गोर्खा भर्ती केन्द्र नेपालको कालो धब्बा

221

डा. दीपेन्द्र रोकाया 

नेपालमा आजसम्म भेटेका बुढापाकामध्ये कसैले पनि आफु राम्रो ठाउँमा जन्मेको रहेछु भनी गर्व गरेको पाइनँ । उनीहरू सतिले सरापेको देशमा जन्म भएकोमा केही गर्न नसकेको गुनासो मात्र सुनाउँछन् र भन्छन्, यहाँ केही पनि हुँदैन । उनीहरूबाट के अर्ति बुद्धि पाउनु ? प्रायःले भाग्यका कारण यस्तो जिन्दगी व्यहोरी रहेको बताएको पाइन्छ । यस्तो धारणा राख्ने ९५ प्रतिशत नै छन् भन्दा हुन्छ । त्यसमा करिव ३० प्रतिशतले मात्र देश स्वर्ग हो, हामीले यहाँको शासन सत्ताका कारण केही गर्न पाएनौ भनेको पाइयो । उनीहरूले आफ्नो भूमिकाको खोजी गरेको तर गर्न नपाएको अनुभव सुनाएको हो भन्न लाग्दछ । यसरी हेर्दा हरेक अवसर जन्मदैका जर्नेल हुने वर्ग वा त्यस्तै पद्धतिबाट पोष्टिङ हुने चलनले गर्दा नेपालमा जहिले पनि ५ प्रतिशतको हालीमुहाली छ । जहाँ पनि चाकडी र चाप्लुसी तथा भुनसुनले काम गरिरहेको छ ।
जे काम गर्न गएपनि दिनहरू जान्छन्, मान्छेहरू भेटिन्छन् तर काम भने हुँदैन । मान्छे, आशा र विश्वासले बाँच्ने हो । त्यही आशा गर्ने ठाउँ नदेखेपछि के हुन्छ ? विश्वास गर्ने निकायबाट विश्वास गुमे के हुन्छ ? यस्तै कुराले संस्थागत भएको रहेछ नेपालमा । त्यसमा क्रमभंग ल्याउन आफुलाई क्रान्तिकारी भन्ने नेताहरू समेत चुकेको पाइयो । यसैमा अपशोच लाग्दछ । किनकि हरेक बोली बचनमा कुराहरू ठोकिन्छन् । इतिहासका तथ्यहरू र वर्तमानका भोगाईहरू पीडादायी छन्, त्यसलाई सुधार गर्ने तत्परता देखाउने अगुवा भनौ वा अभिभावक नदेख्दा पीडा त हुने नै भयो । यस्तो घेराको बीचमा पनि बाँच्नु र आशावादी धारणा बाँड्नु निकै ठुलो कुरा हो जस्तो लाग्दछ । उदाहरणका लागि यसअघि ऊर्जामन्त्री जर्नादन शर्माले लोडसेडिङको मारमा परेर हैरान परेका जनता र उद्यमीहरूलाई आशा जगाइ दिए । यो कामको निरन्तरता अब आउने ऊर्जा मन्त्रीले नदिए उसको हालत खराब स्वतह हुन्छ । यसैले पनि होला, डा. के. वि. रोकाया बरोबर भन्ने गर्दथ्ये, ‘अन्धकारमा जुनकिरीको उज्यालो पनि आशालाग्दो हुन्छ ।’
इतिहासका पानाहरू पल्टाउँदा सबभन्दा पीडा हुन्छ, त्रिपक्षीय गोर्खा सैनिक भर्ति सम्झौतालाई देखेर । यो नेपाल र नेपाली जनताको लागि असमान, अपमानजनक, राष्ट्र हित विपरित र शान्तिको नीतिविरोधी छ । नेपाली युवाहरूलाई विदेशमा विक्री गरी भाडाको सैनिकको रूपमा साम्राज्यवादी शक्तिहरूले आफ्नो साम्राज्यको रक्षाका लागि र नेपालका मित्र राष्ट्रहरूका विरुद्ध प्रयोग गरेको हुँदा उक्त सम्झौता खारेज गरिनु पर्दछ भनी बारम्बार माग भइरहेको छ । यसो त नेपालको सर्वाेच्च अदालतमा समेत मुद्दा पुगेको छ । सन् १९४७ मा नेपाल, वेलायत र भारतबीच भएको यो त्रिवक्षीय सम्झौतामा वेलायतले भारत छाडेर जाँदा भारतमा रहेका २० पल्टन गोर्खा सेनालाई बाँडफाड गर्न ५ वर्षका लागि सन्धी गरिएको थियो । सन् १९५२ मा ५ वर्षका लागि र १९५८ मा १० वर्षका लागि नवीकरण गरिएपनि त्यसपछि उक्त सन्धिको हैसियत के र कस्तो अवस्थामा छ भन्ने जानकारी कोही कसैबाट पाइदैन ।
यो सन्धिले वेलायतमा रहेका गोर्खाली सैनिकहरूलाई वेलायती नागरिकभन्दा भेदभाव गरिएकोे छ । यहाँ समान हकका लागि संघर्ष गरिरहेका भुतपूर्व गोर्खाहरूको संघर्षमा ऐक्यवद्धता जाहेर गर्नै पर्दछ । तर डा. गोपाल शिवाकोटी चिन्तनको पछिल्लो तर्कलाई स्मरण गर्ने हो भने गोर्खाहरू नेपाली नागरिकता त्यागेर विदेशिन तयार हुनेहरूको बारेमा बोलेर समय खेर फाल्नुभन्दा कर्नालीका बस्तीहरूमा हलो जोतेर समय बिताए उपलब्धी हुनेछ । यो कुरा पनि मननीय छ । किनकि हालैका दिनहरूमा गोर्खाल्याण्डको आन्दोलनप्रति रहेको सहानुभूतिलाई केही भारतीय नेपाली भाषिको छुद्र भनाई सुन्दा दिक्क लाग्यो । कारण, यो देश शक्ति सम्पन्न र समृद्धि भएको भए उनीहरूले नै हामी नेपाली हौ भनेर असमान सुगौली सन्धिलाई कारण देखाएर विद्रोह गरिरहेका हुने थिए । बाँकी विश्वका नागरिकहरू पिआर लिएर बन्न आउनेहरूको घुइचो लाग्दो हो । यसै त शरणार्थीको केन्द्र बनेको छ । यसैले बचेको नेपालको रक्षा र विकास गर्न आवश्यक छ । यसमा हामीले पसिना बगाउन आवश्यक छ ।
गोर्खा सैनिक जवानहरूको भर्ती कै सन्दर्भमा हेर्दा वेलायतले प्रतिब्यक्ति एक पाउण्ड र भारतले एक डलरमा किन्ने गरेको रहेछ । जाबो एक पाउण्ड भनौ वा एक डलरमा नेपाली युवाहरू बेच्ने कार्य निरन्तर चलिरहेको छ । लोकतान्त्रिक गणतन्त्र र बुद्ध जन्मेको देशको शान्तिप्रति रहेको प्रतिबद्धताको लागि सुहाउने विषय होइन यो । यस कार्यले राज्यबाटै मानव तस्करी र वेचविखन गर्ने कार्य भइरहेको देखिन्छ । यो मृत तथा राष्ट्र हित विपरितको सम्झौतालाई तत्काल खारेजीको घोषणा गरिनु पर्दछ । गोर्खा भर्ती वैदेशिक रोजगारी होइन, चीनसँगको युद्ध, कारगिल युद्ध, अफगानिस्तानको युद्ध, इराकको युद्ध, फाकल्याण्डको युद्ध, काश्मिर द्धन्द्धमा गोर्खा सेनाको प्रयोग विदेशी साम्राज्यको संरक्षणका लागि भएको पाइयो । यसलाई वैदेशिक रोजगारीको रूपमा लिने हो भने पुरानो सम्झौतालाई खारेज गरेर नेपालको राष्ट्र हित र स्वाभिमान कायम हुने गरी समानताका अधारमा नयाँ सम्झौता हुन पर्दछ ।
हुन त एकथरी विश्लेषकहरू जसरी दोस्रो विश्वयुद्धपछि फर्केका गोर्खा सेनाका कारण राणा शासनविरुद्ध २००७ सालको विद्रोह भएको, हङकङ, मकाउमा गोर्खा सैनिकको संख्या कटौटी भएपछि माओवादी जनयुद्ध उठान भएको जस्ता कुरा उठाउने गर्दछन् । पछिल्लो पटक नेपाली युवाहरूका कारणले पहिचान लगायतका विषयमा विद्रोह भएको भनी नेपाली युवा युवतीहरूलाई वैदेशिक रोजगारीको नाममा श्रम गर्न पठाईएको छ । माओवादी जनयुद्ध कालमा शासकहरूले माओवादीका जनसेनालाई वैदेशिक रोजगारमा पठाएर जनयुद्धलाई समाप्त गर्ने प्रस्ताव समेत गरेका थिए । तर यो योजना कार्यान्वयन हुनु अगाडि नै ज्ञानेन्द्रको महत्वकांक्षा र दरबार हत्याकाण्डले वैदेशिक रोजगारीमा पठाएर जनयुद्धलाई निस्तेज पार्ने योजना कार्यान्वयन हुन सकेन ।
सन् १९४७ मा भएको त्रिपक्षीय गोर्खा भर्ती सम्झौताको प्रस्तावनामा भर्ती केन्द्र, सैनिक संख्या, भुक्तानीको व्यवस्था र सेवा शर्तहरू उल्लेख गरिएकै थियो । भर्ती केन्द्र सम्बन्धि व्यवस्थामा गोखरपुर र घुमका भर्ती केन्द्रहरू बेलायतका लागि अस्थायी रूपमा प्रयोग गर्न पाउने र नेपालमा स्थायी भर्ती केन्द्र बनेपछि नेपालभित्रै गोर्खाली युवाहरूलाई भर्ती गर्न सकिने व्यवस्था गरिएको थियो । यसैले धरानको घोपा, पोखरा, तौलिहवामा भर्ती केन्द्र स्थापना गरिएका थिए । यी केन्द्रको स्थापना नगरिन्जेल दलालहरू गल्ला खोज्न भनी नेपालका युवाहरूलाई छानी छानी बेलायती सेनामा भर्ती गराउने गर्दथ्ये । नेपाली युवाहरू पनि एसएससी पास गरेर गल्लामा जाने उद्देश्य राख्नाले नेपालको राजनीतिक विकास हुन सकेन । यही विन्दुबाट नेपालको उधोगति लागेको हो भन्ने कुरा निक्यौल गर्न सकिन्छ ।
गोर्खा भर्ती सम्झौता उपनिवेशकालीन युगमा आफ्नो साम्राज्यको सुरक्षा गर्न र विद्रोहलाई दबाउने प्रयोजनबाट भएको थियो । उनीहरूलाई कम्युनिष्ट विद्रोहीहरूको विरुद्ध साराबाक आदि ठाउँमा प्रयोग गरियो भने अन्य युद्धमा प्रयोग गरिएकै छन् । अहिले पनि दरबारका विश्वासिला दरबानका रूपमा नेपालीहरू तैनाथ गरिएका छन् । यसैले विश्वभरका आफ्ना नागरिकले पाएको अपमान पनि नेपालकै अपमान हो भन्ने बुझी देशको हितका विषयमा सोच्न जरुरी भइसकेको छ । गोर्खा भर्तीको विषय भनेको नेपाल अघोषित रूपमा वेलायत र भारतको उपनिवेशमा छ भन्ने आधार पनि हो । यसैले यसखाले अपमानको टिका नमेट्दासम्म विश्वकै स्वर्गजस्तो देशमा भाग्यवादी हिसावले निराशा बाँड्नेहरूको बीचमा बाँचीरहनु पर्नेछ । के यस तर्फ आजका शासकहरूको ध्यान जान पर्दैन ?    – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here