देशको अस्तित्वमा साँच्चै खतरा आइलागेकै हो त ?

279

–चन्द्रप्रकाश बानियाँ
‘नारायणहिटी दरबार छोडे पनि देश र जनताप्रतिको दायित्व भूलेको छैन !’ भन्ने आशयका अभिव्यक्तिहरु बेला मौकामा सार्वजनिक गर्न रुचाउने पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपतिकी छोरीको विवाहको निम्तो मान्न शीलतनिवासमा उपस्थित भएर दिन खोजेको सन्देश के होला भन्ने चियोचर्चो सडकमा बाक्लै हुन थालेको छ । ठूला घरानीया वा दरबारनिकट रहेका सभ्रान्त नागरिकहरु अथवा दरबारसँग नाता सम्बन्ध जोडिने वा नजोडिने उच्च ओहदासीन पूर्व तथा बहालवाला अधिकारीहरुका घरायसी निम्तामा राजाहरुबाट उपस्थितिको ‘निगाह बक्स’ हुने पुरानै परम्परा हो । यतिखेर ज्ञानेन्द्र शाहले ठाँटसँग त्यही परम्परा निर्वाह गरेका मात्र हुन् । अर्थात् अदना राष्ट्रतिको निम्तो स्वीकारेर उनलाई कृतज्ञ बन्नुपर्ने अवस्थामा पु¥याइदिएका हुन् । तैपनि बेलामौकामा सार्वजनिक हुने उनका अभिलाषाहरुले राजगद्दीको मृगतृष्णाबाट उनी पूरै मुक्त भइसकेका छन भन्ने अर्थ लाग्दैनथ्यो । ‘जनताले चाह्यो भने’ जनसेवाको कर्तव्य निर्वाह गर्न आफू सधैं तयार रहेको कुरा मुख खोलेर भन्न उनले छोडेका छैनन् । अर्थात् उनले यतिबेलासम्म पनि आफूलाई लामो घरविदामा बसेको देशको महाराजा नै सम्झन्छन् । अवसर पाउनासाथ महाराजकै हैसियतले र शानसँग कुनै सांस्कृतिक धार्मिक समारोहमा उपस्थिति जनाउन छुटाउँदैनन् । ‘सास रहुञ्ज्याल आशा’ भनेजस्तो कुनै दिन फेरि गद्दी–आसीन हुने अवसर आई पो हाल्छ कि भन्ने कल्पना र जनताले राजगद्दी आफ्ना पाउमा समर्पण गरिदिने उनको सपना टुटिहालेको अवश्य छैन । तर बिहेको निम्तो मान्न नै किन नहोस्, राष्ट्रपति निवासमा उपस्थित भैदिँदा गणतन्त्रलाई व्यवहारतः स्वीकारेको अर्थ लाग्दैन भन्न मिल्दैन । नारायणहिटी छोड्न बाध्य पारिँदा बसोबासको लागि सरकारसँग नागार्जुन दरबार माग्ने उनको चेष्टा लोभभन्दा राज्यको स्वामित्वको स्वीकारोक्ति प्रदर्शन गर्ने मनसायको प्रतिबिम्ब थियो भन्नुपर्छ । भित्री मनोकांक्षा जेसुकै होस्, व्यवहारमा ज्ञानेन्द्र शाहले आफूलाई गणतान्त्रिक मुलुकको सामान्य नागरिक मानेकै छन् र त्यसअनुसारको व्यवहारमा आफूलाई ढाल्ने प्रयत्न गरिरहेका छन् भन्ने कुरा यसपटक थप प्रमाणित भएको छ ।
निम्तो दिनेले दिए, स्वीकार्नेले स्वीकारे । त्यो चर्चा गरिरहनुपर्ने विषय होइन । चिया पिउनका लागि पूर्वपञ्च र पूर्व सेनापतिहरुकै टेबल रोजे । त्यो पनि चर्चायोग्य विषय होजस्तो लाग्दैन । जोसँग चिनजान र हिमचिम छ, जसले आफूप्रति अलिकता आत्मीयता र आदरभाव प्रदर्शन गर्छ उनीहरुसँग गफिन सहज लाग्ने नै भो । बरु चियागफकै सन्दर्भमा शाहको मुखारविन्दबाट निस्रित भएको भनेर सार्वजनिक चर्चामा आएको ’देश बचाउनु प¥यो !’ भन्ने पुकाराले भने निश्चय नै विशेष अर्थ राख्दछ । यतिखेर देशमाथि कुनै मुलुकले सशस्त्र हमला गरेको अवस्था होइन ! कसैले दगा धरेको जानकारी पनि छैन ! त्यस्तो धम्की धमास पनि कतैबाट आएको पनि छैन ! अर्थात् देशको अस्तित्वमा खतरा महसुस गर्नुपर्ने कुनै खण्डखातिर र कारण देखिँदैन । त्यसैले उनको आशयमा ‘चीलको तर्सो देखाएर गाउँलेका कुखुराहरु चोर्ने स्यालजुक्ति’ अन्तर्निहित छैन भन्न मिल्दैन । यहीनेर भूतपूर्वहरुकै बीचमा त्यस्तो अपिल पूर्वराजाले किन गरे भन्ने प्रश्न पनि उठ्छ । पूर्वपञ्चहरु र पूर्वजर्नेलहरुको बुता त उनीहरु भूतपूर्व नहुँदै नाङ्गेझार भैसकेकै हो । ती सबै नपड्कने बन्दुक सावित भैसकेकै हुन् । आफैँ भूतपूर्व भैसकेका राजाले उनै पानीमरुवा प्रमाणित भएका भूतपूर्वहरुसँग त्यस्तो पुकारा गर्नुको अर्थ के हो भन्ने जिज्ञासा स्वभावतः समाजमा अंकुरित भएको छ । जस–जसका बीचमा त्यस्तो पुकारा गरियो, वास्तवमा तिनीहरुकै बलबुतामा कार्य सम्पन्न होला भन्ने आशा र विश्वास पूर्वराजामा अवश्य थिएन । ‘छोरी कुटेर बुहारी तर्साउने’ भनेजस्तो दारानङ्ग्राविहीन भूतपूर्वहरुको मेलामा आफ्नो मनोकांक्षा पोखेर शाहले आत्मतुष्टि लिन मात्र खोजेका हुन् भनेर पत्याउन सकिँदैन । भूतपूर्वहरुको नाममा शाहले सिंगो मुलुकसमक्ष आह्वान गरेका हुन् । पोखरीमा सानो ढुङ्गो फालेर तरङ्ग सिर्जना गर्न खोजेका हुन् । मुलुक खतरामा परिसक्यो । आसन्न संकटबाट पार लगाउने तागत राजसंस्थासँग मात्रै छ । त्यसैले संस्था पुनर्जीवित गराइदेऊ भनेर आम नेपालीलाई सन्देश दिन खोजेका होइनन् भन्न मिल्दैन ।
गुमेको सम्पत्ति सुविधा फिर्ता पाउने लालसा राख्नु कुनै अपराध होइन । तर जनताले खोसेको गद्दी पुनः प्राप्तिको उद्योग गर्नु निश्चय नै गैरसंवैधानिक चेष्टा ठहरिन्छ र त्यो कानूनतः अपराध मानिन्छ । ज्ञानेन्द्र शाहबाट आजका मितिसम्म अपराध भन्न मिल्नेगरी कुनै गैरसंवैधानिक गतिविधि भएको छ जस्तो लाग्दैन । तैपनि शाहजीलाई सम्झाउन मनलागेको कुरा के हो भने ‘गद्दी तरबारको बलमा’ प्राप्त हुने कुरा हो । तरबार शक्तिको प्रतीक प्रतिविम्ब हो । राणाशाहीलाई जनताले बलपूर्वक अर्थात् शक्ति प्रयोग गरेरै हटाएका हुन् । बीपी कोइरालाको जननिर्वाचित सरकारलाई पदच्यूत गर्न समेत राजा महेन्द्रले बल प्रयोग गरेका हुन् । पञ्चायतलाई जनताले बलपूर्वक आर्यघाट पु¥याएका हुन् । स्वयम् ज्ञानेन्द्र शाहको हातबाट सत्ता फिर्ता लिन पनि जनताले शक्तिको प्रयोग गरेकै हुन् । त्यतिबेलासम्म माओवादीको हातमा हतियार नभैदिएका भए ज्ञानेन्द्र शाहलाई अधिकारबाट हात धुनु परे पनि गद्दीत्याग गर्न बाध्य हुनुपर्दैनथ्यो होला । ४७ साले संविधानले अर्धसंवैधानिक हैसियतमा राखेको राजसंस्था पूर्ण संवैधानिकसम्म हुँदो हो । कमसेकम सांस्कृतिक राजसंस्थाको अस्तित्व बाँकी अवश्य रहन्थ्यो । माओवादीको हातमा रहेको बन्दुकले नै राजसंस्थाको पूर्ण उन्मूलन हुने परिस्थिति निर्माण गरेको हो । सत्तासँग शक्तिको गहिरो सम्बन्ध रहन्छ । शक्तिविना सत्ता हस्तगत हुने कल्पना ‘मृगमरिचिका’ मात्र हो । साँच्चै सत्ताको लालसा हो भने मैदानमा उत्रने उपयुक्त समय आएको छ । ‘कि हस्तिनापुुरको रजाईं कि चपरीमुनीको बास’ भनेर अखाडामा लगौटी कसेर उत्रने हो भने ‘वार कि पार’ हुनेछ । तराजुको पलडा शाहकै पक्षतिर गरुङ्गो बन्दै जान थालेकोे छनक देखिएको छ ।
जनबलद्वारा किनारा लगाइएको राजसंस्था पुनस्र्थापनाको सम्भावना छदैं छैन भन्न नसकिने परिस्थिति निर्माणको श्रेय भने यो देशका राजनीतिज्ञहरुलाई जान्छ । त्यस्तो परिस्थिति निर्माणमा पूर्वराजाको कुनै भूमिका छैन । खासगरेर, यतिबेला प्रतिपक्ष किनारातिर धकेलिएका कथित कम्युनिष्टहरु एमाले, जनमोर्चा, नेमकिपा, मैनाली नेतृत्वको मालेलगायतका दलहरुमा सत्ताच्यूतको पीडाले सन्निपातको स्थिति उत्पन्न गरिदिएको छ । आयुर्वेदिक चिकित्सा विज्ञानले सन्नीपातको स्थितिलाई ‘अर्थबेहोसी’ को अवस्था मान्छ । त्यस्तो अवस्थामा विरामी बेहोसीमा बर्बराउन थाल्छ । त्यो राजनीतिक कित्तामा यतिबेला नक्कली राष्ट्रवादको अनौठो नसा (मात) चढेको छ । नसा आखिर नसा नै हो । नसामा मान्छेले होस गुमाउँछ । विवेकशून्य स्थितिमा पुग्दछ र गर्नुपर्ने नपर्ने÷गर्नुहुने नहुने कुराहरु गर्न थाल्छ । आफ्नो बेसुरको कर्तुतको परिणाम सकारात्मक वा नकारात्मक के कस्तो हुनेछ भन्ने कुराको ख्याल गर्दैन । गर्न सक्तैन । हो, त्यही सन्नीपातग्रस्त राजनीतिक समूहले प्रदेश विभाजन सीमांकनको विषयलाई देश विखण्डनको रुपमा अथ्र्याउन थालेको छ । जनताको परामर्शविना आफ्नै मनोमानीमा निर्धारण गरिएकोे प्रदेशसीमा चलाउँदा राष्ट्रघात हुने ठम्याउँछ । पहाड र मधेश, मधेशी र पहाडीलाई भावनात्मक रुपमा एकीकृत बनाउन साँघुरो कोठामा निसास्सिने गरी थुन्नुपर्छ भन्ने मान्यता राख्दछ । मधेशी जनजातिहरु सबैलाई उनमूक्त ढंगले स्वास लिनसक्ने सहुलियत प्रदान गर्ने हो भने मुलुक विखण्डन भइहाल्छ भनेर बर्बराउँछ । राष्ट्रघात हुनथाल्यो, राष्ट्र विखण्ड हुन थाल्यो, देश बेचविखन हुन आँट्योे भनेर त्यही विवेकशून्य समूहले पैmलाउन थालेको हल्लाबाट धमिलिएको पानीमा जाल हान्दा माछो हात लागिहाल्छ कि भन्ने आशा ज्ञानेन्द्र शाहमा पलाउनु स्वाभाविक हो । वास्तवमा देशको अस्तित्व, अखण्डता, स्वाधीनता र सम्प्रभुतामा आँच आइहाल्ने परिस्थिति उत्पन्न भएको छ भनेर कोकोहोलो मच्चाउनु समाजमा काल्पनिक त्रास सम्प्रेषण गर्ने दूराशय मात्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here