हुकुमबहादुर सिंह
गत स्थानीय निर्वाचनका दौरानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवा, जो सही मानेमा एक जमानामा दुई बेग्लाबेग्लै वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दलको नेतृत्व गर्दथे र आ–आफ्ना वर्गका लागि एकले अर्काको विरुद्ध गोलीसमेत दाग्न पछि परेनन् । नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले विगतमा र वर्तमानमा पनि त्यही वर्गको प्रतिनिधित्व गर्दथे र गरिरहेका छन् । तर नेपालमा सर्वहारावर्गको नेतृत्व गर्ने माओवादी आन्दोलनका हस्ती प्रचण्डको भने अहिले वर्ग आधार फेरिएको छ । त्यसैले त भरतपुरको संयुक्त आम सभामा प्रचण्डले करीब दश पटक जय नेपाल र रुखचिह्नको सम्झना गर्दा पनि शेरबहादुर देउवाले एक पटकसम्म पनि लाल सलाम र हसियाँ हथौडाको उच्चारणसम्म गरेनन् । आखिरमा प्रचण्डले किन यसो गरे त ?
माओवादी आन्दोलन शान्तिवार्तामा बसेपछि त्यसका नेताहरुले यति हतारमा वर्ग परिवर्तन गर्न थाले मानौं यो उनीहरुका लागि प्राप्त सुनौलो अवसर हो, जसलाई गुम्न दिनु हुँदैन । परिणाम मानसिक र भौतिकरुपमै पनि उनीहरुमध्ये कैयौं नवधनाढ्य बन्न पुगे । र, प्रचण्डका लागि अब जय नेपालमा प्रेम बस्न गयो भने शेरबहादुरको वर्गआधारमा त खासै परिवर्तन छैन अनि कसरी उनका मूखबाट लाल सलाम निस्कोस् ?
यसले के सन्देश दिन्छ भने सही मानेमा जसले आफ्नो वर्गआधारलाई बिर्सिदिन्छ र नयँ वर्ग आधार खोज्दछ, स्वभावतः उसले त्यो प्रमाणित गर्न धेरै खरानी घस्नु पर्दछ । भरतपुरको संयुक्त आम सभामा प्रचण्डले त्यही गरे जो एउटा नयाँ जोगीले गर्दछ । उनले नेपालमा लामो समय सर्वहारावर्गको अधिनायकवादको स्थापनाका लागि आफ्नो बहुमूल्य समय खर्च गरे तर अहिले उनी त्यो महान् जिम्मेवारीबाट पन्छिन खोजीरहेका छन् अथवा जिम्मेवारी बहन गर्न डराइरहेका छन् । उनले दशवर्षे जनयुद्धकालमा आफूलाई शेर सम्झेर काम गरे, जनता उनीसित डराएका थिए तर अहिले जनताले आफूले तिष्कार गर्ने अनेकौं माध्यममध्ये एउटा जनमतको माध्यमबाट उनलाई तिरष्कार गर्न थालेका छन् । हिजो उनले सर्वहारा अधिनायकवाद लागू गर्ने प्रयास गरेका थिए–जनताका बीचमा जनवादको अभ्यास र शत्रु पक्षमाथि अधिनायकवाद लाद्नु । माक्र्सवादले मानेको के हो भने जब यी दुईवटा पक्षहरु जोडिन पुग्छन्, त्यही सर्वहारा अधिनायकवाद हुन्छ, जसलाई जनवादी अधिनायकवाद पनि भनिन्छ । यसलाई एउटा नाराको रुपमा भन्ने हो भने ‘सर्वहारा नेतृत्वको जनवादी अधिनायकवाद र मजदुर–किसानहरुमा आधारित गठबन्धन ।’ अहिलेको गठबन्धन त माओवादी केन्द्र र कांग्रेसबीच र एमाले र राप्रपाबीच । माओवादी केन्द्र र एमालेहरुका लागि मजदुर–किसानहरुमा आधारित गठबन्धन त इतिहासका किताबमा रहन गए ।
एमालेले त धेरै पहिलेदखि सर्वहारावर्ग, त्यसको नेतृत्वमा अधिनायकवाद आदि भन्न छाडेको हो नै अहिले त माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनले नेतृत्व गरेको पार्टी माओवादी केन्द्रले समेत सर्वहारावर्ग, त्यसको नेतृत्वमा अधिनायकवाद आदि भन्न डराउने गर्न थालेको छ । तैपनि आफूलाई माओवादी केन्द्र भन्न छाडेको छैन, जसरी एमालेले आफूलाई एकीकृत माक्र्सवादी–लेनिनवादी (एमाले) भन्न छाडेको छैन । यद्यपि एमाले घोषित रुपमै एउटा पूँजीवादी पार्टी बनिसकेको छ । ऊ अहिले स्थानीय निर्विाचनमा एकीकृत माक्र्सवादी–लेनिनवादी(एमाले) हुँदाहुँदै एनजीओ–आईएनजीओको नेपाल प्रतिनिधि बनिरहेको छ । स्थानीय निर्वाचनपछि ती एनजीओ–आईएनजीओहरुले अहिले आफ्ना मान्छेहरु के कतिले स्थानीय निर्वाचनमा एमालेको निर्वाचन चिह्नमा विजय प्राप्त गरे त ? भनेर आँकडा निकाल्दै छन् । सही अर्थमा एमालेले अहिलेको स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको नभई उसको झण्डामा एनजीओ–आईएनजीओहरुले विजय प्राप्त गरेका छन् । भन्न त एमालेका केही निर्वाचित प्रतिनिधिले भन्दै छन्, ‘मेरो नगरपालिका वा गाउँपालिकामा काम गर्ने एनजीओहरुले मेरो निर्देशनमा काम गर्नुपर्ने छ ।’ उनीहरुको यो भनाइलाई केही एनजीओहरुले विरोध पनि गर्दै छन् । म त भन्छु उनीहरुले यसमा टाउको दुखाउनु नै पर्दैन किनभने मूल आधार भनेको वर्गआधार हो, जो माओवादी केन्द्र र एमाले दुवैले पूँजीपति वर्गआधार ग्रहण गरिरहेका छन् । यद्यपि नाममा उनीहरु अझै पनि आफूलाई माओवादी केन्द्र र एमाले भनिरहेका छन् । वर्गआधार नै भूलेका यी नामधारी कम्युनिष्टहरुबाट नेपालका मजदुर–किसानहरुको सही मूक्तिको आशा गर्नु बालुवाबाट तेल निकाल्ने प्रतिबद्धता जस्तो मात्रै हो ।
-जनधारणा साप्ताहिक















