काठमाडौं÷ सर्वाेच्च अदालतको निर्णयबाट नियुक्ति नै बदर भई अवकाश पाएका अख्तियारका प्रमुख आयुक्तको हैसियतमा लोकमानसिंह कार्कीले नेपाल विद्युत प्राधिकरणका भ्रष्ट कर्मचारीहरु विरुद्ध विशेष अदालतमा दर्ता गराएको मुद्दामा आरोपित व्यक्तिहरुलाई विशेष अदालतले पनि भ्रष्ट ठहर गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका पूर्व दुई कार्यकारी निर्देशक रामेश्वर यादव र डा.जीवेन्द्र झासहित २२ जनालाई भ्रष्टाचारी ठहर गरिएको छ । न्यायाधीशहरु मोहनरमण भट्टराई, नरेन्द्रकुमार शिवाकोटी र महेशप्रसाद पुडासैनीको संयुक्त इजलासले यस्तो ठहर फैसला गरेको हो । भ्रष्टाचारी ठहर हुनेमा प्राधिकरणसम्बद्ध १७ जना उच्च अधिकारी छन् भने आपूतिकर्ता चिनियाँ कम्पनीका पाँच जना चिनियाँ नागरिक पनि छन् ।
चिनियाँ कम्पनीसँग कमसल र गुणस्तरहीन विद्युत ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको अभियोगसहित लोकमान नेत्रृत्वको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संलग्न पदाधिकारीविरुद्ध चारवटा भिन्दाभिन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । ती सबै मुद्दामा संलग्न अधिकारीलाई भ्रष्टाचार ठहर गरिएको छ । प्राधिकरणका पूर्व कार्यकारी निर्देशक यादवलाई चार वटा मुद्दामा गरी दुई वर्ष नौ महिना कैद र एक लाख १० हजार रुपियाँ जरिवाना गरिएको छ भने पूर्व कार्यकारी निर्देशक झालाई दुई वटा मुद्दामा गरी १० महिना कैद र ४० हजार रुपियाँ जरिवाना गरिएको छ ।
त्यस्तै पूर्व महाप्रबन्धक चिरञ्जीवी शर्मालाई चार महिना कैद र १५ हजार जरिवाना, पूर्व महाप्रबन्धक युगलकिशोर साहलाई एक वर्ष कैद र ५५ हजार जरिवाना गरिएको छ । प्रबन्धक कैलाशप्रसाद अटललाई सात महिना कैद र ३० हजार जरिवाना, निर्देशक सुरेन्द्रराज रेग्मी, कामु निर्देशक अष्टरत्न शाक्य, वितरण प्रमुख त्रिपुरारीप्रसाद सिंह, प्रबन्धक सेन्धु यादव, सहायक प्रबन्धकहरु मनोज बराल, विदुर पौडेल, सुरेन्द्रकुमार पनेरु, शेखरकुमार दत्त, इञ्जिनियरहरु सुरजप्रसाद साह, रामबिजुल मण्डल, विनोदकुमार स्वर्णकार र निमेषकुमार पौडेललाई जनही तीन महिना कैद र १५ हजार जरिवाना गरिएको छ ।
त्यसैगरी विद्युत ट्रान्सफरमर आपूर्तिकर्ता चिनिया कम्पनी हुवेइ सनलाइट इलेक्ट्रिक को.लि.का अध्यक्ष लि डायगोलाई दुई वटा मुद्दामा गरी २१ करोड ४५ लाख दुई हजार ३७४ रुपैयाँ जरिवाना, चिनियाँ नागरिक होङ्ग ओयुआनलाई पाँच करोड ८७ लाख ७९ हजार ६०३ रुपैयाँ जरिवाना र एक वर्ष कैद, चिनियाँ नागरिक वो याङ सीलाई पाँच करोड ८७ लाख ७९ हजार ६०३ रुपैयाँ जरिवाना, मैनेजिङ डाइरेक्टर मिस्टर प्रापाकलाई १२ करोड ९८ लाख ४१ हजार ९३३ रुपैयाँ जरिवाना र चिनियाँ नागरिक हु जेङ्ग क्वेनलाई एक वर्ष कैदको फैसला भएको छ ।


















