नेपालको हस्तकला र नेताहरूको दरिद्रता

250
  • राज्यलक्ष्मी शाक्य

नेपालको चिनारीसँग जोडिएको नेपाली हस्तकलासँग जोडिएको १४आँै हस्तकला मेला भर्खरै सम्पन्न भएको छ । नेपालको कला संस्कृतिलाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो मेलालाई राज्यले अझ बढी प्राथमिकतामा राख्नुपथ्र्याे । तर राज्यको पहिचानसँग जोडिएको यो मेलालाई राज्यको उच्च तहमा पुग्नेहरूले बेवास्ता गरेको देख्दा निकै दुःख लाग्यो । काठमाडौंमा हस्तकलासम्बन्धी सार्कस्तरीय मेला चलिरहँदा तराईमा भारतीय जोगी रामदेवले योग शिविरको आयोजना गरिरहेका थिए । नेपालको पहिलो महिला राष्ट्रपति तथा मैले निकै आदर गर्ने व्यक्तित्व विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत हस्तकला मेलालाई बेवास्ता गरेको देख्दा उहाँहरूप्रतिको मेरो सद्भाव निकै घटेको छ । राष्ट्रपति र प्रधानमन्त्री मात्र होइन, विभिन्न राजनीतिक दलका नेतागण तथा पेशाकर्मीहरू समेत भारतीय जोगीको दर्शनका लागि लामबद्ध देखिए । तर आफ्नो मुलुकको चिनारी प्रवद्र्धन गर्ने जस्तो महत्वपूर्ण ठाउँमा उपस्थिति हुन उपयुक्त ठानेनन् । यसले पुष्टि गर्छ हामी आफैँमाथि विश्वास गर्दैनाँै र अरुको लागि जे गर्न पनि तयार रहन्छाँै भन्ने कुरा । विशेष गरी राजनीतिक तहबाट हुने यस्तो व्यवहार साँच्चिकै दरिद्र मानसिकताको उपज हो ।
नेपालमा हस्तकलाको इतिहास निकै पुरानो छ । ढुंगेयुगमा जतिबेला मानिसहरू आफ्ना लागि आवश्यक औजारहरू ढुंगाबाट निर्माण गर्थे, त्यति बेलादेखि नै नेपालमा हस्तकलाको अभ्यास भएको पाइन्छ । कलात्मक हस्तकलाको सुरुवात भने इशापूर्वको पाँचौं शताब्दीबाट भएको पाइन्छ । जतिबेला नेपालीहरूले विभिन्न धर्मको अनुसरण गर्न सुरु गरेका थिए । कौटिल्य अर्थतन्त्रमा नेपालको उत्पादन र निर्यातका बारेमा उल्लेख भएअनुसार चौथो शताब्दी जतिबेला चन्द्र गुप्ता मोरियाले शासन गर्थे, नेपाल पानीले नभिज्ने गुणस्तरीय ऊनको ब्लाङ्केटका लागि चर्चित थियो । इशापूर्व ६४८ मा चीनबाट आएका चर्चित पर्यटकहरूले नेपालको हस्तकला र कालिगढको खुलेर प्रशंसा गरेको पाइन्छ । निकै पुरानो इतिहास बोकेको नेपाली हस्तकलाको माग पछिल्लो २५ देखि ३० वर्षको अवधिमा विदेशमा समेत उच्च रूपले बढिरहेको छ । जसले गर्दा हस्तकला नेपालको प्रमुख आम्दानीको स्रोत समेत बन्न पुगेको छ । नेपालका छिमेकी मुलुक चीन तथा भारतमा समेत उच्च माग रहेको नेपालका हस्तकलाका सामग्रीहरू पश्चिमा मुलुक युरोप तथा अमेरिकामा समेत उच्च माग रहेको छ । अमेरिका, क्यानडा, जर्मनी, इटली, फ्रान्स, बेलायत लगायतका पश्चिमा मुलुकमा अर्बाैँ मूल्य बराबरका हस्तकलाका सामग्रीहरू निर्यात हुँदै आएका छन् । कतिपय अवस्थामा मागअनुसारका सामग्रीहरू पठाउन नसक्ने अवस्था समेत सिर्जना हुन्छ । राज्यलाई समेत ठूलो कर प्राप्त हुने यस क्षेत्रको विकासका लागि राज्यले पहल गर्दै लगानीको वातावरण बनाउने हो भने रोजगारीका लागि विदेश जाने नेपाली युवाहरूलाई स्वदेश हस्तकला उद्योगमै रोजगारी सिर्जना गर्न सकिने अवस्था छ । तर राज्यले यसलाई कति धेरै प्राथमिकतामा राख्छ भन्ने कुरा हालै राज्यका उच्च ओहदामा बस्नेहरूले देखाएको व्यवहारले पुष्टि गर्छ । यसले अर्काे कुरा के पनि पुष्टि गर्छ भने राज्यको महत्वपूर्ण निकायमा हुनेहरूले नै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन चाहँदैनन् । राज्यले युवाहरूलाई रोजगारीका लागि पठाउन रोजगारदाता मुलुकहरूको खोजी गर्छ । यो हामीले देखिरहेकै विषय हो । वैदेशिक रोजगारीका सिलसिलामा दैनिक कैयाँै नेपाली युवाहरूको शव भित्रिरहनु राज्यका लागि सामान्य विषय बनिरहेको छ । तर जब मुलुकभित्रै सम्भावना रहन्छ राज्य त्यसप्रति गैरजिम्मेवार बनिदिन्छ । यसरी राज्य र आफ्ना जनताप्रति गैरजिम्मेवार राजनीतिक नेतृत्वबाट मुलुकको समृद्धि सम्भव हुन्छ भनेर जनताले कसरी विश्वास गर्ने ? यसप्रति राज्य सञ्चालकहरू गम्भीर बनून् र सम्भावना बोकेको हस्तकला व्यवसाय होस् वा अन्य व्यवसाय नै किन नहोस् यस्ता क्षेत्रमा लगानी र विकास गर्न पछि पर्नु हुँदैन ।

[email protected]

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here