किन दीपावली गरियो संविधानको पक्षमा ?

123
  • निमकान्त पाण्डे

देशमा नयाँ संविधान जारी भएको छ । नयाँ संविधानले अव देशमा शान्ति सुव्यवस्था कायम गर्ला भनेर सर्वत्र आशा पलाएको छ । संविधानसभामा दुई तिहाई वहुमतले पारित गरेको संविधानले वास्तवमै देशमा शान्ति कायम गर्नु पर्ने हो । यसमा अन्यथा भनिरहनु पर्ने अवस्था रहँदैन । परन्तु संविधानसभाको चुनावलाई वहिस्कार गरेर प्रारम्भ देखिनै सर्वदलीय गोलमेच सम्मेलनको माग राख्दै आएको नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले नयाँ संविधानलाई अस्वीकार गर्ने निश्चितै छ । चुनावमा सहभागी भएर संविधानसभामा प्रतिनिधित्व गर्न पुगेका मधेसीदललगायत केही साना राजनीतिक दलहरू पनि संविधान निर्माण प्रक्रियाबाट वाहिरिएको अवस्था छ । यस्तो स्थितिवीच जारी भएको संविधानले कस्तो शान्ति कायम गर्ला भनेर परिकल्पना गर्ने ?
परिकल्पना गर्न कसैलाई पनि अधिकार छ । साम्यवादको परिकल्पनामा हतियार उठाएको पार्टीका केही र्शीर्ष नेताहरू समेत सम्मिलित भएको संविधानसभाले पारित गरेको संविधानले शान्ति कायम गर्ने परिकल्पना गर्नुलाई अन्यथा मान्न सकिदैन । परन्तु जारी भएको संविधानले दशवर्षे युद्धकालमा जनतालाई वाँडिएका आश्वासनहरूलाई कुन हदसम्म सम्वोधन गर्न सकेको छ भन्ने आधारमा देशमा शान्ति र अमनचयनको परिकल्पना गर्नु वाञ्छनीय होला ।
दशवर्षे जनयुद्धको कमाण्डिङ गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै थकित अवस्था वीच आफूले धेरै कुरामा सम्झौता गरेर संविधान निर्माण गर्न सफलता हासिल गरेकोमा खुशी व्यक्त गर्नु भएको छ । प्रचण्डले व्यक्त गर्नु भएको खुशीले जनयुद्धको घाउमा मलहम लगाउन सक्ला ? नयाँ संविधानले जनयुद्धलाई कुनै पनि ढंगले सम्वोधन गरेको पाइदैन । राजतन्त्रकालीन संविधान भन्दा कुनै पनि कारणले जनपक्षीय भन्न नसुहाउने यो नयाँ संविधानले १६ हजार नेपालीले वगाएको रगतको मूल्यांकलन गर्न सकेको छैन ।
संविधानसभामा दुईतिहाई वहुमतको हैसियत वनाएका तीन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले आ–आङ्खना पार्टीका कार्यकर्ता तथा समर्थकहरूलाई देशव्यापी रूपमा दीपावली गरी संविधान जारी भएकोमा खुशियाली मनाउन उर्दी जारी गरी जनताको आँखामा छारो हाल्नका निम्ति दीपावली नै हतियार वन्ने विश्वासमा संविधानसभाका नेताहरू पुगे । संविधान जारी भए लगत्तै संविधान जलाउने क्रमले जरो गाडेको छ । संविधान जारी गरिएको दिनलाई कालो दिनको संज्ञा समेत दिइएको छ । यस्तो अवस्थामा अरु त अरु दशवर्षे जनयुद्धका कमाण्डर प्रचण्डले समेत संविधान जारी गर्न सफल भएकोमा गर्व गरिरहेका छन् ।
संविधान जारी भैसके पछिको देशको अवस्था ठूलो आँधी आउनु पूर्वको जस्तो भएको छ । असन्तुष्टिहरू सडकमा छताछुल्ल हुन थालिसकेका छन् । सडकको आवाजलाई संविधान निर्माताहरूले पटक्कै वास्ता गरेका छैनन् । सडक संगठित वनिरहेको छ । यस्तो स्थितिले देशमा कसरी शान्ति कायम होला ?
संविधान जारी भयो अब के होला ? सबैको मुखबाट यही प्रश्न उठिरहेको पाइन्छ । संविधान आएकोमा नै एकथरि मानिसहरूमा सन्तुष्टि भएको पाइन्छ । संविधानसभाका सभासदहरूले लुट्दै आएको राष्ट्रको ढुकुटी लुटिने क्रम रोकिएकोमा नै खुशियाली भनाइरहेका छन् जनताले । संविधानसभाकै लागि फेरि अर्को चुनाव गराउनु पर्ने अवस्थामा मुलुक जाने हो कि भन्ने त्रासबाट मुक्ति मिलेकोमा पनि खुशियाली मनाइएको प्रतिक्रिया दिइरहेका छन् जनसाधारणले समेत । त्यसैले संविधान जारी हुँदैमा केही भै हाल्ने आशा जनताले गरेका छैनन् भन्ने कुरा बुझ्न सकिन्छ ।
संविधान भनेको सामाजिक परम्पराको लिखित दस्तावेज हो । यसैको आधारमा समाज संचालन हुने हो । परन्तु संविधानसभाले समाजिक परम्परालाई कमजोर वनाउने आधार तयार पारेको अवस्था छ । राजतन्त्रलाई हिन्दु धर्मले नै संरक्षण गरेको भन्ने गलत वुझाईले गर्दा राजनीतिक दलहरूले हिन्दुधर्मलाई वेवास्ता गरेका छन् । हिन्दु धर्ममा रहेका विभदकारी परम्पराहरूले गर्दा हिन्दु धर्मका विरुद्धमा अन्य धर्मावलम्वीहरू, खासगरी क्रिश्चियनहरू खुलेरै लागेका छन् । क्रिश्चियन धर्मले नेपाली समाजमा आङ्खनो अस्तित्व जमाई रहेको छ ।

आज ८० प्रतिसत भन्दा वढि संख्यामा रहेको भनिएका हिन्दूहरू अल्ममतमा पर्ने अवस्था नआउला भन्न सकिदैन । धर्मनिरपेक्षतालाई नयाँ संविधानमा सबैभन्दा ठूलो उपलब्धि मानिएको छ । राजतन्त्रलाई किनारा लगाउन धर्मनिरपेक्षता नै सहयोगी सिद्ध भएको गलत मूल्यांकन गरिएको छ । राजतन्त्र क्रिश्चियन तथा मुश्लिम धर्म भएका मुलुकहरूमा पनि नभएका होइनन् । यो पंक्ति कुनै धर्मको पक्षपाती होइन, तथापि कुनै धर्मलाई स्थापित गराउनकै लागि अपनाइएको धर्म निरपेक्षताले नेपाली समाजलाई कता पु¥याउला ? सोचनीय विषय भएको छ ।
संविधानको अर्को ठूलो उपलब्धि संघीयतालाई मानिएको छ । संघीयताको निक्र्यौल गर्न नसकिएको र सिमांकनको विषयले तराई क्षेत्रमा विखण्डनको आगो सल्किएको छ । यस्तो अवस्था वीच खुला सिमाना रहेको छिमेकी मुलुकले विखण्डनकारी आवाजलाई समर्थन जनाएको अवस्था छ । अनि नयाँ संविधानले देशमा शान्ति र सुव्यवस्था कसरी ल्याउला ? खुशियालीमा भैरहेको दिपावली छिट्टै नै रुवावासीमा परिणत हुने खतरालाई आजै देखि महशुस गर्न सकियो भने त्यसको निराकरणको उपाय पनि खोज्न सकिएला ! पछि पछुताएर केही हुने वाला छैन । आग्ये नेताजीहरूलाई चेतना भया !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here