के नेपाली जनता भेडा नै हुन् त ?

252

पुष्करलाल श्रेष्ठ
राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्रको नाममा हामी धेरैपटक नेताहरूको भेडो बनिसकेका छौं भने अहिले गणतन्त्रको नाममा हामीलाई भेडो बनाइरहेको छ। सिद्धान्तहीन एवम् विचार शून्य नेता र पार्टीको हाहामा लागेर हामी अरू कतिन्जेल भेडो बनिरहने ? खोई, हामीले पार्टीहरूलाई पार्टीको घोषणापत्रअनुसार काम नभएकोबारे प्रश्न गरेको ? हिजो चुनावमा उनीहरूले आफ्नो घोषणापत्रमा गरेका बाचा पूरा नगरेकोमा, संविधान कार्यान्वयन गर्न आनाकानी गरिरहेकोमा, समयमै चुनाव गरी जनतालाई अधिकार दिन नखोजिएकोमा एकजुट हुने कि कुनै पार्टीका नेतालाई कुर्सीमा विराजमान गराउन वा कुनै नेतालाई कुर्सीबाट हटाउन रातदिन उनीहरूको शिखण्डी बनिरहने ?
अब हामी उठ्ने बेला भएको छ। आफ्नै जनतालाई भेडो बनाएर मात्र आफ्नो दुनो सोझ्याउन भेडोजस्तै हामीलाई एकत्रित गरी रगतको होली खेल्ने नेता र पार्टीहरूलाई एकै ठाउँमा भेला गरी रगतको हिसाबकिताब माग्ने बेला भइसकेको छ। उनीहरूलाई प्रश्न गरौं– के हामी जनताको मूल्य मात्र रु.१० लाख हो ? के मानिसको जीवन एउटा पशु भेडोको मूल्यभन्दा १५⁄२० दोब्बर मात्र माथि हो ?
राजनीतिक दल एकआपसमा आफैं निहुँ खोजी झगडा गर्छन्, मान्छे मार्ने र मर्ने वातावरण बनाउँछन् अनि आफैं सहमति गरी जनताले रगत–पसिना गरी तिरेका करको चरम दुरुपयोग गरेर शहीद घोषणा गर्दै राज्यको ढुकुटीबाट मनोमानी पैसा बाँड्छन्। यसो गर्न पाइँदैन भन्दै खोई हामीले उनीहरूलाई आजको दिनसम्म खबरदारी गरेको ?
नेपाल समाचारपत्र दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here