–निमकान्त पाण्डे–
कुनै अप्रत्याशित घटना भएन भने असोज महिनामा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने निश्चित भएको छ । केपी ओली नेतृत्वको सरकार ढलेपछि चीनका राष्ट्रपतिको निर्धारित भ्रमण स्थगित हुने हल्ला निकै चलाइएको थियो, तर हल्ला निरर्थक हो भन्ने सन्देश प्रवाह गर्न चीनको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । चिनियाा प्रतिनिधि मण्डलले नेपालका राजनीतिक दलका नेताहरूलाई समान किसिमको महत्व दिएर भेटवार्ता गरेको छ । यसले गर्दा नेपाल चीन सम्बन्ध थप उाचाइमा पुग्ने विश्वास पलाएको छ ।
पंक्तिकार गत वर्ष भदौ महिनामा चीनको दश दिने भ्रमणमा पुगेको बेला चीनका उपविदेशमन्त्री र पुनर्निर्माण विभागका सरोकारवालाहरू सबैले भूकम्पबाट क्षतिग्रस्त भएका नेपालका सबै क्षेत्रमा पुनर्निर्माण गर्न सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । यो पंक्तिकारसहितका १३ जना सञ्चारकर्मीहरू र चीनमै अध्ययन गरेका दुई चिकित्सकहरूको टोलीसमक्ष नेपालमा हालै गएको भूकम्पवाट क्षतिग्रस्त संरचनाहरूको विवरण सचित्र प्रस्तुत गर्दै पुनर्निर्माण विभागका चिनियाा पदाधिकारीहरूले नेपाललाई विपत्तिमा सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए । त्यो बेला नेपालमा सुशील कोइराला प्रधानमन्त्री रहनु भएको थियो भने नयाा संविधान जारी भएलगत्तै केपी ओली प्रधानमन्त्री बन्नुभयो । दुवै प्रधानमन्त्रीले पुनर्निमाृणमा चीनको सहयोग किन आवश्यक ठान्नु भएन भन्ने प्रश्न खडा भएको छ । एकातिर भूकम्प प्रभावितहरू नाङ्गो आकाशमा जीवन निर्वाह गरिरहेको अवस्था छ भने ऐतिहासिक महत्वका संरचनाहरू पुनर्निर्माण गर्ने कुनै सुरसार भइरहेको छैन । कुनै छिमेकी देशले सहयोग गर्छु भन्दा पनि सहयोगलाई स्वीकार नगर्नुपर्ने कारण के होला ? बुझ्न सकिएको छैन ।
चीनको पुनर्निर्माण विभागले चीनमै पनि चमत्कारिक निर्माणका कामहरू गरेको रहेछ । नेपाली सञ्चारकर्मीहरूको टोलीलाई चीन सरकारको विशेष निमन्त्रणामा चीनका भूकम्पग्रस्त क्षेत्रहरूको अवलोकन भ्रमण गराइएको थियो । सन् २००८ मा चीनको सिञ्चुवान प्राप्तका विभिन्न क्षेत्रमा गएको भूकम्पले ध्वस्त भएका वस्ती, सडक, पुल र अन्य ऐतिहासिक संरचनाहरूको पुनर्निर्माण गरी ती क्षेत्रहरूलाई ऐतिहासिक पर्यटकीय स्थलका रूपमा रूपान्तरण गर्न सफल भएका चिनियाा पुनर्निर्माण विभागका अनुभवी जिम्मेवार प्राविधिक पदाधिकारीहरूले नेपाली सञ्चारकर्मीहरूसागको भेटमा नेपालप्रति निकै सद्भाव व्यक्त गरेका थिए । उनीहरूले चीनमा जस्तै नेपालमा आएर पुनर्निर्माण गर्ने इच्छा खुलेरै व्यक्त गरेका थिए । चीनको सिन्चुवान प्रान्तको बेन्थ्वान जिल्लाको अत्यन्त विकट र चारैतिर पहाडले घेरिएको सानो आकारको उपत्यकामा रहेको यिङ्ज्यू नाम गरेको गाउा भूकम्पले क्षतिग्रस्त भएको रहेछ । उक्त क्षेत्रमा पुनर्निर्माण गरी पर्यटकीय आकर्षक केन्द्र बनाइएको रहेछ । क्षतिग्रस्त वस्तीहरूमा सबै घरहरू समान खालका बनाइएका छन् । ती घरहरूमा भूईंतलामा व्यापार गर्ने र माथिका तलामा बसोबास गर्ने व्यवस्था मिलाइएको छ ।
चीनका आदिवासी छाङ जातिको बसोबास भएको यो गाउालाई केन्द्रबिन्दु बनाएर गएको ८ रेक्टरको भूकम्पबाट यो गाउामा मात्र ६ हजारको मृत्यु भएको रहेछ । सिञ्चुवान प्रान्तभरि लगभग ८० हजार जनताको ज्यान लिएको सो भूकम्पलाई सम्झना गर्न क्षतिग्रस्त संरचनाहरूलाई जस्ताको तस्तै राखिएको पनि पाइयो । भूकम्पले क्षतिग्रस्त बनाएको एउटा माध्यमिक विद्यालयमा परेर ज्यान गुमाएका ४३ जना विद्यार्थी र ८ जना शिक्षकहरूको शव निकालिएको रहेनछ । भग्नावशेषमा रूपान्तरित भएको सो स्कूल र स्कूल परिसर भित्र रहेको छात्रावास भवनलाई दिवंगत विद्यार्थी र शिक्षकहरूको समाधीस्थल जस्तै बनाएर सजाइएको छ । पर्यटकहरूलाई अत्यन्त भावुक बनाउने सो विद्यालय परिसरमा पुग्नेहरूले सर्वप्रथम एक मिनेटको मौनधारण गर्ने गर्दछन् भन्दै हाम्रो सहयोगको लागि चीन सरकारले खटाएका दोभोषेहरूको आग्रहमा नेपाली सञ्चारकर्मीहरूको टोली पनि एक मिनेट मौनधारणमा गम्भीर बन्नुपरेको थियो ।
वि.सं. २०७३ वैशाख १२, १३ र २९ गते नेपालमा गएको भूकम्पले आतंकित बनाइएका हामी नेपालीहरूका निम्ति चीनको त्यो अवस्था वास्तवमै अनुकरणीय लाग्दथ्यो । भूकम्पले पनि भाग्य निर्धारण गर्दाेरहेछ भन्नेजस्तो सोचाइ पनि हामीहरूमा त्यसबखत आयो । पुनर्निर्माणको जिम्मा चीनलाई दिनुपर्छ भन्ने आशयसहित चीनबाट फर्केलगत्तै पंक्तिकारले यसै जनधारणा साप्ताहिक र स्वाभिमान नेपाल मासिकमा आफ्नो धारणा प्रस्तुत गरेको हो । परन्तु सुन्ने निकायले सुन्नै नचाहेपछि एउटा पत्रकारको के लाग्दोरहेछ र ?
गत वर्ष चीनबाट फर्केलगत्तै संविधानसभाबाट संविधान जारी भएको थियो । नेपालको संविधानप्रति छिमेकी देश भारतले असहमति जनाएर आर्थिक नाकाबन्दी नै लगायो । उपभोग्य वस्तुहरूमा भारत आश्रित भइरहेको नेपाललाई नाकाबन्दीको झमेलामा पारेर छिमेकी मुलुक भारतका शासकहरूले नेपालीहरूलाई विपतमा पारिरहेको अवस्थामा छिमेकी मुलुक चीनले जतिसक्दो सहयोग उपलब्ध गराएर नेपाललाई बिर्सनै नसक्ने गुण लगाएको छ । त्यसपछि सुरु भएको नेपाल–चीन सम्बन्ध भावनात्मक रूपमै आत्मीयतामा परिणत भएको छ । व्यापारिक नाकाहरू विस्तार गर्ने र व्यापार तथा पारवहन सम्झौता गर्नेसम्मका कामहरू भएका छन् । यसले चीनको नेपालप्रतिको सदाशयतालाई स्पष्ट गरेको छ । चीनका राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणमा नेपालका शासकहरूले भूकम्पग्रस्त क्षेत्रहरूको पुनर्निर्माण गर्न चीनलाई सहमति जनाउने हो भने नेपालले छिट्टै नै कााचुली फेर्ने आशा गर्न सकिन्छ । आगे हाम्रा नेताजीहरूलाई चेतना भया !


















