राज्यलक्ष्मी शाक्य
हालैमात्र नेपाल प्रहरीले रामेछापको लिखु गाउँपालिका वडा नम्बर २ सैपु सिसन्धुकी १४ वर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ५ वर्षपछि भारतको अण्डमान निकोबार टापुबाट घटनाका अभियुक्त श्याम राउतलाई पक्राउ गरेको हो । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मध्य क्षेत्रका डीआईजी गणेश केसीले भारत प्रहरीसँगको समन्वयमा राउतलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीको अथक प्रयासपछि बलात्कारीलाई ५ वर्षपछि समात्न सफल भएको हो । घटना अपराधीलाई पक्राउ गर्न सुन्तलीकी आमा डिल्लीमायाले पटकपटक प्रहरी कार्यालय, काठमाडौंका प्रमुख निकाय र व्यक्ति तथा सिंहरदरबारमा पनि धाउँदा पनि उनको बोली कसैले सुनेन । डिल्लीमायाले अभियुक्त श्याम राउत र प्रदीप राउतविरुद्ध किटानी जाहेरी दिएको तर रामेछापका तत्कालीन प्रहरी प्रमुख सञ्जीव शर्माले अनुसन्धान नै नगरी राउतलाई हाजिरी जमानीमा रिहा गरेका थिए ।
हाल रामेछाप प्रहरी प्रमुख डीएसपी कुमोद ढुंगेल रामेछाप सरुवा भएपछि यस घटनाको अनुसन्धान फेरि सुरु भएको हो । ढुंगेलले अभियुक्त राउत भारतमा रहेको सूचना थाहा पाएपछि उनलाई पक्रन भारतीय प्रहरीसँग समन्वय गरेका थिए । प्रहरीले राउत भारतको अण्डमान एण्ड निकोबार टापुमा एउटा रेष्टुरेन्टमा काम गरिरहेको पत्ता लगाएको थियो । त्यसपछि निरन्तर पछ्याउँदै प्रहरीले भैरहवाबाट राउतलाई पक्राउ गरेको डीएसपी ढुंगेलले बताए । अभियुक्त पक्राउ परेपछि बल्ल आफ्नो छोरीको आत्माले न्याय पाएको आमा डिल्लीमायाको भनाइ छ ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो । नेपालका धेरै ठाउँमा यसैगरी महिला तथा बालबालिका हिंसाको शिकार बन्न पुगेका छन् । तर, उनीहरूले राज्यबाट पाउनुपर्ने सुरक्षा, न्याय तथा अपनत्व अझै पनि महसुस गर्न सकेका छैनन् । राज्यले पनि त्यस्ता सुन्तलीहरूलाई अझै न्याय दिन सकेको छैनन् । जसले गर्दा यता राज्य सिंहरदबारभित्रै खुम्चिरहँदा विकट क्षेत्रका सुन्तलीहरू बलात्कृत भइरहेका छन् । उनीहरूलाई न्याय माग्नका लागि सरकारको प्रतिनिधित्व गर्ने सुरक्षा निकायमा त पुग्छन् । तर, सुरक्षा निकायबाट नै उनीहरू अन्यायमा परिरहेका छन् । यता, हरेक वर्ष महिला अधिकारका विषयमा चर्काचर्का नारा तथा भाषणहरू हुन्छन्, गोष्ठी सभासम्मेलन हुन्छन् । उता, सुन्तलीहरू न्याय नपाएर बलात्कृत भइरहन्छन् । उनीहरूको हत्या भइरहन्छ । बलात्कारी र हत्यारा छाती चौडा पारेर खुलेआम हिँडिरहन्छन् । राज्य यो हेरेर मौन रहिरहन्छ । कुनै एक व्यक्तिको सदाशयताका कारण कुनै एक घटनाको पर्दाफास हुनसक्ला । केही दोषीहरूले सजाय पाउन सक्लान् । तर, के दोषीहरूलाई तत्काल सजाय दिनुपर्ने सरकारको दायित्व होइन र ? के ५ वर्षपछि दोषी समातियो भनेर अझै खुशी मान्नुपर्ने हो ?
त्यसकारण अब महिला तथा बालबालिकाको समस्या समाधानका लागि छुट्टै हेल्प डेस्क खडा गर्न आवश्यक छ । महिलाका समस्या सिधै त्यस्तो निकायमा पुग्न जरुरी छ । अन्यायमा परेका महिलाहरूलाई त्यो डेस्कले तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउने अधिकार प्रत्यायोजन गर्नुपर्छ । देशका सातै प्रदेशमा यस्ता निकायहरू खडा गर्नुपर्छ, जसले महिला हिंसाको अध्ययन गर्नेछ । यसको व्यवस्था सरकार स्वयंले गर्नुपर्नेछ । जसको सहायताले सुन्तलीहरूले आफ्नो बलात्कार र हत्या गर्नेलाई सजाय दिन ५÷५ वर्ष कुर्न नपरोस् । अपराधी उम्कन नपाओस् र सजायको भागिदार होस् । यति गर्न सके मात्र देशमा महिला हिंसाको घटनामा कमी आउन सक्छ । -जनधारणा साप्ताहिक















