खर्चिलो र भड्किलो बन्दै चुनाव, आयोगलाई खबरदारी

41
ब्यालेट बक्स नै गायब भएका इतिहास सम्झाउँदै सचेत हुन पूर्वनिर्वाचन आयुक्तहरुको सुझाव
काठमाडौं/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा चुनावमा उठेका उम्मेदवारहरुको खर्च अत्यधिक र अपारदर्शीमा रुपमा हुनुका साथ आचारसंहिता उल्लंघनका घटनाहरु पनि बढ्दै गएका छन् । आफ्नो पक्षमा भीड बनाउन, आफू लोकप्रिय भएको देखाउन पनि उम्मेदवारहरुले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च सीमाभन्दा बढी दैनिक लाखौं रुपैयाँ खर्च गर्दै आएका हुन् ।
निर्वाचनमा पैसाको ठूलो चलखेल, भड्किलो प्रचारप्रसारले चुनाव अपराधीको पकडमा जान सक्ने भन्दै पूर्वनिर्वाचन आयुक्तहरुले नै आपत्ति जनाएका छन् । पछिल्लो समय नेताहरुले पनि पैसा नभई चुनाव जित्न नसकिने भन्दै सार्वजनिक अभिव्यक्ति दिनुले पनि चुनावमा हुने पैसाको चलखेललाई स्पष्ट पारेको छ । यस्तो रकम कालोधन हुने र अझै बाहिरबाट आएको रकमले चुनावको परिणामलाई प्रभावित हुने जोखिम बढेको छ ।
यसअघि नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पनि ‘२०६४ मा ८० हजारले चुनाव जितेको थिएँ, त्यसपछि ३ करोड भयो, त्यसपछि ६ करोड भयो, अब को टिकट लिन सक्नुहुन्छ लिनुस्,’ भन्ने अभिव्यक्ति दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले पनि ‘२०६४ मा त हामीले बिनापैसा जितेका थियौँ, अब पैसा नभई हुँदैन, पैसा हामीसँग भन्दा अरुसँग बढी छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।
रकमको अस्वाभाविक चलखेल मात्र होइन, आचारसंहिताविपरीत प्रचारप्रसार, तराईमधेस क्षेत्रमा भारतीय गाडीको प्रयोग पनि हुने गरेको छ । प्रमुख नेताहरुले नै मतदालाई प्रभावित पार्ने गरी ‘फ्रि भिसा फ्रि टिकट’को आश्वासन दिइरहेका छन् । तर, निर्वाचन आयोगले भने यस्ता आचारसंहिता विपरीतका क्रियाकलापमा सामान्य स्पष्टीकरण सोध्ने बाहेक अन्य प्रभावकारी कदम चाल्न सकेको छैन । बरु जनतामाझ लोकप्रिय बनेको नो नट अगेन अभियानलाई कारबाहीको चेतावनी दिनेदेखि आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सञ्चारमाध्यमलाई समाचार नै हटाउन निर्देशन दिनेसम्मका विवादास्पद कदमहरु चालेको छ ।
निर्वाचन आयोगको पछिल्लो कदमहरुको आलोचना हुँदै गर्दा पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले आयोगलाई संयमित हुन सुझाव दिएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको बेला निर्वाचन आयोगको सबैभन्दा ठूलो शक्ति नै संयमता भएको जनाए । निर्वाचन आयोगको सानो गल्तीले सानो वाद–विवाद आगोको झिल्कोझैं सल्कनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने उनको भनाइ थियो । आफ्नो कारणले निर्वाचनको वातावरण भत्किन नपाओस् भनेर आयोगले गहिरोसँग विचार गर्नुपर्ने पोखरेलको भनाइ थियो ।
‘निर्वाचनमा अप्ठयारो पार्ने तत्वहरू धेरै छन्। हाम्रो आफ्नै बोली, बचन र व्यवहारबाट नराम्रो परिस्थिति नआओस्,’ पोखरेलले भने ‘यतिखेर असाध्यै संवेदनशील हुनुपर्छ । किनभने, सानो एउटा झिक्कोले नै डढेलो लाग्छ भन्छन् नि ! कहीँ हाम्रो बोलाइबाट त्यस्तो नहोस् । आयोगका लागि यतिबेला संयमता सबैभन्दा ठूलो शक्ति हो । हामीले संयमतालाई ख्याल गरेर हाम्रो आफ्नै कारणबाट अरु भत्किन नपाओस् भनेर विचार गरौं ।’
अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आयोगको ध्यानाकर्षण गराए । शीर्ष नेताहरू उम्मेदवार भएका जिल्ला बढी संवेदनशील हुने गरेको उल्लेख गर्दै त्यसमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन ध्यान दिनुपर्ने उनको भनाइ थियो । श्रेष्ठले मतदाता शिक्षाको कामलाई प्रभावकारी बनाउन पनि आयोगले ख्याल राख्ने विश्वास व्यक्त गरे ।
‘संवेदनशील क्षेत्रहरू पत्ता लगाएर सुरक्षाको आवश्यक व्यवस्था मिलाउनु पर्दछ । शीर्ष नेताहरू उठेको ठाउँमा विशेष ध्यान दिनु पर्छ। किनकि, ठूला नेताको हारजित एउटा इज्जतको सवाल हुन्छ,’ उनले भने, ‘पार्टीका लागि मात्र नभएर मुलुककै लागि पनि महत्वपूर्ण हुने भएकाले ती क्षेत्र संवदेशील हुन्छन् । त्यसैले गर्दा त्यहाँ साम, दाम, दण्ड, भेद जे पनि अपनाउन सक्ने अवस्था रहन्छ । त्यसलाई हामीले राम्रोसँग नियाल्नु पर्दछ ।’
पूर्वकार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले मतगणनामा गडबढी हुन नदिन निर्वाचन आयोग गम्भीर बन्नुपर्ने जनाए । आयोगले निर्वाचनको ब्यालेट बक्सको सुरक्षामा पनि चनाखो हुनुपर्ने भन्दै विगतमा ब्यालेट बोकेर आएको ट्रक नै बेपत्ता भएको घटनाको चर्चा गरे । उनले सबै निर्वाचनहरूमा मतगणनाको विषय जटिल हुने उल्लेख गर्दै त्यसो हुन नदिन आयोगले बेलैमा योजना बनाउनुपर्ने सुझाव दिए ।
‘अत्यन्तै संवेदनशील र कठिन हुने भनेको नै मतगणना हो । यो०३३ देखि अहिलेसम्मको स्थानीय तह निर्वाचनलाई हेर्दा प्रत्येकपटक आयोगले गरेका सबै निर्वाचनमा मत गणनामा नै गड्बढी हुँदै आएको छ’, उनले भने ‘म ०४९ सालमा प्रजिअ हुँदा र सोलुखुम्बुमा निर्वाचन अधिकृतको रुपमा काम गर्दा त्यहाँ पनि त्यस्तै भयो । ०५१ मा सुर्खेतमा पनि त्यस्तै भयो । त्यसपछि ०६४ मा ब्यालेट बक्स बोकेर आएको ट्रक नै बेपत्ता भयो । त्यो अहिलेसम्म पत्ता लागेको छैन ।’ जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here