कमरेड प्रचण्डलाई पढ्न फुर्सद होला ?

170

निमकान्त पाण्डे
गल्तीहरु सच्याउन सहयोग हुने उनका दर्जनौं गल्तीहरु
समकालीन नेपाली राजनीतिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ यस्तो नाम हो जसका बारेमा चाहेर वा नचाहेर पनि उनका बारेमा गरिने सकारात्मक वा नकारात्मक चर्चा नसुनेर सुखै छैन । विगत २० वर्षयता नेपालको राजनीति उनै प्रचण्डकै वरिपरि घुमिरहेको छ । चाहे १० वर्षे सशस्त्र युद्धका बेला होस् वा शान्ति प्रक्रियामा प्रवेश गरेपछि । सकारात्मक वा नकारात्मक रुपमा उनी नै चर्चाको केन्द्रमा रहिरहेका छन् ।
नेपालमा ०५२ फागुन १ देखि सुरु भएको माओवादी आन्दोलन लगभग १० वर्ष चलिरहयो । त्यस अवधिमा भलै प्रचण्ड भूमिगत जीवन बिताइरहेका थिए । तर नेपालको राजनीतिलाई उनको भूतले सधैं त्रसित बनाई रहयो । राज्य सशस्त्र हातहतियारले सुसज्जित थियो । तर प्रत्यक्ष नदेखिएको व्यक्तिको भूतसँग हतियारले सुसज्जित त्यही राज्य त्राहीत्राही बनिरहेको थियो । नेपालमा मात्र होइन विश्व समुदायका बीचमा पनि प्रचण्ड नाम एउटा चुनौती बनिरहेको थियो । माओवादी द्वन्द्वलाई शान्तिप्रक्रियामार्फत समाधानको बाटो अनुमोदन गरिसकेका केही वर्षसम्म पनि ‘प्रचण्ड’ नामले राज गरिरह्यो । समर्थकहरुबाट मात्र होइन विरोधीहरुबाट समेत समर्थन पाएकै कारण द्वन्दबाट शान्तिप्रक्रियामा प्रवेश गरेको माओवादी संविधानसभाको पहिलो निर्वाचनमार्फत सबैभन्दा ठूलो दल मात्र बनेन, शहरलाई आफ्नो आधार ठान्ने दलहरुलाई समेत एउटासम्म सिट नदिई बहुसंख्याक जनमत आफ्नो पक्षमा पार्न सफल बन्यो ।
भलै माओवादी आन्दोलनलाई एउटा उचाइमा पु¥याउनेदेखि शान्तिप्रक्रियामा प्रवेश गरेर सबैभन्दा ठूलो दल बन्नुका पछाडि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुको भूमिका निकै महत्वपूर्ण थियो । तर एउटा नेतृत्वको हिसाबले त्यसको जस प्रचण्डलाई जानु स्वाभाविक थियो र गयो पनि । वर्गविहीन समाजको विकास गर्दै समृद्ध नेपालको निर्माण गर्ने माओवादी आन्दोलनलाई नेतृत्व गरेका प्रचण्डले एक पछि अर्काे छलाङ लगाउँदै अर्थात् उनकै भाषामा भन्नुपर्दा ‘ब्रेक थ्रु’ गर्दै गणतन्त्र नेपालको पहिलो कार्याकारी प्रमुखको भूमिकासम्म पुग्न सफल बने पनि । तर उनको त्यो ब्रेक थ्रुको फर्मुलाले धेरै दिन काम गर्न सकेन । शान्तिप्रक्रियाको एउटा चरण पार गर्दासम्म प्रचण्डको अग्रगामी छलाङ नराम्रोसँग धरमराइरहेको छ । कुनै बेला प्रशंसाले शिखर चुमिरहेका प्रचण्ड वर्तमान राजनीतिक परिवेशका सर्वाधिक आलोचनाका पात्र बनिरहेका छन् । यस्तो अवस्था किन सिर्जना भयो ? जसले प्रचण्डलाई नायकबाट खलनायकको बाटोतर्फ अघि बढाईरहेको छ ? यसै विषयमा हामीले चर्चा गर्ने प्रयास गरेका छाँै ।
वर्गीय मुद्दाको सट्टामा जातीय र क्षेत्रीय मुद्दा
वर्गीय मुक्ति र विभेद अन्त्य गर्न भन्दै सुरु भएको सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड समक्ष नेपालका बहुसंख्यक जनताको ठूलो भरोसा थियो । केही सम्पन्न र शासक मानसिकता भएका व्यक्तिको स्वार्थ अनुकूल राज्य सञ्चालन हुने प्रवृत्ति तथा सहर तथा सुगम क्षेत्रमा मात्र राज्यको पहुँच पुग्ने नेपालजस्तो मुलुकमा जनताको अधिकारका लागि लड्छु भन्ने वैकल्पिक शक्तिप्रति जनताको सहानुभूति र समर्थन हुनु स्वाभाविक थियो । जसलाई प्रचण्डले प्रयोग गर्न सफल भएका थिए ।
एकातर्फ नागरिकसम्म राज्यको पहुँच पुगेको थिएन भने अर्काेतर्फ राज्यको पहुँच पुगेका ठाउँमा समेत नागरिकले राज्यको अनुभूति गर्नुको सट्टा प्रताडित हुनुपर्ने विडम्बना थियो । त्यसमाथि राजामहाराजाहरुले रइस र सुखसयलको जीवन विताईरहँदा बहुसंख्यक नेपालीहरुलाई बिहान बेलुका के खाने भन्ने समस्याले पिरोली रहन्थ्यो । जसले गर्दा आर्थिक रुपमा कमजोर तथा मध्यमवर्गीय समुदायको समर्थन माओवादी आन्दोलनप्रति रहनु स्वाभाविक थियो । तर जब माओवादी उत्कर्षतर्फ अघि बढ्दै थियो, विस्तारै माओवादी वर्गीय मुद्दाबाट डाइभर्ट हुँदै गयो । शान्तिप्रक्रियामा प्रवेश पछि त माओवादीले उठान गरिरहेका वर्गीय मुद्दाहरु जातीय र क्षेत्रीय मुद्दामा परिवर्तित हँुदै गए । ग्रामीण क्षेत्रबाट माओवादी आन्दोलनलाई दिलो ज्यान दिएर लाग्नेहरु माओवादी आन्दोलन सहर पसेसँगै रोजगारीका लागि खाडी मुलुक जान बाध्य भए । जब कि माओवादीले सहर केन्द्रित हुँदै जातीय र क्षेत्रीय आन्दोलनलाई चर्काइरह्यो । गरिब तथा शोषित पीडितहरुको साझा आन्दोलनका रुपमा विकास भएको माओवादी आन्दोलन बहुसंख्यक गरिब तथा मध्यमवर्गीय नेपालीहरुको एजेण्डामा अडिग गराउन नसक्नु नै माओवादी नेतृत्वको निकै ठूलो गल्तीसिद्ध भयो । जसको परिणाम पहिलो संविधानसभामार्फत सबैभन्दा ठूलो बनेको माओवादी दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा तेस्रो तर सांसद संख्याको हिसाबले निकै सानो दल बन्न पुग्यो । माओवादी आन्दोलनको ट्रयाक परिवर्तन गराउनु नै प्रचण्डको निकै ठूलो गल्ती थियो । माओवादी आन्दोलनले शान्तिप्रक्रियामा प्रवेश गर्दासम्म पहिले नै उठान गरेका एजेण्डाहरुको ट्रयाक छोडिसकेको प्रचण्डकै पूर्व सहयात्री तथा क्रान्तिकारी माओवादीको उपाध्यक्ष सिपी गजुरेल समेत स्वीकार गर्छन् ।
नागरिकता विधेयकमा सहमति
तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एउटा ठूलो गल्ती अर्थ विधेयकका रुपमा कांगे्रस र एमालेले संसदमा प्रवेश गराएर पारित गराउन असफल भएको नागरिकता विधेयकलाई युद्धपश्चात् शान्ति प्रक्रियामा आएपछि सबैभन्दा महत्व त्यसैलाई दिएर पारित गर्नु थियो । विदेशी नागरिकलाई नागरिकता दिने गरी ल्याइएको नागरिकता विधेयकमा पार्टीभित्र व्यापक असन्तुष्टि र विरोध हुँदाहुँदै पनि प्रचण्डले ल्याप्चे लगाउँदै पारित गर्न सहयोग गरे । जसका कारण लाखाँै गैर नेपालीले नेपाली नागरिकता हात पार्दै तराई क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्न सफल भएका छन् । सिधै भन्दा राष्ट्रवादको बहस गरेर नथाक्ने प्रचण्डकै कारण लाखाँै विदेशीहरु खासगरी भारतीय नागरिकहरु नेपाली नागरिकता हात पार्न सफल भए । जुन नेपालका लागि निकै चुनौती बनिरहेको छ । करिब १५ वर्षदेखि संसदमा उठिरहेको नागरिकताको प्रसंगलाई नागरिकता विधेयकमार्फत पारित गर्न प्रचण्डले जुन किसिमको भूमिका निर्वाह गरे त्यसबाटै प्रचण्डप्रतिको भरोसा धर्मराइरहेको थियो । पछिल्लो समय नागरिकता विधेयकका कारण मुलुकले वर्तमान अवस्थामा जुन किसिमको चुनौती र समस्या भोगिरहेको छ, त्यसले नागरिकता विधेयक पारित गराउने अन्य दलसँगै प्रचण्डमाथि पनि प्रश्नचिह्न खडा भइरहेको छ ।
आफँैले अस्वीकार गरेको व्यवस्थाको प्रवद्र्धन
सशस्त्र युद्ध गरिरहेको तत्कालीन नेकपा माओवादी तथा त्यसको सुप्रिम कमाण्डरको रुपमा प्रचण्ड आफैले पटकपटक बोल्ने गरेको कुरा हो संसद् भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो ।’ संसदीय व्यवस्थाले नेपालको हित नगर्ने भनेरै प्रचण्डले जनवादी सत्ता स्थापनार्थ सशस्त्र युद्ध सुरु गर्नुपरेको पटकपटक दोहो¥याउने गर्थे । परन्तु वर्तमान संसदीय व्यवस्थाका सबैभन्दा ठूला प्रवद्र्धक स्वयं प्रचण्ड बनिरहेका छन् । जनतालाई जनवादी सत्ताको आशा देखाएर संसदीय व्यवस्थामा चुर्लुम्मै डुबिरहेका प्रचण्डको भूमिकाले उनी आफै जनताको माझमा झुठ सावित भइरहेका छन् । अर्थात् जनतालाई एउटा व्यवस्थाको सपना देखाएर अर्कै व्यवस्थाको प्रवद्र्धन गर्ने उनको शैली खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रवृत्तिसँग मिलिरहेको छ । उनको यही गल्तीका कारण उनीमाथि ठूलो आशा, भरोसा र विश्वास गरिरहेका नेपाली जनता निराश हुँदै उनको साथ छोड्नु पर्ने बाध्यता बनिरहेको छ । तर यति ठूलो गल्तीप्रति उनमा कुनै पश्चाताप देखिँदैन ।
सहकर्मीलाई त्यागेर अप्राकृतिक गठबन्धनतर्फ
माओवादी शान्तिप्रक्रियामा प्रवेश गरेसँगै प्रचण्डका पूर्व सहयात्रीहरुले धमाधम साथ छोडिरहेका छन् । प्रचण्डका गुरु मानिने मोहन वैद्य किरणसहितको ठूलो समूहले साथ छोड्यो । माओवादी फुटको मुख्य कारण पार्टी नेतृत्वले पार्टीको कार्यदिशालाई त्याग्नु प्रमुख कारण थियो । पार्टी फुट्दै गर्दा मोहन वैद्य समूहले लगाएको आरोप पनि त्यही नै थियो । तर प्रचण्ड पार्टी फूटको कारण खोज्नतर्फ नलागी निरन्तर रुपमा अघि बढिरहे । कतिसम्म भने तत्कालीन माओवादी पार्टी सानोसानो समूहमा विभक्त हुँदासम्म प्रचण्डले आफूबाट भएको गल्तीलाई स्वीकार गर्दै गए, परन्तु सच्याउन तयार देखिएनन् । माओवादी आन्दोलनका महत्वपूर्ण सहयात्रीहरुले साथ छाड्दा समेत त्यसप्रति कुनै चासो नदिँदै वर्तमान अवस्थासम्म आइपुग्दा प्रचण्डको सहकार्य त्यही शक्तिसँग भइरहेको छ, जसका विरुद्ध उनले १० वर्षे सशस्त्र आन्दोलन गरेर १६ हजार नेपालीलाई रगत बगाउन लगाएका थिए । माओवादी आन्दोलनको मर्म र सहयात्रीहरुको साथलाई समेत लत्याउँदै सत्ताका लागि अप्राकृतिक गठबन्धन बनाउन पनि तयार हुने उनको यही प्रवृत्ति नै वर्तमानमा उनी अलोकप्रिय हुने एउटा कारण बनिरहेको छ ।
माओवादी आन्दोलनका सारथीहरुको अवमूल्यन
माओवादी आन्दोलनमा ज्यानको प्रवाह नगरी प्रचण्डको एक आदेशमा मर्न तयार हुने बहुसंख्यक कार्यकर्ता अहिले प्रचण्डको पहुँचभन्दा टाढा छन् । नेतृत्वले देखाएको सपना र बाटो फरक देखिएपछि जनयुद्धकालीन माओवादी कार्यकर्ताहरु या त जीवन यापनको माध्यम खोज्न खाडी भासिएका छन्, या विभिन्न समूहमा विभक्त भएका छन् । खोला तरेर लौरो बिर्सने भनाइलाई चरितार्थ गराउँदै माओवादी नेतृत्वले जनयुद्धकालीन कार्यकर्ता, सहिद परिवार, घाइते, अपांग तथा बेपत्ता परिवार तथा अयोग्य लडाकुहरुको व्यवस्थापनतर्फ ध्यान दिनुको सट्टा आर्थिक प्रलोभनमा गैरमाओवादीहरुलाई अवसर दिने प्रवृत्तिले नेतृत्वप्रति माओवादी कार्यकर्ता तथा शुभचिन्तकहरुमा नराम्रो छाप परिरहेको छ । आफूलाई महत्वपूर्ण स्थानसम्म पु¥याउने नेता कार्यकर्ताहरुको सही मूल्यांकन गर्न नसक्नु प्रचण्डको अर्को र महत्वपूर्ण ठूलो गल्ती हो ।
राष्ट्रियताको मुद्दालाई तिलाञ्जली
कुनै समय थियो राष्ट्रियता र प्रचण्ड एकअर्काका परिपूरक जस्तै मानिन्थे । माओवादी आन्दोलनताका नै नेपालको राष्ट्रियतालाई भारतबाट चुनौती रहेको भन्दै माओवादीले सुरुङ युद्ध नै सुरु गरेको थियो । शान्तिप्रक्रियामा प्रवेश गरेपछि पनि प्रचण्डले हरेक ढंगले नेपालको राष्ट्रियतामाथि विदेशी हस्तक्षेप भइरहेको भन्दै जनतालाई सचेत गराउने गर्थे । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीका रुपमा नौ महिना सत्तारोणपछि राजिनामा दिँदै गर्दा प्रचण्डले भनेका थिए, ‘नेपालको प्रधानमन्त्रीको हैसियत भारतको एउटा राज्यको मुख्यमन्त्री सरह पनि हुँदो रहेनछ ।’ पहिलो पटक प्रधानमन्त्री भएलगत्तै परम्परालाई तोड्दै पहिलो भ्रमण चीन गरेका उनले संविधान निर्माण गरेसँगै खुल्ला मञ्चबाट भारतलाई चुनौती दिँदै आफू ‘एसम्यान’ नबन्ने उद्घोष गरेका थिए । त्यो उनको उद्घोष अर्थात् प्रतिबद्धता एक वर्ष पनि टिकेन । संविधान निर्माण गर्दा होस् अथवा मुलुकको हितमा लाग्दा कसैको दबाब वा प्रभावमा नपर्ने अडान लिएका प्रचण्डले संविधान जारी भएको एक वर्ष पूरा नहुँदै आफ्नो अडानबाट धर्मराउँदै आफैले जारी गरेको संविधानलाई अपुरो भन्दै संसोधनका लागि जोडतोडले लागिपरेका छन् । भारतले तराईलाई क्रिमिया वा पूर्वी पाकिस्तान बनाउन लागेको भरपर्दाे सूचना आफूले पाएको दाबी समेत गरेका उनै प्रचण्ड हाल पहाडबाट जसरी पनि तराई टुक्र्याउनुपर्ने भारतको स्वार्थ पूरा गराउने अभियानमा लागेका छन् भने तराईलाई स्वतन्त्र बनाउनुपर्ने अभियान सञ्चालन गरिरहेका सिके राउतलाई विना रोकटोक देश टुक्र्याउने अभियान सञ्चालनका लागि प्रचण्ड नेतृत्वको सरकारले नै सहज वातावरण बनाइरहेको छ । प्रधानमन्त्रीका रुपमा दोस्रो पटक भारत भ्रमणमा जाँदा प्रचण्डले अन्तर्राष्ट्रिय फोरममा नेपाल र भारतको साझा एजेण्डा हुने भन्ने सम्झौतामा सहमति गरेपछि त कतिपयले उनले नेपाललाई भुटानीकरण गरेकोसम्म आरोप लगाउने गरेका छन् । सार्क राष्ट्रहरुको सम्मेलन गर्ने विषयमा अध्यक्ष राष्ट्रका हिसाबले नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा भारतीय दबाबमा नेपालले जुन किसिमको धारणा बनायो अर्थात् छोटो अवधिमा तीनवटा विज्ञप्ति निकाल्दै भारतको समर्थनमा उत्रियो, यसका पछाडिसमेत भारतसँग प्रचण्डले गरेको सहमति नै प्रमुख कारण रहेको दाबी गर्नेहरु छन् । आम जनताले प्रचण्डलाई राष्ट्रवादी नेताका रुपमा हेरेका थिए, तर प्रचण्डले पछिल्लो समय एकपछि अर्काे गर्दै राष्ट्रहित विपरीत काम गर्दै गइरहेका छन् र त्यसैलाई आफ्नो ब्राण्डका रुपमा स्थापित गरिरहेका छन् ।
माथि प्रस्तुत गरिएका केही बुँदाहरु प्रचण्डले गरेका केही प्रतिनिधिमूलक गल्ती कमजोरीहरु मात्र हुन् । उनले गरेका साना, मसिना गल्तीहरु उल्लेख गरेर पनि सम्भव हुँदैन । तथापि उनमा रहेका अस्थिर स्वभाव, आफैँले बोलेका वा गरेका कुराको जस लिन नसक्नु, क्षणिक आवेगमा आउनु, एउटाको प्रशंसा गर्दा अर्काेलाई चिढाउनु, आफ्नो वैचारिक धरातललाई बिर्सनु जस्ता कैयाँै यस्ता गल्तीहरु छन्, जसले उनको लोकप्रियतालाई कमजोर मात्र बनाएको नभई धरापमै पारिरहेको स्पष्ट छ । तर उनी गल्तीहरुलाई सच्याउनुको सट्टा कमजोरीमाथि कमजोरी थप्ने प्रयासमा निरन्तर अघि बढिरहेका छन् । यी हरफहरुले सुझावको काम गर्न सकून् र प्रचण्डको पक्षमा कलम चलाउने आधार प्राप्त होस्, यही कामनाका साथ यसपटकलाई यत्ति !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here