राष्ट्रपतिद्वारा ‘नेपालको संविधान २०७२’ जारी

287

काठमाडौ, असोज ३ राष्ट्रपति डा.रामवरण यादवले नेपालको संविधान २०७२ औपचारीक रुपमा जारी गरेको घोषणा गरेका छन् । आज साँझँ राष्ट्रपति यादवले संविधानसभा भवन बानेश्वरमा विशेष समारोहकाबीच संविधानमा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका छन् । उनले ‘संविधानसभाद्वारा पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमणित भएको संविधान आजै देखि प्रारम्भ भएको घोषणा गरेका थिए ।

त्यसअघि संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभा नियमावली ११० को उपनियम (३) बमोजिम संविधानसभाले पारित गरेको संविधानका प्रति हस्ताक्षरका लागि राष्ट्रपतिसमक्ष पेस गरेका थिए ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला र प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सहभागिता रहेको थियो ।

समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवम् संविधानसभाका सदस्यहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराईलगायत संविधानसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

समारोहमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, वामदेव गौतम, मन्त्रीगण, पूर्व सभासद्हरु, नेपाल सरकारका उच्च अधिकारीहरु, नागरिक समाजका अगुवाहरु, उद्योगी व्यवसायी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु एवम् वरिष्ठ सञ्चारकर्मीलगायतको समारोहमा बाक्लो उपस्थिति थियो । संविधान घोषणा समारोह अपराह्न ५ बजे आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here