काठमाडौं÷ नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रचण्डमाथि चर्को प्रहार गरेका छन् । प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीबाट अलग भई निर्माण भएको नेकपा–माओवादी (वैद्य समुह)बाट अलग भएपछि कसैको आलोचना नगर्ने बरु काम गरे देखाइदिने भनि प्रतिवद्धता जनाएका नेता चन्दले जनयुद्धकालका आफ्नै कमाण्डर तथा वर्तमान परिवर्तित राजनीतिका चर्चित पात्र रहेका प्रधानमन्त्री प्रचण्डलाई गद्धार र चोर जस्ता अराजनीतिक शब्दहरू प्रयोग गरी आलोचना गरेका छन् ।
गत शनिबार काठमाडौंको कालिमाटीमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेपाल सम्बतको सन्दर्भमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै विप्लवले जतिबेलासम्म जनवादी सत्ता चलेको थियो त्यतिबेलासम्म प्रचण्ड बाबुराम ठीक थिए, शान्ति संझौता गरेपछि उनीहरू गद्धार भएको उद्घोष गरे ।
बाबु चोर हुँदा दुनियाँले उसको छोरालाई पनि चोरको छोरा भनेर लखेटे जस्तै हामीलाई अहिले त्यस्तै भएको गुनासो गर्दै विप्लवले भने ‘मान्छेहरू हामीलाई बिग्रेका माओवादीहरूले के गर्न सक्छन् र भनेजस्तो गर्छन् ।’ यो स्थिति आउनुमा प्रचण्डको मुख्य जिम्मेवारी रहेको उनको दावी छ ।


















