महिला हिंसा अन्त्य कसरी ?

247

राज्यलक्ष्मी शाक्य 

‘महिला हिंसा’ यो शब्दावली अहिले विश्वका थुप्रै देशहरूमा समस्या बनेको छ । विकास र सभ्यताको यो अवस्थामा आइपुग्दा पनि अझै महिलामाथिको हिंसा अन्त्य हुन सकेको छैन । विकसित देशहरूमा पनि महिलाले विभिन्न प्रकारका हिंसा, यौन दुव्र्यवहार सहँदै आउनु परेको छ । हालै मात्र प्रकाशित एक रिपोर्टअनुसार अष्टे«लियाका विश्वविद्यालयमा आधा जति छात्राहरू यौन दुव्र्यवहारको शिकार भएका छन् । नेपालमा त यो समस्या अझ डरलाग्दो अवस्थामा छ । हरेक हप्ता ३÷४ वटा महिला हिंसाका घटनाहरू राष्ट्रिय रूपमा नै चर्चाको विषय बन्ने गरेको छ । चर्चामा नआएका अन्य हिंसाका घटनाहरू त झन् थुप्रै संख्यामा छन् । प्रेम गरेको निहुँमा, श्रीमान्ले भनेको नमानेको विषयमा, दाइजो, बोक्सीलगायत आरोपमा दिनहुँ जसो महिलामाथि हिंसा हुँदै आएको छ । तर, दुर्भाग्यवश भन्नुपर्छ यस्ता घटनाहरूमाथि सम्बन्धित निकायको ध्यान जाँदैन । राष्ट्रिय स्तरका सञ्चारमाध्यमले आफ्नो अग्रपृष्ठमा यस्ता घटनाको बारेमा समाचार बनाउँदा पनि सरकार मौन रहन्छ ।
यो सन्दर्भलाई पंक्तिकारले उठाउनुको अर्थ हालैमात्र महिला हिंसालाई कम गर्न भन्दै नेपाल प्रहरीले एउटा नयाँ अभियान सञ्चालन गर्ने भएको छ । सार्वजनिक सवारीसाधनमा महिलाहरूमाथि हुने यौनजन्य हिंसा रोक्न प्रहरीले ‘सेफ्टी पिन’ अभियान सञ्चालन गर्ने भएको सञ्चारमाध्यममा खबर आएको छ । सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा महिलाहरू यौन हिंसामा पर्ने गरेका घटना बढ्न थालेपछि नियन्त्रणका लागि महानगरीय प्रहरीले अभियान नै चलाउन लागेको हो । महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीका अनुसार तीन महिनासम्म यो अभियान चलाइँदै छ ।
उनले अभियानअन्तर्गत महानगरमा सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न जनचेतनामूलक कार्यक्रमसँगै ‘स्टिङ अप्रेसन’ गरिने र यो कार्यक्रमअन्तर्गत जनचेतनामूलक प्रचारप्रसार कार्यक्रम गर्ने जनाएका छन् । महिलामाथि हुने यौन हिंसा रोक्न सार्वजनिक यातायातमा तीन जनाको टोली नै खटाइने योजना प्रहरीको छ । तीन महिनासम्म अभियान सञ्चालन भएपछि कार्यक्रमको प्रभावकारिताको मूल्यांकन गरी थप योजना बनाइने उनको भनाइ छ । कार्यक्रम प्रभावकारी भए पुनः सञ्चालन गर्न सकिने र नभए नयाँ कार्यक्रम ल्याइने पनि उनले जनाएका छन् । ‘सेफ्टी पिन’ अभियानका लागि प्रहरीले यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी संघ, बागमती अञ्चल समिति र सामुदायिक सेवा उपत्यका समन्वय परिषद् र सामुदायिक सेवा केन्द्रहरूसँग समेत समन्वयन गरेको जनाएको छ ।
यसरी राज्यको निकायबाट महिला हिंसा र दुव्र्यवहार रोक्न विभिन्न अभियान चलाइनु सकारात्मक पक्ष हो र यसलाई सफल पार्न सम्बन्धित सबै निरन्तर रूपमा लाग्नुपर्छ । तर, यो त केवल एउटा राजधानीको मात्र कुरा हो । हामी ग्रामीण भेगमा घरेलु हिंसाका शिकार भइरहेका छन्, महिला दिदीबहिनीहरू । उनीहरूलाई त्यस्ता हिंसाबाट बचाउनका लागि सरकारको योजना के छ त ? केही महिला उत्थानका कार्यक्रम सञ्चालन गरिएको छ । तर, के ती योजना प्रभावकारी भएका छन् ? त्यसले महिला हिंसामा कमी ल्याएको छ त ? अहँ यो पंक्तिकारलाई त त्यस्तो लाग्दैन । किनभने यदि त्यस्ता कार्यक्रम प्रभावकारी भएको भए महिला हिंसाका घटनाका समाचारहरू बरोबर रूपमा सुन्न पर्दैन थियो होला ।
त्यसकारण महिला हिंसा अन्त्य गर्न त पहिला मानसिकतामा नै परिवर्तन गर्न आवश्यक छ । यो पहिला त परिवारबाट नै सुरु गर्नुपर्छ । महिलामाथिको सम्मानको वातावरण परिवारबाट सुरु गरी विद्यालयमा पनि सञ्चालन गर्नुपर्छ । महिला सम्माननीय दृष्टिकोण राख्नुपर्छ भनेर कलिला मस्तिष्कहरूमा नै छाप पार्नुपर्छ । नैतिकताको पाठ सबैभन्दा अनिवार्य बनेको छ । अनि मात्र महिला हिंसामा कमी आउन सक्छ ।  rajyalaxmish@gmail.com

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here