क्यास्त्रोको आदर्श र हाम्रा नेताहरुको अवस्था

194
  • निमकान्त पाण्डे

क्युबाका लोकप्रिय नेता फिडेल क्यास्त्रो संसारकै लोकप्रिय नेता बन्न सफल भए । उनी किन लोकप्रिय भए ? यो प्रश्न संसारका सबै राजनीतिक व्यक्तित्वहरुले गहन रुपमा मनन गर्नु जरुरी छ । सामरिक रुपमा संसारकै शक्तिशाली र आर्थिक रुपमा पनि संसारकै सम्पन्न र साम्राज्य विस्तारमा बेरोकटोक विनाअवरोध अघि बढिरहेको अमेरिकी साम्राज्यवादकै नजिकमा रहेको सानो भूगोल र न्यून जनसंख्या भएको देश क्युबालाई स्वतन्त्र राख्न सफल भएका क्यास्त्रोबाट संसारका कसैले पनि विचारबाहेक केही पाएका छैनन् । उनको विचार कति सम्पन्नशाली रहेछ भन्ने कुरा ९० वर्षको उमेरमा मृत्युवरण गर्दा पनि उनको मृत्युलाई कसैले स्वाभाविक मान्न नसकेबाट प्रष्ट हुन्छ ।
क्यास्त्रो देशभक्त व्यक्तित्व थिए । देशभक्ति नै उनको सबैभन्दा ठूलो सम्पत्ति थियो । उनी देशभक्त नभएका भए क्युबाली जनता अमेरिकी साम्राज्यवादको दासत्व स्वीकार गर्न बाध्य हुनुपर्ने थियो । अमेरिकामा १० वटा राष्ट्रपतिहरु फेरिए पनि क्युबामा फिडेल क्यास्त्रो नै लोकप्रिय शासक बनेर टिक्न सफल भए । क्यास्त्रोलाई समाप्त गर्न अमेरिकाका १० वटै राष्ट्रपतिहरु प्रयत्नशील रहे । केही जोड नचलेपछि क्यास्त्रोलाई भौतिकरुपमै समाप्त गर्ने प्रयास सयौंपटक भए पनि क्यास्त्रोलाई मार्न अमेरिकी साम्राज्यवादी असफल रहे । क्यास्त्रोको जीवन संसारका सबैका लागि प्रेरणादायी बन्न पुगेको छ ।
क्यास्त्रोको जीवनबाट प्रभावित नेपालका नेताहरु पनि देखिए । परन्तु नेपालका नेताहरुले क्यास्त्रोको जीवनबाट केही पनि सिक्न सकेको पाइँदैन । क्यास्त्रोको जीवनबाट केही सिक्न सकेका भए नेपालका नेताहरुले नेपालको सार्वभौमसत्ता नै संकटमा परेको छ भनेर पटक–पटक भाषण गरिरहनुपर्ने अवश्य थिएन । नेपालको सार्वभौमसत्ता संकटमा पर्नुमा छिमेकी देश भारतका शासकहरुलाई जतिसुकै दोष दिए पनि त्यसको कुनै अर्थ छैन । अमेरिकी साम्राज्यवादसँग अनवरत संघर्ष गरेका फिडेल क्यास्त्रोको जीवनीबाट प्रभावित हुने नेपालीहरुका लागि भारतका शासकहरुको नेपालमाथिको हस्तक्षेप कुनै ठूलो विषय होइन । नेपाललाई भारतीय हस्तक्षेपबाट मुक्त गराउन सामान्य अडान मात्रै राख्न सके प्रशस्त हुन्छ भन्ने कुरा नाकाबन्दीकालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको अडानबाट उनले आर्जन गरेको लोकप्रियता नै काफी छ । ओलीले भारतीय शासकहरुसँग खासै ठूलो अडान लिएका होइनन् । महाकाली सन्धि, अरुण तेस्रो, नागरिकता विधेयक र माथिल्लो कर्णालीलगायतका विषयहरुमा भारतकै गुलामी गरेर राष्ट्रघात गर्न पुगेका ओलीले नाकाबन्दीको समयमा कुन विषयमा नेपालको हितमा अडान लिन सके भन्ने कुरा स्पष्ट छैन । भारतले नाकाबन्दी गरेकाले चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न प्रयास गर्नु र चीनतिर नाका विस्तार गर्ने सम्झौता गर्नुबाहेक ओलीले राष्ट्रको हितका निम्ति कुनै उल्लेख्य काम गरेका छैनन् । आत्मनिर्भरताका निम्ति ओलीले कुनै गतिलो काम गरेको उदाहरण छैन । तथापि त्यत्ति मात्रैले पनि ओलीलाई देशभक्त नेताको उपाधि प्राप्त भएको छ । उनी यसमा हौसिएका पनि छन् । राष्ट्रका निम्ति सामान्य काम गर्दा पनि ओलीले पाएको सम्मानबाट उनी हौसिनु देशका निम्ति राम्रै कुरा हो । अबका दिनहरुमा उनीबाट देशको हितमा काम गर्न नसके पनि अहितमा काम गर्नु हुँदैन भन्ने चेतनाबोध भयो भने त्यो देशको लागि ठूलो उपलब्धि हुनेछ ।
नेपालविरुद्ध छिमेकी देश भारतले के–कस्ता हर्कतहरु गरिरहेको छ भन्ने कुरा संसारले बुझेको छ । संसारले बुझेको कुरा नेपालका हाम्रा नेताहरुले नबुझेका होलान् भन्न सकिँदैन । परन्तु, हाम्रो देशको लागि दुर्भाग्य नै भन्नुपर्दछ, भारतलाई सबक सिकाउने नेता जन्मिन सकेको छैन अर्थात् अमेरिकी साम्राज्यवादलाई पलपलमा सबक सिकाउन सफल भएका क्युबाली नेता फिडेल क्यास्त्रोका अनुयायीहरुले समेत भारतलाई केही सिकाउनुपर्छ भन्ने शिक्षा ग्रहण गर्न सकेको पाइएन ।
आप्रवासीका नाममा ४० लाख भारतीय नागरिकहरुलाई नेपाली नागरिकता वितरण गरिनु नेपालका राजनीतिक दलका नेताहरुको ठूलो गल्ती थियो । यस्तो गलत नागरिकता नीति नेपालजस्तो सानो र भूपरिवेष्ठित देशको लागि कुनै पनि मानेमा घातक छ । यस्तो घातक नागरिकता नीति अवलम्बन गरेर नयाँ नेपालीलाई मतदाता बनाएर गरिएको संविधानसभाको चुनावमा पनि भारतको स्वार्थ पूरा हुन सकेन । संविधानसभाबाट ९० प्रतिशतले पारित गरेको संविधानलाई संशोधन गर्न भारतले जुन ढंगबाट दबाब सृजना गरिरहेको छ, यसले नै भारतको स्वार्थ पूरा हुन नसकेको संकेत गरेको छ । भारतको स्वार्थपूरा गराउनकै लागि संविधान संशोधनको कसरत हामीकहाँ भइरहेको छ । हाम्रो देशमा क्यास्त्रो जन्मिएका भए छिमेकी देश भारतको यस्तो स्वार्थका सामु कस्तो निर्णय लिन्थे होला ? कस्तो अडान लिन्थे होला ? हामी कल्पना गर्न सक्छौं ।
क्यास्त्रोले ९० वर्षको उमेरमा मृत्युवरण गर्दा पनि उनको प्रशंसामा संसार उर्लेको छ । हाम्रा कुनै नेताको प्रशंसा मृत्युपछि यसैगरी संसारव्यापी भए हामी नेपाली कति भाग्यमानी हुन्थ्यौं होला ! सानो भूगोल, थोरै जनसंख्या हुँदैमा कमजोर छ भन्ने ठान्नु हुँदैन भन्ने महत्वपूर्ण शिक्षा दिएर क्यास्त्रोले बिदा लिएका छन् । यही शिक्षा ग्रहण गर्न सकियो भने नेपाल जस्ता मुलुकका लागि ठूलो उपलब्धि हुनेछ र क्यास्त्रोप्रतिको सच्चा श्रद्धाञ्जली पनि हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here