–चन्द्रप्रकाश बानियाँ
यतिखेर नेपालमा अनौठो राष्ट्रवादको ‘विकासे खेती’ मौलाएको छ । नाइट्रोजनको मात्रा बढी परेको बाली हेर्दा रहरलाग्दो भए पनि फल दिँदैन । हाम्रो गाउँघरतिर त्यस्तो खेतीलाई ‘भाप्रियो’ भन्ने चलन छ । युरीयाको मात्राधिक्यबाट हस्किएको बाली परिणाममा नोक्सानदायक हुन्छ । नयाँ शक्ति होस् वा माओवादी केन्द्र अथवा नेपाली काँग्रेस नै किन नहोस्, उनीहरुका नेता कार्यकर्ताहरुबाट कहीँ कतै राम्रो काम भइहालेको देखियो र प्रशंसा गर्ने गल्ती गरियो भने राष्ट्रघाती, डलरवादी वा भारतीय गुलामको पगडी पाउनु अनिवार्य नियति बन्छ । अझ एमाले, जनमोर्चा, राप्रपा वा ज्ञानेन्द्र शाहका चारआने कार्यकर्ता वा समर्थकहरुका गलत क्रियाकलापतिर संकेत मात्र गर्ने हो भने राष्ट्रघाति कित्तामा नाम लेखियो भनेर जाने हुन्छ । कस्को कस्तो आचरण व्यवहारका कारणले देश, समाज र जनतालाई परिणाममा के कति हानी नोक्सानी भयो अथवा हितकल्याण भयो भनेर कसैले विश्लेषण गर्ने कष्ट गर्दैन ।
भेडा गोठालाहरुले भेडाको पिठ्युँमा दलिएको रङ हेरेर आप्mनो र पराई भेडो छुट्टयाएजस्तै मान्छेको कित्ता छुट्टयाउने सबभन्दा सजिलो तरिका बनेको छ कथित ‘राष्ट्रवाद’ । कसैको भजन गाउनुहोस्, तुरुन्त राष्ट्रवादी ! अन्धभक्त बन्न इन्कार गर्नुहोस्, राष्ट्रघाति ! मान्छेले आफ्नो विवेकको स्वतन्त्र उपयोग गर्न पनि नपाउने भो । अन्तर्मनले खुट्टयाएको सत्य अभिव्यक्त गर्न डराउनुपर्ने भो । यतिखेर राष्ट्रवादको झण्डा उठाउनेहरुका हातहरु हिजैसम्म राष्ट्रघातको दुर्गन्धित तलाउमा चोबलिएका पो थिए कि भनेर हेर्नेबुझ्ने कसैलाई फुर्सद छैन । उनीहरुको अनुहार निकट भूतसम्म त्यो मामलामा कति कलुषित थियो भन्ने ख्याल पनि कसैले गर्दैन । यतिखेर मुलुकमा अन्ध राष्ट्रवादको आँधीबेरी नै आएको छ ! हो, त्यही मनोविज्ञानबाट आफूलाई देशकै अब्बल क्रान्तिकारी सम्झने पार्टीका नेताहरु पनि नराम्रोसँग प्रभावित रहेछन् भन्ने कुरा पछिल्लो खुलामञ्चको भाषण श्रवण गर्दा स्पष्ट हुन आयो ।
नेपालका कम्युनिष्टहरुले गायत्रीमन्त्रझैं साँझ बिहान जप्ने एउटा थेगो हो– ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ ! यो वाक्यांश आफैमा भाषा अनुवादमा ढंग नपुगेको एउटा अब्बल उदाहरण हो । खयर, भाषा जस्तो भए पनि त्यसले एउटा सुन्दर भाव सम्प्रेषण गर्छ । त्यसैले अन्यथा अर्थमा लिनु आवश्यक नहोला । तर त्यो भावलाई नेपाली कम्युनिष्टहरुले व्यवहारमा कसरी प्रयोग गर्दारहेछन् भन्ने कुराको सर्वाधिक कुरुप नमुना विप्लव माओवादीहरुका नेताहरुले अस्ति मात्र काठमाडौंको खुलामञ्चबाट सार्वजनिक गरेको देखियो । उनीहरुको कम्युनिष्ट चिन्तनले सदियौंदेखि चल्दै आएको क्षेत्रीय विभेद र शोषण देखेकै रहेनछ । जातीय विभेद त झन् अनुभूत गर्ने कुरै भएन । मुलुकले किन र कुन कारणले संघीय व्यवस्थाको आवश्यकताबोध गरेको हो भन्ने कुराको जानकारी पनि राख्दा रहेनछन् । तत्कालीन मालेले २०३६ सालको जनमत संग्रहको बहिस्कार गर्ने नीति लिएको थियो । त्यसका पछाडि ‘जनवादी व्यवस्था स्थापनाका निमित्त संसदीय प्रजातन्त्र भन्दा राजशाही सजिलो हुन्छ’ भन्ने मान्यता राखिएको थियो रे ! अर्थात् जनवादी व्यवस्था स्थापनाका नाममा तुलनात्मक रुपमा प्रगतिशील मान्नुपर्ने बहुदलीय प्रजातन्त्रलाई हराउने र सामन्तवादी निरंकुश पञ्चायत व्यवस्थालाई सहयोग पु¥याउने नादानी भएथ्यो । तत्कालीन मालेको केटौले क्रान्तिकारिताले सामन्तवादको पृष्ठपोषण गरेको थियो । विप्लव माओवादीले एमाले र जनमोर्चासँग मात्र होइन, राप्रपासँग पनि दुरुस्त भाका मिलाएको सुनियो । काँग्रेस, माओवादी केन्द्र र नयाँ शक्तिहरुले भारतीय विस्तारवादसमक्ष आत्मसमर्पण गरे भनेर आरोप लगाउने विप्लव माओवादीले दोश्रो पक्ष राजी हुने हो भने नक्कली राष्ट्रवादसमक्ष आत्मसमर्पण गर्न तयार रहेको आभास गरायो ।
विद्रोहको झण्डा सत्तासाझेदारीको गन्धे नालीमा चोबल्ने मूर्खता गरिने छैन भन्ने आशा गर्नै प¥यो । आम शोषित, उत्पीडित नेपालीको साझा मुक्तिदाताको रुपमा विप्लव माओवादीलाई देख्न भोग्न पाइयोस् । कथम् वर्तमान नेतृत्वले धर्म छोडेछ भने पनि आन्दोलन नमरोस् । नेतृत्वले सत्तासँग साटेको झण्डा खोसेर सगरमाथाको उचाइमा पु¥याउने अर्को दृढ, सबल र इमान्दार नेतृत्व जन्मोस् । भविष्यको सफल जनक्रान्तिको सपना देख्दै वर्तमानको शोषण, उत्पीडन र विभेदको विद्रुप विपनामा जिउन विवश आम नेपालीको साझा चाहना र भावनामा कुठराघात नहोस् । ‘सबै जोगी कानै चिरेका’ भनेर जनताले गुनासो गर्नुपर्ने दिनको पुनरावृत्ति नहोस् । नेतृत्वले संकेत गरेको डोरेटोतिर हेर्दा नेपालीहरुको भित्री मनबाट उत्पन्न हुने सुस्केराको भावानुवाद सायद यस्तै हुन्छ होला ।
ज्ञानेन्द्र शाहले त्यसरी मुख खोलेका छैनन् तर यतिखेर ‘एमाले ब्राण्डको राष्ट्रवाद’ विप्लव माओवादी, जनमोर्चा, नेमकिपादेखि एकीकृत राप्रपासम्मले एकै स्वर र लयमा प्रशंसाको गीत गाउने साझा विषय बनेको छ ! राष्ट्रवादको झण्डा उठाउने एमाले हातहरु निकटभूतसम्म कति स्निग्ध र पवित्र थिए भनेर पर्गेल्ने हो भने निर्धक्क भन्न सकिने एउटै शब्द भेटिन्छ ‘सर्वाधिक बदनाम’ ! यो आग्रह होइन, धु्रवसत्य हो । पछिल्लो भारतीय नाकाबन्दीको बेला देखाएको जनतालाई राहत होइन, थप आहत बनाउने राष्ट्रवादी अडानको अन्तर्यमा ‘दोस्रो मरिचमान’ बनेर मर्ने लालसा हो भनेर यही साप्ताहिकमा लेखेबापत झण्डै गोदाई खानु परेको तितो अनुभव छ । कसैलाई मन परे पनि नपरे पनि, कसैले पत्याए पनि नपत्याए पनि सत्य त्यही थियो । जिन्दगीभर जसको मानु खाएर गुजारा ग¥यो, जसको गुणगान प्रशस्ति गाएर समय बितायो, जसको चाकडीमा लम्पसार पर्नु गौरव ठान्यो, सीमा मिचियो भनेर आवाज उठाउने विद्यार्थीहरुको खिल्ली उडायो, मानमर्दनमा उत्रियो, उसैले जीवनको सन्ध्याकालमा व्यर्थको अडान देखायो भन्दैमा महान् राष्ट्रवादी कहलिने सौभाग्य पाउनु कुरुप व्यंग्यको अनुपम नमुना होइन कसरी भन्नु ? रत्नाकर वाल्मीकिमा रुपान्तरित भएको मिथक अघि सारेर जो कसैले पनि सुध्रने सच्चिने मौका पाउनुपर्ने तर्क गर्नेहरु पनि देखिए ! सुध्रनुको अर्थ के हो ? सुध्रेको परिमाण मापन गर्ने आधार केलाई मान्ने ? त्यस्तो सुध्राई श्रीमद्भागवत कथाको ‘अजामील’को नारायण भक्तिभन्दा कुन अर्थमा फरक थियो भन्न मिल्छ र ? प्राण जाने बेलामा अजामिलले गरेको नारायणको पुकारा देवभक्ति थिएन । त्यो उसको पुत्रमोह थियो । दुरुस्तै एमाले नेताको जब्बर अडान पनि जीवनको सन्ध्याकालमा ‘मरिचमान’ बन्ने लालसाको चित्कार थियो । त्यो नादान चेष्टामा न जनताको चिन्ता थियो न देशको माया ?!
जसले देशको दक्षिणी सीमा चुरेलाई सम्झने नादानी ग¥यो, जसले नेपाली भनेर एउटा जातिलाई मात्र ठान्ने मूर्खता ग¥यो, देशको आधा जनसंख्याको घोर उपेक्षा ग¥यो, दुई तिहाइ मधेशी, जनजाति र दलितको अपमान गर्दै रह्यो । खसेत्तर जातजातिलाई नागरिक नै नमान्ने संकीर्ण चिन्तन देखायो, उसैले महान् राष्ट्रवादीको बिल्ला पायो ! कैयौैं विद्वान्, बुद्धिजीवी र लेखन्तेहरुले राजनेताको पगडीसमेत पहि¥याउने कुरुप प्रहसन प्रदर्शन गर्न लाज मानेनन् । अझै त्यो अभियानमा जोतिएकै छन् । अप्ठेरो परिस्थितिमा देशलाई सम्हाल्ने विशाल छाति र दुरदृष्टियुक्त नेतृत्व राजिनेताको पगरी पाउन योग्य मानिन्छ । जसले नितान्त निजी आग्रह तुष्टिका लागि नश्लवादलाई प्रश्रय र प्रोत्साहन दियो, जनताबीच उचनीच, सभ्य असभ्य, मालिक र दासको जस्तो विभेद चर्कायो, त्यस्तो प्रवृत्तिको साँचो परिभाषा त ‘नराधम’ हुनुपथ्र्यो ।
खोई ! के भएको हो कुन्नी ? आफूलाई अब्बल क्रान्तिकारी भनाउन रुचाउनेहरुदेखि सामन्तवादी चिन्तकहरु सबैको साझा गीतको थीम एउटै हुनु “आठौैं आश्चर्य” होइन कसरी भन्नु ? सुनको मृग हुदैन भन्ने सामान्यज्ञान बिर्सेर मर्यादापुरुष राम कालनेमीको मायामृगका पछि कुदेको पौराणिक कथा पछयाउदै नक्कली मयुरहरुको पछि मेरो देश कतिञ्ज्याल कु्द्ने होला कुन्नी ? यसरी आँखा चिम्लेर कागको पछि दौडने हो भने पट मुर्ख ठहरिने मात्र होइन, गम्भीर दुर्घटनाको शिकार भइने छैन भनेर कसरी ढुक्क हुन सकिन्छ र ? सबै कुरा समाप्त भैसकेपछि चेत्नुलाई बुद्धिमानी भन्न मिल्दैन ।

















