हाम्रो घर तथा भान्सामा हुने साङ्लो (कर्कोज) मार्नकै लागि हामीले अनेकौं विषादी प्रयोग गर्ने गर्छौं । त्यो विषादीले हाम्रो स्थास्थ्यमा प्रतिकूल असर त पार्छ नै ती विषादी किन्न पैसा पनि टन्नै खर्च हुन्छ ।
अब भने साङ्लो मार्नुभन्दा त्यसलाई विक्री गरेर आम्दानी गर्ने विकल्पको समेत विकास भइसकेको छ । सुन्दा आश्चर्य लाग्ला तर उत्तरी छिमेकी राष्ट्र चीनमा साङ्लाको विक्रीबाट मानिसहरु करोडपति भएका छन् । अहिले चीनमा साङ्लाको व्यावसायिक खेतीसमेत हुन्छ । चिनियाँ किसान झुउ होइ व्यावसायिक रुपमा साङ्लोको खेती गर्ने पहिलो चिनियाँ किसान मानिन्छन् । उनी सन् २०१३ देखि साङ्लाको खेतीमा संलग्न छन् । साङ्ला विक्री गरेर उनले करोडौं कमाइसकेका छन् ।
अहिले उनले गरेको काम अन्य मानिसले पनि गर्न थालेका छन् । साङ्लोको खेती गर्दा धेरै मानिसहरुले उनलाई ‘पागल’ समेत भनेका थिए । तर त्यतिबेला उनलाई ‘पागल’ भन्नेहरु नै अहिले साङ्लोको व्यावसायिक खेतीमा लागेका छन् । विभिन्न प्रकारका औषधी उत्पादनमा साङ्लोको प्रयोग हुने गरेको छ । साथै मानिसहरुले साङ्लोबाट बन्ने परिकार पनि विशेष रुचिका साथ खाने गर्छन् । यस्तै, विशेष प्रकारको वाइन बनाउन पनि साङ्लोको प्रयोग हुने गरेको बताइन्छ ।
-जनधारणा साप्ताहिक


















