बाजुरा । लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार २८ साउन बेलुकीदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो ।
त्यसलगत्तै प्रहरी चौकी बडिमालिकाबाट प्रहरी सहायक निरीक्षक रामबहादुर चन्दको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि ताम्सु खोलामा पानीको बहाव बढेका कारण तत्काल घटनास्थल पुग्न सकेको छैन ।
घटनास्थल प्रहरी चौकी बडिमालिकाबाट करिब चार किलोमिटर उत्तरमा पर्छ । लगातारको वर्षा र खोलामा बढेको पानीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।


















