गोर्खाल्याण्ड आन्दोलनले नेपालका राष्ट्रवादीहरूलाई दिएको सन्देश

227

चन्द्रप्रकाश बानियाँ 

यतिखेर गोर्खाल्याण्ड आन्दोलन उत्कर्षमा छ । आन्दोलन भारतीय गोर्खाहरूले गरेका हुन् । उनीहरूको आन्दोलनले लक्ष्य प्राप्त गर्ला कि नगर्ला भनेर यतिबेलै अनुमान गर्न गाह्रो छ । किनकि यस खालको आन्दोलन उठेको यो पहिलोचोटि होइन । त्यसको इतिहास दशकौं पुरानो छ । आजसम्म गोर्खाल्याण्डको नाममा शहादत हुनेहरूको संख्याले मात्र पनि बाह्रसय नाघिसकेको छ । आन्दोलन पटक पटक उठ्छ र थचारिन्छ । अपेक्षित उपलब्धिसम्म पुग्नै सक्तैन । आन्दोलनको नेतृत्व सत्ताको जालझेलमा फस्छ । ‘हात्ती आया,े फुस्सा !’ भनेजस्तो हरेक पटकको आन्दोलनले प्राप्त गरेको उपलब्धि अपूर्ण सावित हुन्छ । जनताले पटक पटक ठगिएको अनुभूति गर्नुपरेको छ । त्यसैले यसपटक पनि आन्दोलनको भविष्य अन्धकारमै छ भन्नुपर्ने हुन्छ । तर नेपालका एकथरि राष्ट्रवादीहरूलाई भने गोर्खाल्याण्डको आन्दोलनको रापले ‘भूई न भाँडामा’ हुनेगरी उमालेको छ । मानौ दार्जलिङका गोर्खेहरूले होइन, तिनै कथित राष्ट्रवादी नेपालीहरू स्वयंले आन्दोलन गरिरहेका पो हुन कि जस्तो लाग्दछ । गोर्खे आन्दोलन सफल हुँदा नेपालको सीमा नै विस्तार भैहाल्ने हो कि भनेझैं गरी आन्दोलनको समर्थन र भारतको विरोधमा सामेल भएको देखिन्छ । सुगौलीसन्धिमा गुमेको भूभाग फर्काउने आन्दोलन नै हो कि भन्ने भान परेजस्तो लाग्दछ । खासगरेर एमालेको छद्म राष्ट्रवादी रागमा लठ्ठिएको जनमतले गोर्खाल्याण्ड आन्दोलनको अधिमूल्यांकन गर्न थालेको छ । उनीहरूको सुस्त दिमागले गोर्खाल्याण्ड आन्दोलनलाई नेपाल–भारत युद्धको रूपमा बुझेको जस्तो देखिन्छ । मानौ दार्जिलिङे गोर्खाहरूको विजय नेपालको जित र भारतको हार हो ! गोर्खाहरूको अधिकतम माग अलग प्रदेशको हो । स्वतन्त्र राज्य स्थापना वा नेपालमा गाभिने मनसाय होइन । भारतको संविधानले त्यस्तो छुट दिएको पनि छैन भन्ने कुरा सायदै नेपालीहरूको घामट बुद्धिमा घुसेको होला ! यति सामान्य कुरा पनि नबुझेर ‘बाजाको स्वरमा जन्ती जान कम्मर कस्ने’ त्यही वर्ग हो, जसले एमालेको नौटंकीलाई अब्बल राष्ट्रवादको रूपमा बुझ्ने गरेको छ । गोर्खेहरूको आन्दोलनको उपलब्धिको रूपमा गोर्खाल्याण्ड प्राप्त भैहालेछ भने त्यसले नेपालको सन्दर्भमा एमालेले लिएको खसराष्ट्रवादी अडानलाई नोक्सान पु¥याउने छ भन्ने सामान्य कुरा पनि बुभ्mन नसक्ने त्यो पंक्तिको बौद्धिक दिवालीयापनको नापो लिन अर्को कुनै गज (मेजरिङ टेप)को आवश्यकता पर्छ जस्तो लाग्दैन ।
यतिबेला नेपालमा पहिचानको आन्दोलन सुस्ताएको छ । त्यसको अर्थ त्यो समाप्त भयो, सदाको लागि थला प¥यो, कुना प¥यो वा कहिल्यै उठ्न नसक्ने गरी दबियो भनेर सोच्नु मूर्खता हो । दार्जिलिङमा गोर्खाल्याण्डको माग सशक्तरूपमा उठ्न थालेको चारदशकभन्दा बढी भैसक्यो । पटक पटक आन्दोलन उठ्छ । आन्दोलनले उत्कर्ष छुन्छ । सत्ताले टेर्दैन । आन्दोलनकारीहरू थाक्छन् । अनि आन्दोलन कहिले सुस्ताउँछ, कहिले बौरन्छ । एकपटक सुस्ताएको आन्दोलन अर्को पटक उठ्न वर्षौैं लाग्छ । पश्चिमबंगाल सरकारले कहिले दमन गर्छ, कहिले फकाउँछ, फुल्स्याउँछ । गोर्खाहरूलाई स्वायत्तताको अनुभूति दिलाउन केही अधिकारहरू प्रत्यायोजन पनि गर्छ । आन्दोलनबाट थाकेको बेलामा अलिकता पाउँदा ठूलै उपलब्धि जस्तो ठानिन्छ । परिणाममा भने प्राप्त उपलब्धि अपूर्ण हुन्छ । अनि फेरि अर्को आन्दोलन जुर्मुराउँछ । जहिलेसम्म जनताले स्वशासनको अधिकार पाउँदैनन् तवसम्म त्यो सिलसिला निरन्तर रहनेछ । हो, त्यसैगरी नेपालमा उठेको पहिचानको मुद्दा पनि सेलाएको मात्र हो, मरेको छैन । मर्ने सिद्धिने कुरै होइन । त्यो अजम्बरी हुन्छ । फेरि फेरि काइना मुना हाल्दै रहन्छ । रणमैदानमा पछारिएको रक्तबीजझैं पटक–पटक उठ्छ । झन सशक्त भएर उठ्छ ।
पहिचानको आन्दोलनलाई दोश्रो संविधानसभाको बहुमतले नराम्रोसँग दवायो । चित्त बुझाएर होइन, बलजफ्ती दवाएर निकालिएको समाधान दीर्घजीवी हुँदैन । निश्चयनै नेपालका जनजाति, मुस्लिम, मधेसी, दलित लगायतका अल्पसंख्यक समुदायको जातीय, क्षेत्रीय समानता, पहिचान र अधिकारको अपेक्षा ढिलोचाँडो, कुनै न कुनै रूपमा, कुनै न कुनै दिन पूरा हुनेनै छ । पूूरा नगरी सुखै छैन । पहाडी राष्ट्रवादको हैकम सधैभरि कायम रहने कुरा होइन । नश्लवादी खसवादको सधैभरी दव्दवा रहने पनि छैन । सधैं एउटा जाति वा समुदायविशेषको हैकम चल्न सक्तै सक्तैन । दार्जिलिङमाझै आन्दोलनहरू बिसाउँदै, निदाउँद,ै व्युझँदै, उठ्दै गर्ने छन् । एकपछि अर्को झन सशक्त आन्दोलनहरू उठ्ने छन । जनताले अपेक्षित अधिकार प्राप्त नगर्दासम्म आन्दोलनहरू टुङ्गिने छैनन् भन्ने कुरा २००७ सालको भन्दा २०४६ सालको आन्दोलन सशक्त थियो, २०४६ को भन्दा ०६२÷६३ शक्तिशाली बनेको उदाहरणबाट स्पष्ट हुन्छ । पहिचानको मुद्दाको विजारोपण माओवादीको सशस्त्र द्वन्दको सगँसँगै भएकोे हो । अर्थात उमेरका हिसाबले पहिचानको आन्दोलन किशोर अवस्थामै छ । अवश्य, अर्को पटक उठ्ने बेलासम्म तन्नेरी भैसक्ने छ र अपेक्षित उपलब्धि प्राप्त गर्न सफल हुनेछ ।
पहिचानको आन्दोलनलाई पछिल्लो समयमा भारतीय हैकमवादले अपूरणीय क्षति पु¥यायो । नाकान्दीको रूपमा प्रकट भएको भारतीय हैकमवादले वास्तवमा पहिचानविरोधीहरूलाई ठूलो सहयोग पु¥याएको हो । आन्दोलन दवाउने निहुँ त्यसैलाई बनाइयो । माओवादी पार्टीको विभाजन विघटनको परिणामस्वरूप आकारमा फुल्ने अवसर पाएको एमालेसँग राजनीति गर्नका लागि कुनै आकर्षक एजेण्डा बाँकी थिएन । गणतन्त्र, समावेशीता, संघीयताजस्ता वसन्त आन्दोलनबाट स्थापित एजेण्डाहरूमा उसको रुचि थिएन । तिनको स्वामित्व लिने अधिकार पनि थिएन । नैतिक बल पनि थिएन । नवौं महाधिवेशनबाट जवजलाई सिद्धान्त र कार्यक्रम दुबै मानेको एमालेसँग त्यसभन्दा अघि जाने राजनीतिक लक्ष पनि बाँकी थिएन । किनकि त्यही दस्तावेजले नेपालमा पुँजीवादी क्रान्ति सम्पन्न भैसकेको स्वीकारी सकेकोे थियो । जवजभन्दा अघि जाने लक्ष थिएन, जनवादी क्रान्ति सम्पन्न भैसकेको भनेर स्वीकारेपछि राजनीतिमा टेक्ने र समाउने ठाउँ नै समाप्त भैसकेको थियो । अर्थात राजनीतिक अभीष्ट प्राप्त भैसकेको हुनाले सिद्धान्त, लक्ष र कार्यक्रमका दृष्टिले एजेण्डाविहीन बनेको एमालेका लागि कथित ‘राष्ट्रवाद’ अन्तिम अस्त्र बनेको थियो । त्यसैमा भारतीय नाकावन्दीले गतिलै मलजल थपिदियो ।
पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भैसकेको छ । अब दोस्रो चरणको नतिजा आउन बाँकी छ । पहिलो चरणको नतिजालाई दोस्रोचरणको चुनावले उल्टयाउने सम्भावना देखिदैन । अर्थात स्थानीय तहको निर्वाचनले एमालेलाई पहिलो स्थानमा स्थापित गरिदिने निश्चित छ । उसको त्यो हैसियत भने देशका लागि घातक सिद्ध हुनसक्ने सम्भावना प्रबल छ । यो परिणामले एमालेलाई थप अनुदार बनाउने छ । जनजाति आन्दोलनहरू तत्कालका लगि दविएका वा सुस्ताएका जस्ता देखिए पनि मधेसले के गर्छ ? भन्ने प्रश्न अझै अुनत्तरित छ । २ नम्बर प्रदेशमा निर्वाचन हुन्छ कि हुन्न ? चुनाव भैहाल्यो भने राजपाले भाग लिने परिस्थिति बन्छ कि बन्दैन ? राजपाले भाग नलिए पनि चुनाव त हुन्छ ÷ हुन सक्दछ । तर त्यस्तो चुनावले राजपालाई कता धकेल्छ ? उसको बाध्यात्मक कोल्टो फेराईको परिणाम के हन्छ ? यी यस्ता अनेकन प्रश्नहरूलाई हलुको ढङ्गबाट बुझने धृष्टता गरियो भने परिणाम भयावह हुनसक्छ । एमालेको कथित राष्ट्रवादले यो कुरालाई यसरी नै बुझ्ने र सम्बोधन गर्ने लक्षण देखिदैन । मुलुकलाई नोक्सान हुदैनथ्यो भने एमाले जता उफ्रियोस् वा पछारियोस् सरोकारको विषय हुदैनथ्यो । त्यसको असर देशको अखण्डतामा प¥यो भने गर्ने के ? कुरो त्यहाँसम्म पुग्ने अनिष्टको कल्पना किन गर्ने हो भने पनि दार्जिलिङमाझै जनताको तुष सदाकालका लागि बाँकी रही रहने र अवसर पाउनासाथ पटक पटक आन्दोलनको आँधीबेहरी सिर्जना हुने परिस्थितिले मुलुकलाई नोक्सान पु¥याउँदै रहनेछ भन्ने सन्देश राष्ट्रवादीहरूको पाषाण हृदयसम्म पुग्ला कि ?  -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here