मजबुत र विस्तारित बनाउने रणनीतिक त्याग हो । बालेन शाह जस्ता लोकप्रिय युवा नेतृत्वलाई पार्टीमा भित्र्याउन रविले सभापति पदमा रहँदै बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने सात बुँदे सम्झौता गरे । यो सम्झौतामा साक्षी बसेका थिए रास्वपाका केही नेताहरू, जसले यो एकतालाई संस्थागत बनाए । यो त्याग होइन भने के हो ? रविले आफ्नो व्यक्तिगत महत्वाकांक्षाभन्दा माथि उठेर पार्टी र देशको भविष्यलाई प्राथमिकता दिएका छन् ।
यो एकताले गरेको संकेत बहुआयामिक छ । पहिलो, यो नयाँ पुस्ताको नेतृत्वबीचको एकताको संकेत हो । रवि लामिछानेले पत्रकारिताबाट राजनीतिमा प्रवेश गरे । बालेन शाहले काठमाडौं सुशासन र विकासको नयाँ मोडेल देखाए । दुवैले परम्परागत राजनीतिक दलहरूलाई चुनौती दिएका छन् । उनीहरूको भेट र अँगालोले यो सन्देश दिएको छ कि अब पुराना दलहरूको युग समाप्त हुँदैछ । जनताले नयाँ अनुहार खोजिरहेका छन्, जसले काम गरेर देखाउँछन् । रवि र बालेनको सहकार्यले त्यस्तै आशा जगाएको छ ।
दोस्रो, यो एकताले रास्वपालाई अझ शक्तिशाली बनाउने सम्भावना देखाएको छ । बालेन प्रवेश गरेपछि रास्वपाको ग्रासरुट स्तरमा विस्तार भएको छ । जनकपुरमा भएको संयुक्त कार्यक्रममा रवि र बालेन दुवैले आक्रामक भाषण गरे, जसमा प्रधानमन्त्री बनेर देश हाँक्ने प्रतिबद्धता व्यक्त भयो । यो एकताले रास्वपालाई आगामी निर्वाचनमा बहुमत ल्याउने क्षमता भएको दल बनाएको छ ।
तर, यो एकतालाई रोक्न खोज्ने शक्तिहरू सक्रिय छन् । ‘रवि ओझेलमा परे’ भन्ने प्रचार त्यसैको उपज हो । केहीले यो प्रचारलाई रविको कमजोरीको रूपमा चित्रण गर्न खोजेका छन्, तर वास्तविकता उल्टो छ । रविले आफ्नो पद र प्रभाव प्रयोग गरेर बालेनलाई पार्टीमा ल्याए । बालेन जस्ता स्वतन्त्र छविका नेताले अलग्गै पार्टी खोल्न सक्ने सम्भावना थियो । रविको यो कदमले त्यसलाई रोकेको छ । यो प्रचार गर्नेहरूले रास्वपाको एकता टुटोस् भन्ने चाहन्छन्, किनकि मजबुत रास्वपाले पुराना दलहरूलाई ठूलो चुनौती दिन्छ ।
जनताले अब काम गर्ने, सुशासन दिने र विकासको मोडेल देखाउने नेतृत्व खोजिरहेका छन् । रवि र बालेन दुवैले त्यस्तै छवि बनाएका छन् । नेपाली राजनीतिमा यो सहकार्यले किन नयाँ आशा जगाएको छ ? पहिलो कुरा, पुराना दलहरू नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले दशकौंदेखि सत्ता चलाए पनि विकासमा उल्लेखनीय सफलता हासिल गर्न सकेनन् । भ्रष्टाचार, गुटबन्दी र अस्थिरताले जनतालाई निराश बनाएको छ । यस परिप्रेक्ष्यमा रवि र बालेन जस्ता नेताहरूले आफ्नो क्षेत्रमा देखाएको सफलताले जनविश्वास कमाएका छन् । यसले युवा मतदातालाई आकर्षित गर्नेछ, जसले परिवर्तन खोजिरहेका छन् । साथै, यो सहकार्यले महिला, दलित र पिछडिएका वर्गलाई समावेशी बनाउन सक्छ । तर, चुनौतीहरू पनि छन् । पुराना दलहरूले यो मोर्चालाई कमजोर पार्ने प्रयास गर्न सक्छन् । राजनीतिक रूपमा, यो सहकार्यले नयाँ पार्टी वा गठबन्धन निर्माण गरेर पुराना दलहरूलाई चुनौती दिनेछ । जनतामा जगाएको आशा यो हो कि अब विकासका एजेन्डा प्राथमिकतामा पर्नेछन्, न कि सत्ता स्वार्थ । यो सहकार्यले नेपाललाई समृद्धितर्फ लैजान सक्छ, जहाँ ऊर्जा पर्याप्त छ, शहरहरू सफा छन् र राजनीति जनमुखी छ । अझ एक कदम अघि त्रबढेर जनतामा जगाएको आशालाई कायम राख्न सबै नयाँ विकल्प खोज्ने नेताहरु सहकार्यमा जोडिन आवश्यक छ । दम्भ र अहंकारबाट सबै बाहिरिन जरुरी छ । जनधारणा साप्ताहिक

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here